Comments Add Comment

९ बाउन्ड्रीले फेरिएको विश्वकप उपाधि !

पहिलोपटक लागु भएको आईसीसीको त्यो नियम

३० असार, काठमाडौं । विश्वकपको उपाधि नजिक पुगेर हार भोगेका न्युजिल्याण्डका कप्तान केन विलियम्सन हारको पीडा नदेखाई स्पष्ट रुपमा प्रस्तुत भइरहँदा उनले कुनै कुरामा दुःख मनाउ गरेनन् ।

विजेता इंग्ल्याण्डका कप्तान इओन मोर्गान भने फाइनल खेल बराबरी भएमा के हुने भन्नेबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ नियमबारे जानकार नहुँदा केहीबेर अन्योलमा परे ।

दुवै कप्तान खेलभर थोरै अन्तरको हार होला कि भन्ने उतारचढावमा देखिए पनि निर्धारित ५० ओभर बराबरी भएको खेलमा सुपर ओभरसमेत बराबरी भएको थियो । ५० ओभरमा दुवैले २४१ रन बनाएका थिए भने सुपर ओभरमा समान १५ रन ।

जितको आधार थियो, आईसीसीले पहिलोपटक लागु गरेको नियम । सेमिफाइनल र फाइनलमा लागु हुने उक्त १४३ पेजको नियममा भनिएको छ, निर्धारित ५० ओभरको खेलमा र सुपर ओभरमा समेत खेल बराबरी भएमा ५० ओभर र पछिको सुपर ओभरमा हानिएका बाउन्ड्रीको आधारमा विजेता घोषणा हुने छ ।

‘क्रिकेटमा डीएल मेथड रन र विकेट दुवैमा आधारित हुन्छ, तर विश्वकप फाइनल बाउण्ड्री हानेको आधारमा मात्रै जितिने ? मेरो विचारमा निष्पक्ष भएन । हेर्दा पनि मजा आउने केही हुनुपर्‍यो ।’

आइतबार राति सकिएको विश्वकप फाइनलमा इंग्ल्याण्डले २६ बाउन्ड्री लगाएको थियो भने न्युजिल्याण्डले १७ । बाउन्ड्री धेरै भएकै आधारमा इंगल्याण्ड विजयी भयो ।

विश्वकप सकिने वित्तिकै सामाजिक सञ्जालमा आईसीसीको नियमबारे धेरै कुराहरु उठाइएका छन् । जसमा न्युजिल्याण्डका पूर्व अलराउण्डर स्कट स्टाइरिसले त आईसीसी मजाक बनेको भन्नेसम्मको प्रतिक्रिया दिए ।

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डिन जोन्सले पनि यस्तो नियमको निस्पक्षतामा प्रश्न उठाए । उनको भनाइ ब्याटिङ र बलिङ दुवैलाई आधार बनाउने कुनै नियम भए राम्रो हुने भन्ने आशयको छ । उनले भनेका छन्, ‘क्रिकेटमा डीएल मेथड रन र विकेट दुवैमा आधारित हुन्छ, तर विश्वकप फाइनल बाउण्ड्री हानेको आधारमा मात्रै जितिने ? मेरो विचारमा निष्पक्ष भएन । हेर्दा पनि मजा आउने केही हुनुपर्‍यो ।’

बाहिरबाट समेत यस्ता प्रतिक्रिया आइरहँदा केन विलियम्सनले भने फरक धारणा राखे । खेलको नतिजाबारे सोधिएको प्रश्नमा उनले हाँस्दै भनेका छन्, ‘मलाई लाग्छ, यो प्रश्न सोध्नुपर्छ भनेर तपाईंले कहिल्यै सोच्नुभएको थिएन होला, यस्तो प्रश्नको उत्तर दिनुपर्ला भनेर मैले कहिल्यै सोचेकै थिइनँ ।’

उनले भनेका छन्, ‘दुवै टिमले जितका लागि गरेको मेहनत दुई पटकसम्म बराबरी रह्यो । यो जे हो, त्यही नै हो । किनभने खेल सुरु हुनुअघि नै नियम यही थियो ।’

क्रिकेट यस्तो खेल हो, जहाँ पाँच दिनसम्म समर्थकले गरिरहेको समर्थन र खेलाडीले गरिरहेको मेहनत पछि पनि खेल बराबरी भइदिन्छ । सानो फम्र्याटका खेलहरु आउँदै गएपछि त्यही अनुरुप विजेता बनाउनै पर्ने नियमहरु पनि परिमार्जन हुँदै गएका हुन् ।

२००७ मा टी–२० विश्वकपको एक खेलमा पनि आईसीसीको यस्तै एक नियमको आलोचना भएको थियो । जसमा भारत र पाकिस्तान दुवैले १४१ रन बनाएपछि ‘बोलआउट’ मार्फत नतिजा निकालिएको थियो । जसमा दुवै टिमलाई ब्याट्सम्यान बिना नै विकेटमा पाँच बल बलिङ गर्न दिइएको थियो । जसले धेरै विकेट ढाल्यो उसैले खेल जित्ने उक्त नियममा भारत ३–० ले विजयी भएको थियो ।

२००६ मा पनि यस्तै नियममार्फत अन्तर्राष्ट्रिय टी–२० मा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई हराएको थियो । फुटबलमा हुने पेनाल्टीजस्तो नियम क्रिकेटमा नदेखिएकैले ‘बोलआउट’ नियमलाई हटाएर सुपरओभर ल्याइएको हो ।

२०१० को महिला टी–२० विश्वकप खेलमा भने बराबरी भएपछिको नियम अलि भिन्न थियो । जसमा अस्टे«लिया र इंग्ल्याण्डबीच बराबरी भएपछि धेरै छक्का हानेका आधारमा विजेता घोषणा गरिएको थियो । यदि अहिले पनि यही नियम लागु भएको भए आइतबारको फाइनल खेल न्युजिल्याण्डले जित्ने थियो । किनभने खेलमा इंग्ल्याण्डले दुई छक्का हानेको थियो भने न्युजिल्याण्डले तीन छक्का ।

यसैले इंग्ल्याण्ड कप्तान मोर्गानले भनेका छन्, ‘हामीसँग अर्को विकल्प पनि त छैन । त्यही नियम बनाएर खेलाइएकाले अहिले नै त्यसको विकल्प सोच्न पनि मिलेन । त्यसमा हाम्रो नियन्त्रण नै छैन ।’

अन्तिम ओभरमा बेन स्टोक्सको ब्याटमा लागेर भएको ओभर थ्रो रन बारे पनि विभिन्न खाले प्रतिक्रिया आइरहँदा विलियम्सनले त्यसमा खासै केही बोलेनन् । दुई रनका लागि स्टोक कुदिरहेका बेला फिल्डरले स्टम्पमा फालेको बल उनको ब्याटमा लागेर चौका हुन पुगेको थियो । जसले दुई रन छक्कामा बदलियो ।

‘नियम भनेर पहिलेदेखि लागु भएका विषयमा केही भन्न मिल्दैन, हुन त त्यही रनले हामीलाई विजेता बनाउन पनि सक्थ्यो तर नियम नियम नै हो । फाइनलमा खेल यताउता हुन मिल्ने कति अवस्थाहरु आएका थिए । जब बराबरी हुन्छ तब सम्झनामा ती हरेक बल आउँछन्, होइन र ?’ विलियम्सनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment