Comments Add Comment

विदेशी बाल यौन दुराचारीलाई नेपालीकै सहयोग !

Photo Credit : नेपाली बालकको साथमा जोन ।

२८ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकृतहरुलाई २०७४ चैत अन्तिमतिर सञ्चालित एउटा अपरेशन पूरा गर्न हम्मेहम्मे पर्‍यो ।

संयुक्त राष्ट्रसंघका पूर्वविशिष्ट कर्मचारी जोन पिटर डाल्गिसलाई पक्राउ गर्न ब्युरोका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) नेतृत्वको टोली काभ्रेको मण्डनदेउपुर पुगेको थियो । महारागञ्जस्थित कार्यालयबाट हिँड्दा अन्य अभियुक्तझैँ सहजै विदेशी भीआईपीलाई पनि समातेर ल्याउनेमा अधिकृत ढुक्क थिए ।

तर बाल यौन दुराचारमा संलग्न भएको आरोपमा डाल्गिसलाई समात्न गएको टोलीले नसोचेको परिस्थिति सामना गर्नुप¥यो । ‘फार्म हाउस’लाई यौन दुराचारको अखडा बनाएका डाल्गिसलाई समात्न पुगेको टोली आफैं स्थानीयवासीको घेराबन्दीमा परेको थियो ।

अभियुक्तलाई हत्कडी लगाउन खोज्दा जनप्रतिनिधिसहित स्थानीय आएर घेरा हालेको टोलीका एक अधिकृत बताउँछन् । ‘डाल्गिस गरिब बालबालिकालाई पढाउन आर्थिक सहयोग गरेर गाउँलेसँग नजिकिएका रहेछन्’, उनी भन्छन्, ‘त्यही कारण स्थानीय उनको पक्षमा उत्रिए ।’

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को वरिष्ठ सल्लाहकार बनेर सन् २००२ मा नेपाल आएका डाल्गिसले राष्ट्रसंघीय प्रतिनिधिको रुपमा अफगानिस्तानमा पाँच वर्ष काम गरेका थिए । यो पृष्ठभूमिलाई हेर्दा उनी बाल यौन दुराचारी होलान् भनेर विश्वास गर्न गाह्रो थियो ।

पर्याप्त अनुसन्धानपछि पक्राउ पूर्जीसहित पुगेका सीआईबी टोली रित्तो हात फर्किने पक्षमा थिएन । टोलीले डाल्गिसको पक्षमा उत्रिएका केही भलाद्मीलाई उनी अन्तर्राष्ट्रिय पेडोफिल (बाल यौन दुराचारी) भएको प्रमाण देखाए ।

पिटरको काभ्रेस्थित फार्म हाउस तस्वीरः डेलीमेल

करिब एक घन्टाको प्रयासपछि बल्ल स्थानीयले प्रहरीलाई साथ दिए । अन्ततः डाल्गिसलाई नियन्त्रणमा लिएर मुद्दा दायर भयो तर, क्यानडियन प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध भएका उनलाई जोगाउन अनेक चलखेल भइरहे ।

बालबालिकाको क्षेत्रमा काम गरेर तीन वटा मनार्थ विद्यावारिधी उपाधि र दर्जनौं सम्मान पाएका डाल्गिसले क्यानडाबाटै टोली ल्याएर आफूविरुद्ध चलेको मुद्दाको बहस गराएका थिए । उनले फैसला आफ्नो पक्षमा पार्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम पनि गुहारे ।

तर, बलियो सबुत–प्रमाणका कारण डाल्गिसलाई काभ्रे जिल्ला अदालतले १२ वर्ष र सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा क्रमशः नौ वर्ष र सात वर्षको जेल सजाय सुनायो । प्रहरीले भने डाल्गिसले ५० बढी बालबालिकामाथि शोषण गरेको दाबी गरेको थियो ।

 

०००

यो पनि पढ्नुहोस कलिलैमा ‘पोर्न’को लत

सीआईबीले ५ माघ ०७५ चलाएको अर्को अपरेशनले झन् डरलाग्दो पाटोको खुलासा गर्छ । यो घटनामा विदेशी पेडोफिललाई बालकसँग सेटिङ गराइदिने नेपाली नागरिक नै भएको खुलेको थियो ।

रविभवनमा रहेको एक अपार्टमेन्टको कोठाबाट तीन नेपाली बालक र दुई वयस्कसहित नग्न अवस्थामा पक्राउ परेका इयान रोबर्ट कोललाई धादिङका कुमार रोकाले विशेष सहयोग गरेको अनुसन्धानका क्रममा खुलेको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार १८ वर्षका अजय पोद्दार पनि रोक्काको सहयोगी बनेका थिए ।

कोलले रोक्कालाई ट्याक्सी किन्ने पैसा दिएर प्रलोभनमा पारेको र पोद्दारलाई पढाई खर्चका लागि नियमित रकम दिने गरेको अनुसन्धानबाट खुलेको थियो । कोलबाट बेलाबेला ब्रान्डेड कपडा र घरायसी सरसामान समेत पाउने गरेका पोद्दारले सारा कर्तुत खोलिदिने धम्की दिएरसमेत थप लाभ लिने गरेका थिए । कोल र रोका अहिले पुर्पक्षका लागि थुनामा रहेको र पोद्दार भने धरौटीमा छुटेको सीआईबीका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले बताए ।

०००

यो पनि पढ्नुहोस भयावह बन्दैछ अनलाइन बाल यौन दुर्व्यवहार: प्रहरीमा किन उजुरी पर्दैन ?

नेपाली समाजमा बालिका/महिलासँग जोडिएका यौन दुर्व्यवहार राष्ट्रिय बहसका विषय बन्छन् । विदेशी दूराचारी आएर बाल यौन दुराचार गरेको विषय भने ठूलो मुद्दा बन्न सकेको छैन । जबकी, नेपाल प्रहरीको सीआईबीले बाल यौन दुराचारसम्बन्धी १४ वटा घटनामा टोली खटाएर अपरेशन चलाइसकेको छ, जसमा पाँच नेपाली मतियारविरुद्व अदालतमा मुद्दा दायर भएको छ ।

‘नेपालीको सहयोगविना विदेशीलाई बालबच्चा पाउन गाह्रो हुन्छ’, सीआईबीका एसपी रेग्मीले अनलाइनखबरसँग भने, ‘अधिकांश घटनामा नेपालीलाई आर्थिक प्रलोभनमा पारेर विदेशीले सहयोग लिएको देखिन्छ ।’

‘पीडित भएको थाहै हुन्न’

नेपाली समाजमा विदेशी भन्नेवित्तिकै राम्रो हुन्छन् भन्ने सोच छ । यसले गम्भिर समस्या निम्त्याइरहेको केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक रहिसकेका तारक धिताल बताउँछन् ।

तारक धिताल

‘कतिपयले त थाहै नपाई विदेशी यौन दुराचारीलाई सहयोग गरेको पाइएको छ’, उनी भन्छन्, ‘पीडितलाई पनि आफूमाथि दुराचार भइरहेको ख्याल हुँदैन ।’

उनका अनुसार, विदेशी पेडोहरुले समाजसेवीको आवरणमा सहर वा गाउँ पसेर, सहयोग र माया गरेको देखाएर बालबालिकालाई निशाना बनाउने गरेका छन् । केही घटनामा पीडितको परिवारलाई नै सहयोग गरेको पाइएको धिताल बताउँछन् ।

बेलायती नागरिक इयान रोबर्ट कोलले धादिङका कुमार रोकालाई ट्याक्सी किन्ने रकम दिनु यसैको दृष्टान्त हो ।

बाल यौन दुराचारीको अन्तर्राष्ट्रिय सञ्जाल नै छ, जसलाई ‘नाम्ला’ भनिन्छ । यसले सामाजिक सञ्जालबाट बालबालिकाको तस्वीर र अन्य सूचना आदानप्रदान गर्छ ।

बेपरवाह अभिभावक

बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालका व्यवस्थापक भरत अधिकारीकाअनुसार बाल यौन दुराचारको घटनामा पीडकले पीडित बालकलाई आश्वस्त पार्ने गरेकाले यौन दुराचारका घटना बाहिर आउन कठिन पर्छ ।

उनकाअनुसार, बाल यौन दुराचारको घटनामा पीडक यति नजिक भएको हुन्छ कि पीडितले घटना बाहिर ल्याउनै सक्दैन । ‘हामी लाखौं पर्यटक भित्र्याउने कुरा गरिरहेका छौं तर, कस्ता पर्यटक आइरहेका छन् भनेर कुनै मतलब राखेका छैनौं’, अधिकारी भन्छन्, ‘सम्बन्धित निकायले यसतर्फ ध्यान पुर्‍याउनु जरुरी छ ।’

केन्द्रीय बाल कल्याण समितिका पूर्व कार्यकारी निर्देशक धिताल घरमा अभिभावकले आफ्ना बालबालिकासँग कुराकानी गर्न छाड्न नहुने बताउँछन् । ‘कतिपय घटनामा बालबालिकाले आफूमाथि भइरहेको हिंसाबारे बताउन चाहिरहेका हुन्छन्’, उनी भन्छन्, ‘तर घरमा भन्ने र सुन्ने वातावरण नै हुँदैन ।’

कुनै विदेशीले बालबालिकाप्रति बढी चासो देखाइरहेको छ भने शंकाको दृष्टिले हेर्न उनको सुझाव छ । ‘विद्यालयमा कापी–कलम बाँडेकै भरमा छोराछोरीलाई विदेशी नागिरिकसँग पोखरा पठाएको पाइएको छ’, धिताल भन्छन्, ‘अभिभावकहरु यसरी बेपरवाह हैन, चनाखो हुनुपर्‍यो ।’

गत भदौमा जारी मुलुकी अपराध संहिताले अप्राकृतिक मैथुनमा संलग्न व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ तर, यति मात्र सजाय पर्याप्त नहुने सरोकारवाला बताउँछन् ।

यो पनि पढ्नुहोस सहमतिमा ‘न्यूड’ फोटो सुट, भाइरल भएपछि आपत !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment