Comments Add Comment

पानी निकासको व्यवस्था नगर्दा बस्ती डुबेको भन्दै विरोध प्रदर्शन

Photo Credit : सुरेश बिडारी

२९ असार, वीरगञ्ज । हुलाकी राजमार्ग निर्माणको क्रममा पानी निकासको बाटो नदिँदा गाउँ डुबानमा परेको भन्दै बाराको कलैया उपमहानगरपालिका वडा नं. ९ का बासिन्दाले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले कलैया-बरियारपुर सडक-खण्डमा टायर बाल्दै शनिबार दिउँसो १ बजेदेखि ५ बजेसम्म अवरुद्ध पारेका हुन् ।

हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज-बरियारपुर सडक खण्डको रामपुरस्थित सडक निर्माणको क्रममा पानीको निकासका लागि नाला निर्माण नगरेका कारण गाउँ डुबानमा परेको स्थानीयको भनाइ छ ।

पानीको निकास नहुँदा वडामा रहेका ७ सय ४६ घरधुरी बासिन्दा समस्यामा परेको वडा अध्यक्ष डा. अख्तर अन्सारीले जानकारी दिए । पटक-पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेकाले समस्या उत्पन्न भएको उनको भनाइ छ ।

यसअघि पनि टेङ्गरहर खोलामा छिटो कल्भर्ट निर्माण हुनुपर्ने, सडकमा हालिएको हृयुम पाइप मिलाउनुपर्ने माग राखेर स्थानीयले प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा उत्रिएकाहरुलाई कलैया उपमहानगरपालिका नगर प्रमुख राजेश राय यादव, सांसद रामबाबु यादव, प्रदेश सभा सदस्य पारस साह लगायतले सम्झाएर पठाएका थिए । उनीहरुले पानीको निकासका लागि तत्काल नाला निर्माण गर्ने र टेङ्गरहर खोलाको बाढी व्यवस्थापन गर्न आवश्यक कार्य छिट्टै शुरु गर्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment