Comments Add Comment

काठमाडौंको वर्षाले के भन्छ ? तराईको बाढीबाट कसरी बच्ने ?

दक्षिण एशियाको वर्षा मनसुनको विशेष अध्ययन आवश्यक पर्ने गतिविधि हो । यहाँ वर्षभरिको पानी तीन महिनामै पर्छ । युरोपतिर हेर्नुभयो भने यसरी एकैचोटि खनिने हुँदैन । मनसुन भन्नेवित्तिकै हावापानीको त्यसै पनि अनिश्चितता हुन्छ । अतिवृष्टि, अल्पवृष्टि हुनेगर्छ । मनसुनकै बेलामा पनि २४ घण्टा, ३६ घण्टासम्म वर्षा भयो भने सोचेभन्दा बढी पानी जम्मा भइहाल्छ ।

यो पृष्ठभूमिमा हाम्रो डे«नेड इञ्जिनियरिङ, रिभर इञ्जिनियरिङ अथवा पानी व्यवस्थापन इञ्जिनियरिङलाई सामान्य रुपमा नभई गम्भीररुपमा लिइनुपर्छ । अरु देशका सिद्धान्तका किताबहरु पढ्ने हो हामीले । तर, हाम्रो देशको अवस्था त्यो भन्दा विशेष खालको छ । भारत र नेपालकै हेर्ने हो भने पनि फरक छ । नेपालका खोलाहरु पहाडबाट आएका छन् । यहाँ पानी नपर्दाखेरि कमिला हिँड्ने, पानी पर्न थालेपछि पूरै मुन्टिएर आउने अवस्था छ । यो अवस्था गंगा नदीमा छैन ।

बाढी नियन्त्रणको सबैभन्दा प्रभावकारी विधि पनि यही नै हो । अहिले हामीले तीनदिनको पानी पहाडतिरै रोक्न सकेको भए र ‘रेगुलेटेड फ्लो’ गरेको भए त तराईमा यस्तो हुँदैनथ्यो ।

त्यसैले हाम्रो देशको मनसुनको विशिष्ट अवस्थाले गर्दा हाम्रो रिभरिङ इञ्जिनियरिङ, डे«नेड इञ्जिनियरिङ वा हाम्रो फ्लड इञ्जिनियरिङमा विशेष सतर्कता अपनाउनुपर्ने विधा हो । यो सैद्धान्तिक कुरा भयो ।

व्यवहारमा हेर्दाखेरि के छ भने काठमाडौंमा ढल निकासबाहेक बाढीको पानी निकासको कुनै निकाय नै छैन । ट्वाइलेटको पानी निकास गर्ने ढल विभाग छ । खानेपानीले पिउने पानीमात्र हेर्छ । तर, वर्षाको पानी कसरी निकास गर्ने भन्ने यति तदर्थ अवस्था छ कि सडक पीच गर्दा छेउमा थोरै नालीहरु बनाइन्छ, त्यतिमात्रै हो ।

सडकको त्यो नालीको व्यवस्थापनलाई रोड हाइड्रोलोजी भनिन्छ । कतिसम्म पानी पर्दाखेरि नालीको क्षमता कति छ भनेर हेर्ने भन्दा पनि एकदमै तदर्थ र कामचलाऊ हिसाबको सडक इञ्जिनियरिङ छ हाम्रो । त्योभन्दा माथि वर्षायामको ‘फ्लड इञ्जिनियरिङ’ हेर्ने निकाय नै छैन ।

मैले अघि भनेजस्तो यो मनसुनलाई प्रभावित पार्ने के भइरहेको छ भने काठमाडौंमा सहरीकरण बढिरहेको छ । शहरीकरण बढ्ने भनेको सहरलाई कि अलकत्रा लगाउने हो, कि त सिमेन्टेड गर्ने हो । खाली जमीन हुँदाखेरि केही पानी खोलामा नगई जमीनमा सोसिन्थ्यो वा जमीनबाटै बग्थ्यो । तर, शहरीकरण बढेपछि कंक्रिटाइज्ड हुँदै जान्छ । तर, कंक्रिटाइज्ड हुने क्रमसँगै बढी भएको पानीलाई कसरी व्यवस्थापन गर्ने भन्ने हाम्रो योजना त के, कुनै निकाय पनि छैन अहिलेसम्म ।

हिउँदमा वागमती पनि सुकेको हुन्छ । हामी इञ्जिनियरहरुकै पनि मापदण्ड कस्तो भयो भने फेला पारेसम्म खोलालाई पहिला जग्गावालाहरुले मिचे, अनि अलिअलि बाँकी रहेको खोलालाई पनि रिटेनिङ वाल लगाएर हामी बाटो बनाउँदैछौं । यसरी कुनै हिसाब–किताव नराखिकन हाम्रा संरचनाहरु बन्दै गए । त्यसैले खोलाले वस्ती मिच्यो भन्दा पनि खोलाले आफ्नो ठाउँ खोज्यो ।

काठमाडौंमा मात्रै होइन, बिराटनगर, वीरगञ्ज, जनकपुर लगायत तराईका जिल्लाहरुमा गयो भने पनि हालत यही छ । तराईतिरको हाम्रो अर्को जटिलता के छ भने हाम्रा खोलानाला चाहिँ उत्तरबाट दक्षिणतिर बग्छन्, हाम्रो बाटोचाहिँ पूर्वबाट पश्चिम छ । खोलाको बहाव र हाम्रो बाटो विपरीत छन् भनेपछि त्यहाँ अझै सतर्क हुनुपर्छ ।

हामीले सडक बनाए पनि रेल बनाए पनि खोलामा पुलहरु अलिकति उचालेर बनाउनुपर्छ । त्यसरी बनाउँदाखेरि कल्भर्ट र पुलहरुमा राम्रो निकास दिएनौं भने त्यो बाटोले नै बाँधको काम गर्दिन्छ । जस्तो– भारतको सीमा छेउमा जानुभयो भने त्यति उचाइका बाटाहरु आवश्यक हुँदैन, उनीहरुले त्यसलाई बाटो भनेका छन्, तर त्यसले बाँधकै काम गरेको छ ।

अब यसको समाधानको उपाय के ? हामीले यसमा शून्यबाटै सुरु गर्नुपर्छ ।

मलाई के लाग्छ भने यो काठमाडौंदेखि लिएर सबैतिर रिभिरिङ इञ्जिनियरिङ, फ्लड इञ्जिनियरिङ र अर्बान ड्रेनेड इञ्जिनियरिङसम्बन्धी सरकारले तुरुन्तै निकाय बनाउनुपर्छ । तर, यसमा लापरवाही भइरहेको छ ।

निश्कर्षमा भन्दा, प्राकृतिक हिसाबले नै हाम्रो मनसुनको प्रकृति र वर्षाको प्रकृति जुन तीन महिनामा आउनेखालको छ, यो सामान्य अरु देशको जस्तो सजिलो नभइकन अप्ठ्यारो छ । यसमा छुट्टै प्राविधिक उपायहरु हामीले नै निकाल्नुपर्ने हो । तर, भएकै प्राविधिक संरचनामा पनि हामी ल्याङफ्याङ छौं । त्यसैले यसबारे प्राविधिक तहमा, नीतिगक तहमा, संस्थागत तहमा नै विचार गर्नुपर्ने विषय हो ।

तराईको बाढीको दीर्घकालीन समाधान

हिजोआजकै समाचारहरुमा थियो, भारतको चेन्नईमा, मद्रासमा अहिले पिउने पानीको हाहाकार छ । यो त चर्चामा आइसकेको छ कि अबको ३०/४० वर्षमा पेट्रोलभन्दा पिउने पानी महंगो हुन्छ । र, दक्षिण एशियामा पिउने पानीको सबैभन्दा ठूलो संकट भारतमै पर्छ ।

यो हिसाबमा भारतीय पक्ष पनि अलिकति उदार हुन जरुरी छ । किनभने पानी भण्डारण बिहारमा त गर्न सकिँदैन, त्यो भण्डारण गर्न सक्ने ठाउँ नेपालमै हो । त्यसैले यसमा दुबै देशले राजनीतिक तहमा अलिकति उदार भएर यसको समाधान खोज्नुपर्छ ।

हाम्रो राष्ट्रिय मनोविज्ञान कस्तो भयो भने उच्च बाँधलगायत हामीले केही गर्दाखेरि भारतलाई फाइदा भयो भने त्यो गर्नै हुँदैन भन्नेजस्तो हाम्रो राष्ट्रिय मनोविज्ञान छ । उता हाम्रो छिमेकीको चाहिँ कस्तो छ भने यो त यिनले मानिहाल्छन्, हामीले फोगटमा पाउँछौं भन्ने उताको पनि मानसिकता देखिन्छ ।

यी दुईटै कुरामा एक अर्काको दोषारोपण र अमझदारीभन्दा पनि हामीले उच्च बाँधका लागि वातावरण मैत्री बनाएर, वातावरणको प्रभाव न्यूनीकरण गरेर त्यसलाई अघि बढाउन सम्भव छ ।

अहिलेसम्म हाम्रो तराईमा आइरहेको जुन बाढी छ, यसको समाधान भनेको बाँध नै हो । बाढी नियन्त्रणको सबैभन्दा प्रभावकारी विधि पनि यही नै हो । अहिले हामीले तीनदिनको पानी पहाडतिरै रोक्न सकेको भए र ‘रेगुलेटेड फ्लो’ गरेको भए त तराईमा यस्तो हुँदैनथ्यो । यो कमन सेन्सको कुरा हो । त्यसैले हाम्रो बाढी नियन्त्रणको दीर्घकालीन समाधान भनेको पहाडी क्षेत्रमा बाँध नै हो । त्यो बाँध बहुउद्देश्यीय पनि हुन्छ ।

मलाई त के लाग्छ भने यो विषयमा भारत यो तहसम्मको उदार भइदिनुपर्छ कि उसले बाँध हामी बनाइदिन्छौं, बिजुली नेपालीले निशुल्क लगोस् । र, पानीको वर्षायामको लाभ आफूलाई पुगोस् भन्ने किसिमबाट भारतले आउन जरुरी छ । यो नै दुईपक्षीय लाभ हो ।

किनभने, दीर्घकालमा हामीले भारतका लागि खानेपानीका लागि हामीले उदार भैदिनुपर्छ । यसलाई कुनै राष्ट्रवादसँग जोडेर भन्दा पनि आपसी लाभको हिसाबमा जानलाई हाम्रो पनि एउटा राष्ट्रिय मनोविज्ञान नीतिगत तहमा हामी पनि उदार हुनुपर्छ । र, यही किसिमले भारतीय पक्षको मानसिकतामा पनि परिवर्तन आउनुपर्छ । दीर्घकालीन समाधान त उच्च बाँध नै हो ।

निश्कर्षमा, अहिले आएको बाढी र प्रकृतिले दिएको सन्देश के हो भने हामी अहिलेकै पारामा यस्तै गरी गयौं भने यो समस्या वर्षैपिच्छे आइरहन्छ । त्यसैले यसका लागि दीर्घकालीन समाधान खोज्न आवश्यक छ ।

अहिले जलवायु परिवर्तन जुन भइरहेको छ, यसले हाम्रो मनसुनकै स्वरुपलाई पनि फेरिदिन सक्छ । अतिवृष्टि, खण्डवृष्टिजस्तो अवस्थालाई बढाउँछ । यसलाई एउटा एडप्टेसन (अनुकूलन) भन्छन्, अर्को मिटिगेसन (न्यूनीकरण) भनिन्छ । तर, हामी उल्टोबाटो गइरहेका छौं ।

जस्तो– हामी रुख काट्नुहुँदैन भन्छौं, त्यो मिटिगेसन हो । एडप्टेसन भनेको चाहिँ जलवायु परिवर्तनबाट हुने प्रभावसँग कसरी तयार रहने र त्यसको समाधान के भन्ने हो । यसमा चाहिँ हाम्रो चेतना रुख काट्नहुँदैन भन्नेमा मात्रै सीमित छ । तथापि वर्षा वा बाढीजस्तो कुरा सारभूत रुपमा जलवायु परिवर्तनसँग पनि जोडिएको विषय हो ।

(पूर्वाधार विज्ञ डा. आचार्यसँग  कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment