३१ असार, काठमाडौं । विश्वकप क्रिकेटको उपाधि छिनोफानो लागेको दुई दिन भइसक्यो तर हार जितको बहस भने सेलाएको छैन । विशेष त अन्तिम ओभरमा भएको ओभर थ्रो रनलाई लिएर आईसीसीको नियम नै मिचिएको भन्दै अम्पायरले गल्ती गरेका धारणाहरु आइरहेका छन् ।
क्रिकेट विश्लेषकदेखि पूर्व अम्पायरसम्मले उक्त ओभर थ्रोका समयमा ६ रनको सट्टामा ५ रन दिनुपर्ने बताइरहे पनि इंग्ल्याण्डका क्रिकेट डाइरेक्टर एश्ले गिल्सले भने त्यसमा आफूहरुलाई कुनै वास्ता नरहेको बताएका छन् ।
क्रिकेट नियमको १९.८ मा भएको ‘ओभर थ्रो र फिल्डरले गरेको गल्तीसम्बन्धी नियम’मा हेर्ने हो भने उक्त ओभर थ्रोपछि इंग्ल्याण्डको खातामा ६ रन होइन ५ रन जोडिनुपर्ने थियो । किनभने पहिलो रन पूरा गरेर दोस्रो रनका लागि दौंडदा फिल्डरले बल फाल्ने समयमा दुई ब्याट्सम्यान क्रस भएका थिएनन् । त्यसैले दौडिएको एक रन र ओभर थ्रोको चार रन गरी पाँच रन दिनुपर्ने थियो । तर अम्पायरले ६ रन दिएका थिए ।
उक्त नियममा लेखिएको छ, ‘यदि ओभर थ्रोमार्फत या फिल्डरले केही गल्ती गरेर बाउण्ड्री हुन्छ तब ब्याट्सम्यानले जोडेको रनलाई पनि समावेश गर्नुपर्ने हुन्छ । यदि पूरा गरेको रनका साथै रनका लागि दौडिरहँदा फिल्डरले बल फाल्नु अगाडि नै दुई ब्याट्सम्यान क्रस गरिसकेका छन् भने उक्त रन पनि जोडिन्छ ।’
यस्तोमा एक रन बढी दिइएको बहस भइरहँदा इंग्ल्याण्डका क्रिकेट डाइरेक्टर एश्ले गिल्सले भने त्यसले फरक नपर्ने बताएका हुन् । ‘यसले फरक पार्दैन । यदि त्यो बलमा पाँच रन मात्रै आएको भए त्यसपछिको बलमा स्टोक्सले फरक ढंगले खेल्ने थिए’ उनले भनेका छन्, ‘हामी विश्व विजेता हौं र त्यो उपाधि राख्न योग्य छौं ।’
अस्ट्रेलियन पूर्व अम्पायर तथा आईसीसी अम्पायर प्यानलका पूर्व सदस्यसमेत रहेका साइमन टफेलले समेत उक्त समय अम्पायरको गल्ती भएको र ५ रन दिनुपर्नेमा ६ रन दिएको सार्वजनिक रुपमै बताएपछि बहस थप तातेको छ ।
आईसीसीले मैदानमा अम्पायरले लिएको निर्णय तत्कालिन अवस्थामा नियमको मूल्यांकन गरेरै त्यसमा आधारित हुने हुनाले थप बहस आवश्यक नरहेको जनाएको छ ।
विश्वकप फाइनलमा ५० ओभर बराबरी भएको खेलमा सुपर ओभरसमेत बराबरी भएको थियो । ५० ओभरमा दुवैले २४१ रन बनाएका थिए भने सुपर ओभरमा समान १५ रन । त्यसैले बढी बाउण्ड्री लगाउने टिम इंग्ल्याण्ड विजेता भएको थियो । इंग्ल्याण्डले २६ बाउन्ड्री लगाएको थियो भने न्युजिल्याण्डले १७ मात्रै लगाएको थियो ।
यो पनि पढ्नुहोस्
त्यो ‘एक रन’, जसले न्युजिल्याण्डबाट विश्वकपको उपाधि खोसियो
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4