Comments Add Comment

प्रदेश २ मा बाढीले १३ हजार परिवार विस्थापित, ३५ सय घर क्षतिग्रस्त

३० असार, जनकपुरधाम । चार दिनको लगातारको बर्षाका कारण आएको बाढीबाट प्रदेश २ का १३ हजार परिवार विस्थापित भएको छ । प्रदेश २ प्रहरी कार्यालयका प्रबक्ता डीएसपी ज्ञान महतोले प्रदेशको आठ जिल्लामा गरी १३ हजार ४४ परिवार विस्थापित भएको जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी विस्थापित महोत्तरीमा छन् । त्यहाँ ५ हजार २ सय र सर्लाहीमा २ हजार १ सय ५ परिवार विस्थापित भएका छन् । सिरहाका १ हजार ८ सय ४३, बाराका १ हजार ३ सय २४, पर्साका १ हजार २, रौतहटका १ हजार, सप्तरीका ३ सय र धनुषाका २ सय ७९ परिवार बाढीका कारण विस्थापित भएका छन् ।

कतिपय जिल्लाका विस्थापितलाई अस्थायी शिविर बनाएर राखिएको छ भने कतिपयलाई विद्यालयमा राखिएको छ । अहिले प्रदेश २ का विद्यालयहरुमा पनि बर्षे विदा भएका कारण बाढीपीडितलाई विद्यालयमै राखिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले विस्थापितहरुलाई सुरक्षित स्थानमा राखिएको बताए । अन्य जिल्लाका विस्थापितहरुलर्य पनि सुरक्षित स्थानमा राखिएको छ ।

३५ सय ३० घर पूर्ण क्षतिग्रस्त

बाढीका कारण प्रदेश २ का आठै जिल्लाका ३५ सय ३० वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी महोत्तरीमा घर पूर्ण रुपले क्षतिग्रस्त भएको छ । महोत्तरीमा २ हजार घर क्षतिग्रस्त हुँदा सिरहाका १ हजार ११ वटा घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । रौतहटका ४ सय, सप्तरीका ५०, सर्लाहीका ३३, धनुषाका २४ र वारा र पर्साका ६÷६ वटा घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन् ।

प्रदेश २ मा १ लाख १८ हजार १ सय ४ घर तथा ६ लाख ७९ हजार ३ सय १५ व्यक्ति बाढीका कारण प्रभावित भएका छन् ।
धनुषामा मृतक संख्या ३ पुग्यो

बाढीका कारण धनुषामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । गणेशमान चारनाथ नगरपालिका ६ स्थित कमला नदी किनारमा १९ महिने बालक डुबेर मृत अवस्थामा फेला परेसँगै धनुषामा बाढीका कारण मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

यसअघि सोही नगरपालिका ४ स्थित कमला किनारमै एक जना व्यक्तिको शव डुबेर मृत्यु भएको अवस्थामा फेला परेको थियो । ६० बर्षको जतिका देखिने ती मृत व्यक्तिको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।

यसअघि जनकनन्दनी गाउँपालिकामा डुबेर मृत्यु भएको अवस्थामा एक बृद्वको शव फेला परेको थियो । अन्दाजी ६७ बर्षीय उनको पहिचान भने खुलेको धनुपषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment