News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका दुई दर्जन नेताहरूले १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरी एकताका लागि निर्णायक वार्ता सुरु गर्न दुवै समूहलाई आग्रह गरेका छन्।
- पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर तत्काल विवाद समाधान गर्न अपिल गरेका हुन्।
- कांग्रेसले असोज ३ र ४ गते र देउवा समूहले असोज १५ गते वडा अधिवेशनको कार्यतालिका तय गरेका छन्।
२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका दुई दर्जन नेताहरूले संस्थापन र संस्थापन इतर समूहलाई १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका छन् ।
पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका दुई दर्जन नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर दुवै समूहलाई महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका हुन् ।
‘पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवार निर्वाह गर्दै दुवै पक्षबाट जारी गरिएका १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताको लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसको बृहत एकताका लागि सभापति गगन थापाको भूमिका विशेष महत्वपूर्ण रहने उनीहरूको भनाइ छ । ‘देश संकटमा रहेको यस संवेदनशील घडीमा नेपाली कांग्रेसभित्रका सबै पक्षलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट तत्काल विवाद समाधान गरी पार्टीलाई एक ढिक्का बनाउन र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्ने सबल, एकताबद्ध र शक्तिशाली नेपाली कांग्रेस निर्माणमा जुट्न हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।
विज्ञप्ति जारी गर्ने सबै नेताहरू १४ औं महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवाको समूहबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका थिए । उनीहरूले विज्ञप्ति जारी गर्नुअघि पूर्वसभापति देउवा, पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासँग छलफल गरेका थिए ।
देउवा, खड्का र कोइरालासँग छलफल गरेपछि उनीहरूले सभापति थापालाई पनि भेटेका बताइएको छ । कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन तोकेको छ ।
यस्तै देउवा समूहले आगामी असोज १५ मा वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । सहमतिको प्रयास सफल नभए कांग्रेसमा समानान्तर महाधिवेशन हुने निश्चित रहेको देउवा समूहका नेताहरू बताउँदै आएका छन् ।


प्रतिक्रिया 4