Comments Add Comment

प्रधानमन्त्रीको सहजीकरणपछि थप विद्युतीय बस भित्र्याउँदै सुन्दर यातायात

२६ असार, काठमाडौं । निजी क्षेत्रले राजधानीमा विद्युतीय बस चलाउन खोज्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्तरबाटै असहयोग भएपछि प्रधानमन्त्री कार्यालयले नै त्यसमा चासो देखाएको छ । विद्युतीय बस चल्न रुट इजाजत दिन भाडादरबारे निर्णय गर्न मन्त्रालयले आनाकानी गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भौतिक पूर्वाधार मन्त्रालयलाई बस चलाउने प्रक्रियामा आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ ।

भाडा तय गर्ने फाइल यातायात मन्त्रीले नै अड्काईदिएपछि नयाँ विद्युतीय बस ल्याएको सुन्दर यातायात समस्या थियो । तर, पछिल्लो समयमा प्रधानमन्त्री कार्यालयबाटै प्रक्रियामा सहजीकरण भएको कम्पनीले बताएको छ ।

यातायात मन्त्रालयले पनि विद्युतीय बस सञ्चालन गर्ने वातावरण तयार गर्न रुट इजाजत लिने लगायतका प्रक्रियामा सहयोग गरेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । अहिले विद्युतीय बस सञ्चालनको अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए ।

‘प्रधानमन्त्रीले नै विद्युतीय बस सञ्चालनबारे चासो दिनुभएको छ, हामीलाई यसले प्रोत्साहित गरको छ,’ थापा भन्छन्,’अब केही समयभित्रै सुन्दरका बसहरु उपत्यकामा गुड्छन । यसमा प्रधानमन्त्रीले लिनुभएको पहल साह्रै सह्रानीय छ ।’

रिंगरोडर र भित्र ७ बस चल्ने

सुन्दर यातायातले पहिलो चरणमा ७ वटा विद्युतीय बस सञ्चालन गर्न लागको छ । दुई वटा बस ल्याएको कम्पनीले थप बसहरु ल्याउनेबारे अवलोकन गर्न एक टोलीलाई शुक्रबार चीन पठाउँदैछ ।

सुन्दर यातायातका अध्यक्ष थापा नेतृत्वको टोलीले चीन पुगेर बस निर्माता कम्पनी र चीनमा विद्युतीय बस सञ्चाालनबारेमा अध्ययन तथा अवलोकन गर्ने छ ।

सुन्दर यातायातले १३ करोड खर्चेर चार्जिङ स्टेशन र विद्युतीय बस सञ्चालनको तयारी गरिसकेको छ । सुन्दरले पहिलो चरणमा रिंगरोड र रिंगरोडबाट भित्री क्षेत्र ‘क्रस’ गर्ने गरी विद्युतीय बस चलाउन खोजेको छ । त्यसका लागि यातायात व्यवस्था विभागमा रुट माग्दै कम्पनीले निवेदन दिइसकेको छ ।

प्रधानमन्त्री कार्यालय र संसदको विकास तथा प्रविधि समितिबाटै विद्युतीय बसलाई रुट दिन यातायात विभागलाई निर्देशन भएको छ । यसका कारण अब विद्युतीय बस सञ्चालनका लागि लामो समय नलाग्ने अध्यक्ष थापा दावी गर्छन् ।

सुन्दर यातायातले काठमाडौंमा सञ्चालनका लागि भन्दै भित्र्याएका दुई वटा विद्युतीय बस ३ महिनादेखि धुम्बाराहीको ग्यारेजमा थन्किएका छन् । पहिलो चरणमा परीक्षणका लागि दुई वटा बस ल्याएको कम्पनीले थप बस पनि ल्याउन तयारी तीव्र पारेको छ ।

‘विद्युतीय बसको सञ्चालन खर्च निकै सस्तो हुन्छ,’ थापा भन्छन्, ‘त्यसैले हामी यात्रुलाई भरपर्दो सेवा दिन्छौं । हामी काठमाडौंमा विद्युतीय बसकाृ युग सुरुआत गर्न आतुर छौं । सरकारले पनि त्यसमा हाल सहयोग गर्ने अवस्था बनेको छ ।’

कस्ता छन् बस ?

कम्पनीले प्रतिबस १ करोड ८७ लाख खर्च गरेर दुई वटा बस ल्याइसकेकाले अरु बस पनि ल्याउन प्रक्रिया सुरु गरको छ । सुन्दर यातायातले भित्र्याएका विद्युतीय बस ४० सिट क्षमताका हुन् । जसमा थप ३० जना उभिएर पनि यात्रा गर्न मिल्छ ।

चिनियाँ ‘बीएके ब्याट्री इन्क’को जोइन्ट भेन्चर हो, सुन्दर यातायात । बीएके ब्याट्री इन्क सन् २०११ को ग्लोबल र्‍यान्किङमा नम्बर ७ मा परेको थियो ।

सन् २००१ मा स्थापित बीएकेले विश्वस्तरीय भक्सवागन, बीएमडब्लू जस्ता कम्पनीलाई लिथियम ब्याट्री सप्लाई गर्नुका साथै सन् २०१४ यता विद्युतीय कार, बस निर्माण गर्दै आएको छ ।

यी बसमा इ-पेमेन्टको सुविधा पनि उपलब्ध गराउन सकिने फिचर्स छ । लामो आकारका बस अत्याधुनिक र सुविधासम्पन्न छन् । कम्पनीले ल्याएका बसमा जीपीएस, एसीको पनि सुविधा छ ।

चार्जिङ स्टेशन पनि

विद्युतीय बस चलाउन भाडादरले मात्रै हैन, चार्जिङ स्टेसनबारेको नीतिगत व्यवस्था नहुँदा पनि अन्योल छ । सार्वजनिक विद्युतीय सवारी सञ्चालन गर्न तथा चार्जिङ स्टेशन स्थापनाका लागि नीतिगत र कानुनी व्यवस्था हालसम्म गरिएको छैन ।

अध्यक्ष थापा

यसका कारण सुन्दरले तयार गरेको चार्जिङ स्टेशन पनि अलपत्र छ । विद्युतीय सवारी चार्ज गर्न सुन्दर यातायात प्रालिले काठमाडौंको सुकेधारा र सितापाइलामा चार्जिङ स्टेशन निर्माण गरेको छ ।

सुकेधारा र सितापाइलामा डेढ रोपनी क्षेत्रफलमा ७ वटा चार्जिङ स्टेसन निर्माण गरिएको छ । ३०, ६० र १२० केभीए क्षमताका चार्जिङ मेसिन ती स्टेशनमा राखिएको छ । ३० केभीए क्षमताको दुई वटा, ६० र १२० केभीएका तीनरतीन वटा चार्जिङ मेसिन छन् ।

३० केभीएको मेसिनले एकैपटकमा ४ वटा गाडी चार्ज गर्न मिल्छ भने ६० र १२० केभीएका मेसिन चार/चार वटा गाडी चार्ज गर्ने क्षमताका छन् ।

यी सबै चार्जिङ मेसिनबाट एसी र डिसी आउटपुटको सुविधा छ । गाडी धनीले चार्जिङ मेसिनबाट ब्याट्री बिगि्रने चिन्ता लिनु नपर्ने कम्पनीका अध्यक्ष थापाको दाबी छ ।

डिजिटल प्रविधिका चार्जिङ मेसिन भएकाले जति चार्ज गर्नु छ त्यति नै युनिट तोकेर चार्ज गर्न मिल्ने सुविधा पनि छ ।

अध्यक्ष थापा चार्जिङ स्टेशनबारे नीतिगत व्यवस्था नभएसम्म आफ्नै चार्जिङ स्टेशनबाट बस चार्ज गरेर सञ्चालन गरिने बताउँछन् ।

सुन्दर यातायातले उर्जा मन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आफ्नो चार्जिङ स्टेशन स्थलगत रुपमै अवलोकन गराएर अप्ठेरो फुकाइदिन अनुुरोध गरेको थियो ।

हाल शहर र राजमार्गहरुमा पेट्रोल पम्प जस्तै विद्युतीय चार्जिङ स्टेसन खोल्ने बाटो कानूनतः खुलिसकेको छैन । निजी क्षेत्रले खोल्ने चार्जिङ स्टेसनको मापदण्ड र चार्जिङ शूल्क तथा त्यसमा दिइने अनुदानबारे सरकारले स्पष्ट निर्णय लिनुपर्ने अवस्था छ ।

ऊर्जा मन्त्रालयले निजी क्षेत्रले राख्ने चार्जिङ स्टेशनबारे नीतिगत व्यवस्था गर्न कार्यदल गठन गरिसकेको छ । ऊर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्याल संयोजकत्वमा बनेको कार्यदलले हाल चार्जिङ स्टेसन निर्माणको मापदण्ड सिफारिस गर्नेछ ।

सरकारले विद्युतीय सवारीको नीतिगत व्यवस्था पनि सहज गर्ने र प्रक्रियामा पनि सहजीकरण गर्ने अवस्था रहे केही समयभित्रै काठमाडौंमा विजुली बसको संख्या उच्च दरमा बढाउँदै लैजान सकिने सुन्दर यातायातको निश्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment