
३० असार, भोजपुर । भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका एक शिक्षकलाई आफ्नै प्रिन्सीपलले कुटपिट गरेका छन् । आफूलाई प्रिन्सीपल रमेशकुमार आलेले टाई र कोट नलगाएको निहुँमा कुटपिट गरेको शिक्षक अतीत अधिकारीले बताए ।
आइतबार विद्यालयको पहिलो त्रैमासिक परिक्षाको नतिजा प्रकाशित गर्ने दिन थियो । ‘पढाइसकेपछि म स्टाफ रुममा टाई र कोट झुण्ड्याएर जान्थे, भोलिपल्ट विद्यालय समयमा लगाएर आउँथे, हिजो खाना खाएर कपडा लाउँदै गर्दा सहयोगीमार्फत बोलाउनुभएको खबर आयो । उहाँले खलासीजस्तो भएर आउने भनेर गाली गर्नुभयो म कसैको गाली खान आएको हैन मलाई खलासी नभन्नुहोस् भन्दा वाहिर प्यासेजमा ल्याएर कुट्नुभयो’ शिक्षक अधिकारीले भने ।
यसअघि पनि पटकपटक धम्की दिने गरेको र यो पटक हातले गाला र ढाडमा कुटपिट गरेको उनले बताए ।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका १ घर भएका २८ वर्षीय अधिकारी पाँच महिनादेखि विद्यालयमा कक्षा ७ देखि १० सम्म अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँथे । आफ्नो साथमा विद्यालयको नियुक्ति पत्र पनि नभएको अधिकारीले बताएका छन् ।
विद्यालयले एक महिनाको पारिश्रमिक ३५ हजार रोक्का गरेर आफूलाई विदा गरेको उनको भनाइ छ । अधिकारीले प्रहरी प्रशासन गुहारेका छन् । शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ र जिफन्टलाई वोधार्थमार्फत लिखित निवेदन दिएका छन् ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले आफूकहाँ कारवाहीको माग गर्दै निवेदन लिएर आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरी समाधान गरिदिन लेखि पठाएको बताए ।
जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रुद्र राईले दुवै पक्षलाई बोलाएर छलफल गरी समस्याको समाधान खोजिने बताए । निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनका भोजपुर अध्यक्ष समेत रहेका प्रिन्सिपल आलेले भने यसबारे केही बताएका छैनन् ।
विद्यालयका प्रिन्सीपल रमेशकुमार आलेले भने कुटपिट गरेको नभई सम्झाएको बताए । यसअघि पनि अधिकारीविरुद्ध अभिभावकबाट गुनासो आएकाले सम्झाउने गरेको पनि उनको भनाइ छ । आफूले शिक्षक अधिकारीको पारिश्रमिक भने दिइसकेको प्रिन्सीपल अधिकारीले बताए ।
प्रतिक्रिया 4