Comments Add Comment

साताका ४ पुस्तक : रवीन्द्र समीरदेखि शारदा शर्मासम्म

२८ असार, काठमाडौं । नेपाली साहित्यमा दुईथरि लेखक आएका छन् । एकथरि रहरले पुस्तक लेख्ने र अर्कोथरि व्यवसायिक लेखनमा समर्पित । आमरुपमा व्यवसायिक लेखकले लेखेका पुस्तक उम्दा हुन्छन् भन्ने विश्वास गरिन्छ । तर, कहिलेकाहीँ रहरले लेखिएका पुस्तकसमेत गम्भीर हुने गरेको पाइएको छ ।

अनलाइनखबरले प्रत्येक साता प्राप्त भएसम्म सबै किसिमका लेखकका पुस्तकहरुलाई स्थान दिने प्रयास गरिरहेको छ । प्रत्येक साता बजारमा आएका पुस्तकहरुको सामान्य परिचय दिनु यो स्तम्भको उद्देश्य हो । यो साता पनि बजरमा केही पुस्तकहरु आएका छन् । तीमध्ये आख्यानको सङ्ख्या स्वभाविकरुपले बढी छ ।

नेपाली बजारमा आख्यानका पुस्तकको खोजी बढी गरिने भएका कारणले पनि यसो भएको हुन सक्छ । यो साताका बजारमा उपलब्ध पुस्तक यस्ता छन् ।

मृत्युको आयु

वैदेशिक रोजगारी नेपाली समाजको नियति हो । यसले विभिन्न सुखद् एवं दुःखद् अवस्था निम्त्याएको छ । जनस्वास्थ्यविज्ञ रवीन्द्र समीरको नयाँ उपन्यास ‘मृत्युको आयु’ वैदेशिक रोजगारमा गएको एकजना व्यक्तिको मृत्युपछिको कथा भन्छ ।

हिन्दुहरुको विश्वास अनुसार मानिस मरेपछि पनि उसको आत्म जिवित नै हुन्छ । पुस्तकले मृत्यु भएका एक युवाको आत्माले नेपालमा उनको मृत्युपछिको अवस्थ्ाा वर्णन गरेका छन् । कृतिले नवीन कथ्य शैलीको खोज गरेको छ ।

लेखकले मूलतः लघुकथा लेखक हुन् । उपन्यासमा लघुकथाको शैलीलाई निरन्तरता दिइएको छ । छोटा वाक्य, छोटा संरचना र लघुकथा शैलीको कथावाचनले पुस्तक पढ्न धेरै गहिरिनु पर्दैन । समान्य कुराभित्र गहिरो कुरा राख्दै उपन्यास अघि बढ्छ र वैदेशिक रोजगारीका सबै गलत पाटालाई उधिन्छ ।

चिकित्सक समीरका आठ वटा लघुकथा सङ्ग्रह, एउटा नियात्रा सङ्ग्रह र एउटा मुक्तक सङ्ग्रह बजारमा आएका छन् ।

यात्रामा

शारदा शर्माका ४८ वटा कविताहरुको सङ्ग्रह हो ‘यात्रामा’ । यसमा २४ वटा गद्य कविता र २४ वटा गिती कविता सङ्ग्रहित छन् । यसअघि गद्य कवितामा आफ्नो दरिलो उपस्थिति जनाएकी शारदा शर्माले आफूले लेखेका पुराना गिती कवितासँग ताजा गद्य कविताहरु मिसाएर यो सङ्ग्रह तयार पारेकी हुन् ।

कविताहरुमा नारीका अवस्था, सामायिक राजनीति, समाजको विद्रूप रुप र वैश्वविक अवस्थालाई विषय बनाइएको छ । यसअघि उनका सीमान्त अनुभूति, युद्धोपरान्त र स्वर्णशुत्र जस्ता तीन कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

पछिल्लो समयमा भने उनी उपन्यास, कथा र निबन्धमा खरो रुपमा उत्रिएकी थिइन् । उनका ताप, कम्प जस्ता उपन्यास, अग्निस्पर्श, आस्थाको भग्नावशेष कथा र भूईंफूलको देश नामक निबन्ध सङ्ग्रह प्रकाशित थिए ।

यात्रामा कविता सङ्ग्रमा राष्ट्रकवि माधव घिमिरेले भूमिका लेखेका छन् भने स्वं इन्द्रबहादुर राईले कवितामाथि टिप्पणी गरेका छन् । यो पुस्तक निस्कनुअघि नै शारदा शर्माका पुराना कविता पढेर राईले शारदा शर्माको पुस्तकमाथि टिप्पणी गरेका हुन् । कविता बाहेक राष्ट्रकवि र इन्द्रबहादुर राईको टिप्पणीका कारण पुस्तक सङ्ग्रहणीय बनेको छ

मित्रताको आकाश

वैचारिक साहित्यका अग्रणी कविमध्ये एक हुन्, मात्रिका पोखरेल । प्रगतिशील लेखक सघका पूर्वअध्यक्ष मातृका पोखरेलको नयाँ कविता सङ्ग्रह हो- मित्रताको आकाश । यसमा २६ कविताहरु सङ्ग्रहित छन् । कविता सङ्ग्रहले सत्तामा उक्लेका आदर्शवादी नेताहरुको नैतिकहीन व्यवहारप्रति तीखो व्यङ्ग्य गरेको छ ।

कविताले सर्वहारा वर्गको विश्वव्यापी चरित्र र त्यसले लिने नयाँ नयाँ रुपलाई विभिन्न प्रतीक एवं विम्बका माध्यमबाट प्रस्तुत गरेको छ । कतिपय ठाउँमा उनी चरम निरास देखिन्छन् भने कतिपय ठाउँमा उत्साहित ।

पुस्तकले कविताको माध्यमद्वारा आजको नेपाली राजनीतिक, सामाजिक र आर्थिक अवस्थाको वर्णन गरेको छ ।

अग्निदहन

गत वर्ष चलचित्र विकास बोर्डले आयोजना गरेको प्रतिस्पर्धात्मक कथामा अग्निदह पुरस्कृत भएको थियो । लेखक लोेकमणि पौडेलले त्यही कथामा आधारित भएर ‘अग्निदहन’ लाई औपन्यासिक रुप दिएका छन् ।

विज्ञान कथाभित्र बालमनोविज्ञानलाई मिसाएर यो उपन्यासको स्वरुप तयार पारिएको छ । विज्ञानले उत्पन्न गरेको विभिन्न त्रासका कारण एउटी बालिकाको मनमा गहिरोसँग डर पैदा हुन्छ । डरले विक्षिप्त अवस्थामा पुगेकी बालिकालाई गरिने विभिन्न उपचारका विधालाई पुस्तकमा उतारिएको छ ।

पुस्तकले एकातिर अप्ठ्यारो अवस्थामा रहेका बालबालिकाको कथा भन्छ भने अर्कोतिर मनौबैज्ञानिक विधिको जानकारी पनि दिन्छ । लेखन र स्वास्थ सेवा एकसाथ गरिरहेका लोकमणिको भाषा पनि माझिएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment