+
+
Shares

सर्वेन्द्र खनालको प्रश्न– विकसित मुलुकमा अपराधै छैन ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३१ गते १७:५९

३१ असार, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रविधिको प्रयोगबाट मात्रै अपराध नियन्त्रण हुन नसक्ने बताएका छन् । विकसित मुलुकको उदाहरण प्रस्तुत गर्दै खनालले प्रविधि अनुसन्धानको सहायक मात्र भएको बताएका हुन् ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नेपाल स्काउटसँग मंगलबार गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खनालले प्रश्न गरे, ‘विकसित मुलुकमा अपराधै भएको छैन ? सबै अपराधको सफल अनुसन्धान भएको छ ? पूर्ण शान्ति, सुरक्षा कायम भएको छ ?’

खनालले प्रविधिको उच्चतम् प्रयोगलाई प्राथमिकता दिइए पनि ‘ह्युम्यान इन्टलिजेन्स’ नै महत्वपूर्ण रहेको बताए । भारतको दिल्ली लगायतका ठाउँमा सडकमा प्रहरी नै नदेखिने विषयलाई उल्लेख गर्दे उनले प्रविधिको विषय निकालेका थिए ।

साझेदारी कार्यक्रमको अवधारणाबाट हालसम्म एक हजार ९ सय २७ सीसी क्यामरा जडान गरिसकिएको पनि खनालले सुनाए । उनका अनुसार स्थानीय तहसँगको साझेदारीमा क्यामरा जाडन गरिएको हो ।

विगतका प्रहरी प्रमुखले ल्याएको कार्यक्रमभन्दा समुदाय प्रहरी साझेदारी फरक भएको दाबी गर्दै खनालले भने, ‘यो अवधारण धेरै वर्षदेखि सुरु गरिए पनि ठोस दिशानिर्देशन हुन सकेको थिएन । यो कार्यक्रम संस्थागत छ ।’

समुदाय प्रहरी साझेदारीको विभिन्न आयाम भएको बताउँदै खनालले भने, ‘विकसित मुलुकमा प्रहरीको अवस्था के छ, आर्थिक, सांस्कृति र सामाजिक पक्ष के छ ? त्यसलाई हेरेर हामीले पुलिसिङको नयाँ अभ्यास थालिएको हो ।’

कार्यक्रम अन्तरगत ७ सय ५३ स्थानीय तहसँग साझेदारी भइसकेको खनालले बताए । उनले भने, ‘प्रहरीको स्रोत साधन सीमित भएको ठाउँमा स्थानीय तहले समन्वय गर्ने गरी यो अवधारणा अघि सारिएको हो ।’

उनले यो कार्यक्रम नयाँ नामको मात्र नभएको दाबी गर्दै देशभर २२ हजार समिति बनिइसकेको पनि जनाए । कार्यक्रममा नेपला स्काउटका प्रमुख लोकबहादुर भण्डारी, राष्ट्रिय तदर्थ समिति सदस्य शिवबहादुर भण्डारी लगायतले प्रहरीसँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?