
एकबेला थियो, जब हाम्रा बाबुबाजे विकासका कार्यलाई भन्दा प्रकृतिलाई शीर्ष स्थानमा राख्थे । तर, अहिले भने प्रकृतिको विनास गरे हुन्छ, तर विकास चाहीँ हुनुपर्छ भन्ने मानसिकता भएको जनमानसको जमात ठूलो छ ।
हाम्रा पूर्खाले नदीमा पानीको सन्तुलन कायम गर्न खोल्सा, कुलो तथा नालाहरुको अवधारणा सुरु गरे । तर, हामीले उक्त अवधारणाहरुको महत्व नबुझी विनास गरेर विभिन्न संरचना निर्माण गर्न लागि पर्यौं, जसको प्रतिफल आज हामी सबैले भोग्नु परिरहेको छ ।
आममानिसले यसो वरिपरि हेर्ने र वन जंगल साथै अन्य प्रकृतिको महत्वपूर्ण अंगको अवस्था हेर्ने हो भने मानिसले प्रकृतिमा गरेको विनास सजिलै अनुभूत गर्न सकिन्छ ।
म सानोमा गाउँमा हुदाँको अवस्था सम्झन्छु । करिब १२/१३ वर्ष पहिला नदीनालाको बग्ने शैली भिन्न थियो । त्यतिबेला बाढी नआउने भन्नेचाहिँ हैन । तर, नदीनाला आफ्नै बाटोमा, आफ्नै तालमा बग्ने गर्थे । छेउछाऊमा घर तथा बस्ती नभएकाले अहिलेको तुलनामा आर्थिक साथै मानवीय क्षति निकै कम हुने गर्थ्यो । अहिले त के ग्रामीण भेग भन्नु, के सहरी, दुबैको अवस्था उस्तै छ ।
गाउँमा विकासको नाममा अनियन्त्रित प्लटिङका कारण सहर र गाउँको उस्तै दयनीय अवस्था छ । केही दशकअघि भूमाफिया लगायतका जमातहरु विकासका नाममा अव्यवस्थित र अनियन्त्रित सहरीकरण गर्न गाउँघरमा हाबी भए । आज ती मानिसहरु ठूला पदमा नियुक्त भएर ठूलठूला महल बनाएर बसेका छन् ।
आज पनि गाउँघरमा गएर प्लटिङ गरिएको क्षेत्रमा हेर्ने भने पानीको वेग नै थाम्न नसक्ने साना साना ह्युममपाइप लगाइएका छन् । ठूलो पानी आउँदा ती ह्युम पाइपको अवस्था के होला, आँकलन गर्न गाह्रो छ ।
ठूला घरमा बस्नेले त सजिलै ज्यान बचाउने भए, उनीहरुलाई बाढीको के डर । बाढीले त गरिब निमुखा, जो छाप्रोमा बस्छन्, उनीहरुलाई नै सताउने हो । हरेक वर्ष बाढीका कारण आइपर्ने संकट र जनमानसले भोग्नुपरेका समस्याहरुको समाचार देशभर गुञ्जिँदा चिन्तित बनाउँछ ।
गाउँको त के कुरा गर्नु, देशको राजधानी र उपत्यका अन्य ठाउँको अवस्था पनि उस्तै छ । काठमाडाैं, भक्तपुर, ललितपुरलगायत अन्य क्षेत्र हेर्ने हो भने, आममानिसले मञ्जुश्रीले काटेको दह यस्तै थियो होला भनेर सजिलै परिकल्पना गर्न सकिन्छ ।
केही दशकअघि, काठमाडाैंमा पनि भूमाफियाहरु हाबी भए । काठमाडौंको हरेक क्षेत्रको जग्गाको मोल बढ्ने क्रममा थियो, त्यो अवस्था देखेर भूमाफियाहरुको गिद्देदृष्टि नदीनाला छेउको जग्गाजमीनमा पुग्यो । आफ्नो वरिपरि भएका सरकारी कर्मचारी साथै अन्य सरकारी निकायको व्यक्तिका साथमा घुसपैठ गरेर उक्त स्थानमा दिनहुँ महलहरु खडा गरियो । आम मानिसका आखाँमा धुलो छर्केर ती महल ठड्याउनु त सजिलो थियो । तर, आज हिसाब–किताब मिलाउन प्रकृति विनासकारी शक्तिको साथ फर्किएकी छिन् ।
तर, विडम्बना ! भेलले बगाएर लानुपर्ने तुच्छ सोच भएका भूमाफिया साथै उनीहरुलाई साथ दिने घुसपैठले लिप्त भएका मानिसहरु ठूला घरमा बसेर नेपाली नागरिकले भोगिरहेको समस्या देखेर रमाइरहेका छन् ।
वास्तवमा हामी आम जनता पनि उत्तिकै दोषी र यो संकट निम्त्याउनेमा भागेदारी छौं । दिनदहाडै वन जंगल साथै नदी छेउछाऊका रुख विरुवा काटेर तस्करी गर्ने हाम्रै वल्लो–पल्लो घरका काका, दाइहरु थिए । त्यस बखत हामी मौन रह्यौं । मौका मिलेसम्म कतिले त उनीहरुबाट फाइदासमेत लिए ।
एउटा रुख काट्दा अन्य ५ वटा रोप्नुपर्छ भन्ने मानसिकता विकास भएको भए आज यो अवस्था आइलाग्ने थिएन होला । त्यस्तै जनसंख्या वृद्धि साथै संवेदनशील ठाउँहरु, विशेष गरी नदीछेउका जग्गा चेपेर घर तथा अन्य भौतिक संरचना बनाएकाले आज यो विपतको घडी आएको हो । भनिन्छ, लिच्छवीकालमा पाटन दरबार क्षेत्रबाट खोलो बग्थ्यो, उक्त खोलो पाटन भएर बागमती नदीमा मिसिन्थ्यो रे ।
तर, आज त्यो खोला वरिपरिका सम्पूर्ण जग्गा भौतिक संरचनाले भरिपूर्ण छन् । आज उक्त क्षेत्रमा भएको संरचनाले गर्दा बाढी पसेर सारा पाटनवासीलाई सताएको छ । यो खोला त एउटा उदाहरण मात्रै हो, उपत्यकाका अन्य खोला, विशेष गरेर बागमती र हनुमन्ते खोलाको अवस्था झन् नाजुक छ ।
पर्यटन वर्ष २०२० मुखमै छ । पानीले चुर्लुम्म डुबेको नेपालका बारेमा अन्तर्राष्ट्रिय जगतमा तीतो समाचार फैलिइसकेको छ । यसले भावी दिनमा आउने पर्यटकको संख्यामा ठूलो हानी पुर्याउने सम्भावना विशेषज्ञहरुको दाबी छ ।
देशको राजधानी काठमाडाैंमा आर्मीको टिमले डुंगामा मानिसलाई उद्धार गरिरहेको फोटोले अन्तरराष्ट्रिय जगतमा के समाचार दिन्छ होला ? सोच्ने समय आएको छ । सडकबाटै बाढी बगेकाले यातयात अवरुद्ध छ, काठमाण्डाैं बाहिरेका र भित्रिने सवारी साधनमा सैयाैंको संख्यामा रहेका यात्रु अलपत्र छन् । २० भन्दा बढी जिल्ला बाढी र पहिरोले प्रभावित छन, जलमग्न भएका उक्त जिल्लाको विद्युतीय पोल लडेकाले बत्ती नहुनुका साथै उनीहरु सम्पर्कविहीन छन् । तराईमा खानेपानीको समस्याले हजाराैं मानिसलाई सताएको छ ।
रेडक्रस अन्य संघ संस्थाका साथै सेना, प्रहरी र अन्य सरकारी कर्मचारीहरुले पीडितहरुको उद्धारका लागि दिनरात लागि परेका छन् । बाढीले मानिसको ज्यान लिनुका साथै सैयाैं मानिसको घर, जग्गा र जनावरहरु समेत विस्थापित गरिसकेको छ, सायद पुनर्स्थापित हुन महिनाैं लाग्नेछ ।
अबको दिनमा यस्तो हुनुपर्ने थियो, यस्तो भयो भनेर बस्नुको सट्टा, हरेक नेपाली दाजुभाइ र दिदीबहिनीले एक अर्कालाई विपतको घडीमा सहयोग गरी अघि बढ्नु आवश्यक छ । तर, आउने दिनहरुमा विवेकशील भएर सोच्न आवश्यक छ । सरकारले पनि आउने दिनमा आउन सक्ने समस्या आँकलन गरी भौतिक र मानवीय क्षति कम गर्न विशेष योजना बनाएर विशेष सतर्कता अपनाउन आवश्यक छ ।
विकासका योजना बुन्नुका साथै व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ । कुनै पनि संरचना बनाउनुअघि यसले प्रकृतिलाई कस्तो असर गर्छ भनेर सोची त्यसलाई न्यूनीकरण गर्न र सहरीकरणमा ध्यान दिई ढलको सही निकास खोज्न आवश्यक छ । भई परी हुन सक्ने जोखिमको आँकलन गरेर त्यसलाई न्यूनीकरण गर्न आउने दिनमा गुरुयोजना र रणनीति बनाएर सबैजना एकसाथ भएर काम गर्न आवश्यक छ ।
प्रतिक्रिया 4