Comments Add Comment

घरासयी काम गर्ने बालबालिका बढी सबल र सफल

आमाले कुचो लगाएको देखेर बालबालिका जानीनजानी कुचो लगाउन खोज्छे । आमा भन्छिन्, ‘तिमीले सक्दैनौं, अरु फोहोर हुन्छ । नगर ।’

आमाले सागसब्जी काटेको देखर बालबालिका चक्कु बोकेर सागसब्जी काट्न थाल्छन् । आमा भन्छिन्, ‘हात काट्छ, चक्कु खेलाउन हुन्न ।’

बालबालिका भाँडावर्तन माझ्न खोज्छे, आमाले जस्तै । आमा भन्छिन्, ‘पानीले सबै भिज्छ, त्यस्तो नगर ।’

बुवाको सिको गर्दै बालबालिका बगैंचामा माटो खेलाउन थाल्छन् । बुवा भन्छन्, ‘लुगामा मैला लाग्छ, यता नआउनु है ।’

यसरी घरायसी कामबाट बुवाआमाले वञ्चित गराउँछन् । बुवाआमाको सोचाइ नराम्रो होइन । उनीहरुलाई लाग्छ, मेरा बालबच्चालाई चोटपटक नलागोस् । फोहोर मैला नहोस् । संक्रमण नलागोस् । पानीले भिजेर चिसो नलागोस् ।

तर, बालबच्चालाई जोगाएर वा केही छुन, खेल्न नदिएर उनीहरु स्वस्थ्य हुँदैनन्, जसरी आमाबुवाले सोच्ने गर्छन् । बालबच्चालाई जति धेरै भिज्न, खेल्न, उफ्रिन दिइन्छ, उनीहरुको रोगप्रतिरोधात्मक क्षमता बढ्छ । सामान्य हिलोमैलोले उनीहरुलाई केही असर गर्दैन । पानी खेल्दैमा खोकी वा रुघा लाग्ने भय हुँदैन । तर, उनीहरुलाई यस्ता कुरामा निस्फ्रिक्री खेल्न र रमाउन दिनुपर्छ ।

बुवाआमाले धेरै नै होसियारीपूर्वक, सुकिलोमुकिलो बनाएर हुर्काएका बच्चाहरुमा रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ । सामान्य पानीमा भिज्दा, हिलो खेल्दा वा धुलोमैलाको सम्पर्कमा आउँदा उनीहरु बिरामी हुन्छन् ।

त्यसैले बच्चालाई खुला रुपमा हुर्काउनुपर्छ भनिन्छ । उनीहरुलाई हिलोमाटोको सम्पर्कमा आउन दिनुपर्छ । साथसाथै कुनैपनि काम गर्न चाहन्छन्, भने नियन्त्रण गर्न हुँदैन । उनीहरु आमाबुवाको नक्कल गर्दै घरको काम गर्न खोज्छन्, यस्तो अवस्थामा उनीहरुलाई काम गर्न दिनुपर्छ । हो, उनीहरुले कुशलतापूर्वक वा हामीले सोचेजस्तो ढंगले काम गर्दैनन् । किनभने उनीहरुसँग काम गर्ने ढंग हुँदैन । यद्यपी काम गर्ने तत्परता हुन्छ । रहर हुन्छ ।

जब हामी उनीहरुलाई कुनैपनि काम गर्नबाट रोक्छौं, उनीहरुको जाँगर र सक्रियता घट्दै जान्छ । कुनैपनि काम गर्ने आत्मविश्वास हुँदैन । केही गर्न खोज्दा कसैले गाली गर्ने हो कि ? काम बिग्रने हो कि ? भन्ने भयले सताउँछ । यसले गर्दा उनीहरु नयाँ अभ्यास गर्न डराउँछन् । फरक काम गर्न हच्किन्छन् ।

छुट दिनुहोस् घरायसी काममा

तपाईंले भाँडावर्तन माझेको देखेर, तपाईंले लुगा धोएको देखेर उनीहरुलाई त्यस्तै गर्न रहर लाग्छ । हामीलाई यी काममा जिम्मेवारी बोध हुन्छ । उनीहरुलाई यि काम खेल जस्तै लाग्छ । खासमा उनीहरु काम गर्न भन्दा पनि खेल्न खोजेका हुन् । तर, खेल-खेलमै उनीहरुले काम सिक्छन् ।

जब बच्चा तपाईंको सिको गर्दै कुनै काम गर्न तयार हुन्छ, छुट दिनुहोस् । पानीले भिज्छ, फोहोर मैला लाग्छ, आगोले पोल्छ, हतियारले काट्छ भनेर उनीहरुलाई अनावश्यक नियन्त्रण नगरौं । उनीहरुले जति धेरै घरायसी काम गर्न खोज्छन्, त्यती नै सीप विकास हुन्छ । त्यती नै सक्रियता बढ्छ । त्यती नै आत्मविश्वास बढ्छ । उनीहरु क्रमस पोख्त हुँदै जान्छन् ।

घरको काम गर्ने बच्चा सफल हुन्छन्ः अध्ययन

पछिल्लो पटक गरिएको एक अध्ययनले भन्छ, घरासयी काम गर्ने बच्चाहरु बढी सफल र सिर्जनात्मक हुन्छन् ।

हाउ टु राइज एन्ड एडल्टकी लेखक जुली लिथकोटले टक शोमा एक रिसर्चको नतिजा सार्वजनिक गर्दै भनेकी छिन्, ‘यदि बालबच्चालाई घरायसी काम सिकाइयो भने त्यो उनीहरुको जीवनको महत्वपूर्ण हिस्सा हुनेछ ।’

घरायसी कामले बच्चामा काम गर्ने बानीको विकास हुने, श्रमको मूल्य बुझ्ने, सहयोगको भावना विकास हुने बताइन्छ । यस किसिमको गुणले उनीहरुको जीवनलाई अरु सहज र सफल बनाउन मद्दत मिल्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment