Comments Add Comment

भारतीय तरकारी बिकाउन नेपाली किसान मर्नुपर्ने ?

अघिल्लो वर्ष पश्चिमबाट काठमाडौं आई चन्द्रागिरी नपास्थित दहचोकमा केही रोपनी जमीन भाडामा लिइ टमाटर खेती गर्दै आएका एक किसानले आत्महत्याको प्रयास गरे । समयमै थाहा पाउँदा उनलाई अस्पताल लगेर बचाउन सफल बने स्थानीय । उनले किरा मार्न प्रयोग गर्ने कडा विषादी शेवन गरेका थिए ।

आफ्ना बाल बच्चा पनि पढ्न पाउने र केही आम्दानी पनि गर्ने सपनामा उनी व्यवसायिक कृषिमा लागेका थिए । अघिल्लो बर्ष टुटा भन्ने किराका कारणले वाली सखाप भएर उनले लिएको ऋण तिर्न सकेनन् । पोहोर उत्पादन त भयो, तर बजारमा भाउ नपाएकाले लगानी पनि उठ्न सकेन ।

आफ्ना बच्चाको स्कुलमा शुल्क तिर्न नसक्ने र उपचार खर्च पनि नहुने स्थिति बनेपछि उनले आत्महत्याको अपि्रय निर्णय लिएका थिए । उनी र उनी जस्ता हजारौं किसानले अहिले यस्तै पीडा भोगिरहेका छन् । यसको मुख्य कारण नै उनीहरुले उत्पादन गरेको वस्तुले लगानी गरेको रकमसम्म पनि उठाउन नसक्नु हो । अधिकांश किसानले उत्पादनै नभएर मात्रै लगानी उठाउन नसकेका भने होइनन् ।

भारतबाट निर्वाध र कम मूल्यमा कम गुणस्तरीय तरकारी भित्रिएकाले किसानलाई यस्तो समस्या भएको हो । भारतबाट आउने तरकारीको क्वारेन्टाइन चेक पनि नगर्ने हुँदा विभिन्न रोग र किरा भित्रिएर नेपालका बाली सखाप भएका उदाहरणहरु पनि छन् । यसैको पछिल्लो उदाहरण हो मकैमा ब्यापक क्षति पुर्‍याएको अमेरिकन फौजी किरा । क्वारेन्टाइन र विषादी अवशेष जाँचै गर्नु नपर्ने र व्यवसायिक किसानले जुनबेला जे उत्पादन गरे पनि भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने मुख्य परिस्थितिले नेपालका धेरै किसान पलायनको स्थितिमा पुगेका छन् ।

चितवनमा २० औं बिगाहा जमिनमा व्यवसायिक खेती गर्ने कृष्ण न्यौपाने, काठमाडौंमा करिब १२० रोपनीमा खेति गरिरहेका एक्का लामा, दाङमा २० बिगाहा जमिनमा व्यवसायिक खेती गरिरहेका अगुवा किसान खुमा अर्याल, पोखराकी मिनाकुमारी गुरुङ, पाँचथर कुरुम्बाका देबी कार्की, सिन्धुलीमा १५ बिगाहा जमीनमा व्यवसायिक तरकारी सुरु गरेका कमल भट्टराई लगायतलाई भारतबाट तरकारी आएकै कारण अघिल्लो बर्ष मुनाफा हुन सकेन ।

माथि उल्लेख गरिएका कुनै पनि किसानले आफ्नो लागत अघिल्लो बर्ष उठाउन सकेनन् । जब कि सबैसँग अन्य वर्ष भन्दा धेरै उत्पादन भएको रेकर्ड छ । तर, यो बर्ष भारतका विभिन्न राज्यमा चुनाब र अत्यधिक गर्मीका कारण नेपालमा अघिल्लो बर्षजस्तो तरकारी भित्रन सकेन, त्यसैले तरकारी महंगो भयो । यसलाई केही नेपाली मिडियाले सुनजस्तो महंगो भनेर व्याख्या गरे । तर के कारणले यस्तो भयो भन्नेतर्फ जान मनासिब ठानेनन् । यसतर्फ जान सकेको भए सायद नेपाली किसानलाई वास्तनिक न्याय हुने थियो ।

भारतबाट सहज र सरलरुपमा ल्याइएको सस्तो तरकारीका कारण किसानले मूल्य पाउने वा नपाउने भन्ने निर्धारण गर्दछ । भारतमा हाल किसानलाई उत्पादन गरे मुनाफा कमाइन्छ भन्ने विश्वास दिलाउनेखालका बिभिन्न सहुलियतहरु दिइएको छ । उत्पादन गर्न प्रयोग हुने अधिकांश सामाग्री भारत आफैंले उत्पादन तथा निर्माण गर्छ । भारतमा कामदार खर्च पनि नेपालको दाँजोमा न्यून छ र कामदार सहजै उपलब्ध हुने स्थिति छ । तर, नेपालमा सबै महंगो पर्ने स्थिति छ । कतिपय कृषिमा प्रयोग हुने वस्तुमा ५५ प्रतिशत सम्म आयात कर लगाइनुले पनि किसानलाई भारतको भन्दा लागत महंगो परिरहेको छ ।

भारत लगायतका विदेशबाट ल्याइने कृषि उत्पानमा १ प्रतिशत तर उत्पादन गर्न लाग्ने वस्तु आयातमा ५५ प्रतिशतसम्मको करले जनाउने भनेको आफ्नै देशको उत्पादन बृद्धिमा सरकार गम्भीर छैन भन्ने नै हो । यिनै कारणहरुले गर्दा भारतको उत्पादनसँग मूल्यमा नेपाली उत्पादनले प्रतिश्पर्धा गर्न सक्दैन । प्रतिस्पर्धा गर्न सक्ने एउटै भनेको गुणस्तरसँग मात्रै हो ।

दक्षिण एसियामा सबैभन्दा धेरै विषादी उत्पादन गर्ने र नेपाल निर्यात गर्ने देश पनि भारत नै हो । नेपालले रासायनिक विषादी आयातमा १ प्रतिशत मात्रै कर लगाउँछ भने प्राङ्गारिक अथवा जैविक विषादी ल्याउनुपरेमा ३५ प्रतिशतसम्म असुल्छ । रासायनिक विषादी सजिलो गरी ल्याउन पाइन्छ भने जैबिक भनेपछि विभिन्न टेष्टका नाममा दुरुत्साहित गरिन्छ । यसले पनि सरकार भारत लगायतका मुलुकबाट आयात गर्न कति लालायित छ भन्ने बुझ्न मद्दत गर्दछ । आयातको सन्दर्भमा सरकारका आफ्नै अर्थ र कृषि मन्त्रालयहरु शत्रुजस्तो ब्यवहार प्रदर्शन गर्छन् । आयातको सवालमा आपूर्ति र कृषि मन्त्रालयभन्दा पनि अर्थ मन्त्रालयको नकारात्मक भूमिका बढी रहने गरेको छ ।

बोलीमा मात्रै कृषि प्रधान देश भनिने नेपाल सरकारको निकम्मा ब्यवहार त झन् आफ्नो उत्पादित वस्तु भारत पठाउने क्षमता र नियतमा रहेको छ । भारतबाट जुनसुकै खाद्यवस्तु ल्याउन कुनै रोकतोक छैन भने नेपाली उत्पादन मुला, बन्दा र अदुवामात्रै आधिकारिकरुपमा भारत लैजान पाइन्छ । यसका लागि पनि नेपाल सरकारको तर्फबाट विषादी अवशेष नभएको टेष्टको रिपोर्ट दिनुपर्छ । जुन नेपाल सरकारले दिन सक्दैन ।

सरकारले विषादी मापन गर्ने यन्त्रको कमी भन्नु आफैंमा हास्यास्पद तर्क गरेको छ । विषादीको २ वटा गु्रप कार्वामेट र अर्गानोफोस्फेट अन्तरर्गतका विषादीहरु सरकारले कैयौं बर्षदेखि जाँच गरिरहेको छ । यी गु्रप अन्तरर्गतका विषादीको अवशेष नै भारतबाट आयातीत तरकारी तथा फलफूलमा देखिइसकेपछि सरकारलाई फेरि के चाहिएको हो भन्ने बुझ्न सकिएको छैन । नेपालमै उत्पादित कृषि वस्तुमा विषादी मापन गर्ने तर अन्य मुलुकबाट ल्याउनेमा नपर्ने कुराले किसानमा थप आक्रोश थपेको छ ।

भारतमै एक राज्यबाट अर्काे राज्यमा तरकारी तथा फलफूलको विषादी अवशेष चेकजाँच तथा क्वारेन्टाइन नगरी लैजान नपाइने व्यवस्था छ । केही समय अगाडि भारतमा उत्पादन गरिएको तरकारीमा अत्यधिक विषादीको मात्रा देखिएको भन्दै दुबई र कतारले फिर्ता पठाइदिएका थिए । त्यस्तै, भारतमा उत्पादन भएको काजु र अंगुर पनि अन्य देशमा रोक लगाइएपछि नेपालतर्फ निर्यात गरिएको थियो । अहिले पनि यसैलाई निरन्तरता दिइएको छ ।

जे होस् सरकारको रोक्ने र फिर्ता लिने निर्णयको सेरोफेरोमा रहेर चलेको पछिल्लो बहसले भने आफ्नै देशमा तरकारी र फलफूल उत्पादन बढाउन र आयात कम गर्नतर्फ लाग्नुपर्छ भन्ने सन्देश आम जनमानसमा दिएको छ । किसान, उपझोक्ता र आम जनमानसको माग अनि सर्वाेच्च अदालतले सरकारका नाममा गरेको आदेश तुरन्तै लागु गर्नु वञ्छनीय देखिन्छ । यस विषयमा जति नै चर्चा गरे पनि आफ्नै देशमा उत्पादन हुन सक्ने वस्तुमा आत्मनिर्भर बने मात्रै यो समस्याको वास्तविक हल हुने देखिन्छ ।

भारतीय दबाव

कृषि र किसानका कुरा खासै चर्चामा नआउने नेपालमा पछिल्लो हप्ता सरकारले भारतको दबावका कारण बिषादी परीक्षण गर्ने कार्य अचानक स्थगित गरेको खबरले गज्जबकै चर्चा पाइरहेको छ । सबैलाई मसला बनिरहेको यो घटनाले सबै भन्दा दुःखी नेपाली उत्पादक किसानलाई बनाएको छ । असार २ को नेपाल सरकारको निर्णयले किसानमा जगाएको आशा फेरि निराशामा बदलिएको छ । भारतबाट आयातीत तरकारी तथा फलफूलमा विषादी परीक्षण नरोक्न सर्बाेच्च अदालतले सरकारका नाममा आदेश दिएको भए पनि सतप्रतिशत पालना हुनेमा किसान ढुक्क छैनन् ।

सरकारको रुझान नेपाली उत्पादक किसानलाई उत्पादन गर, तर मुनाफा भारतीय उत्पादनसँग प्रतिस्पर्धाका आधारमा निर्धारण गर भन्नेखालको छ । समृद्ध देश सुखी नेपाली भन्ने सरकारको नारामा न त स्वदेशी उत्पादनलाई ठाउँ छ, न त उत्पादकलाई नै । उसको ध्यान युवालाई कसरी सहज वातावरण बनाएर बिदेश पठाउने र रेमिट्यान्स मार्फत समाजवाद ल्याउने भन्नेमा गएको प्रष्ट देखिन्छ ।

भाषणमा जे भने पनि उत्पादन गर्ने किसानलाई फाइदा नहुने जटिल परिस्थिति निर्माण गर्दै बरु आयातलाई सरल सहज र प्रोत्साहित गरेको देखिन्छ । त्यसैको पछिल्लो उदाहरण हो सरकारले १५ दिन नपुग्दै पहिले आफंैले गरेको विषादी जाँच गर्ने निर्णएको खारेजी । त्यो पनि भारतीय दबावको कारण देखाउँदै ।

धेरैलाई लाग्न सक्छ, भारतबाट आउने तरकारी तथा फलफूलका कारण किसानलाई त्यति ठूलो के असर गर्ला र भन्ने । अझ नेपालका उपभोक्तालाई त सस्तो खान पाए भयो नि भन्ने लाग्दो हो । ठिकै हो, अलिकति विषादीको मात्रै समस्या हो, नत्र जहाँबाट आए पनि सस्तो पाए हुन्छ भन्ने मत केहीको छ । उपभोक्ताको जिम्मा लिएका बिभिन्न संघ संगठनहरु यस बिषयमा त्यति चासो दिन चाहँदैनन् ।

नेपाली उपभोक्ता यहाँका उत्पादकले मूल्य नपाई मरे पनि, उत्पादक शक्ति पलायन भए पनि अमेरिका, युरोप, जापान लगायतका धनी देशहरुबाटै आयात गरिएका खाद्यान्न खान पाइरहेकैमा दंगदास देखिन्छन् ।

(न्यौपाने कृषि उद्यमी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment