Comments Add Comment

फर्छ्योट भएनन् गोरखा अदालतका २५९ मुद्दा

१ साउन, गोरखा । चालु आर्थिक वर्ष ०७५/७६ मा २५९ मुद्दा फछ्र्याेट हुन नसकेको जिल्ला अदालत गोरखाले जनाएको छ । अघिल्लो आर्थिक वर्षको बाँकी ९३ र यस वर्ष दर्ता भएको ४७७ मध्ये २५९ मुद्दा फर्छ्योट हुन नसकेको हो ।

‘गत वर्ष ९३ मद्दा फर्छ्योट हुन बाँकी थियो,’ जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले भने, ‘यस वर्ष ४७७ नयाँ दर्ता भए । यीमध्ये ३ सय २१ मद्दा फर्छ्योट भएको छ ।’

देवानीतर्फको २ सय १४ मुद्दा फर्छ्योट भएका छन् । ‘देवानीतर्फ ३ सय ३३ नयाँ र गत वर्षको ५२ गरी कुल ३ सय ८५ मुद्दा थिए, त्यीमध्ये १ सय ७१ फर्छ्योट हुन सकेन,’ अधिकारीले भने ।

त्यस्तै, फौजदारीतर्फ ५४ मुद्दा फर्छ्योट भएका छन् । नयाँ ५० र गत वर्षको २८ गरी कुल ७८ मुद्दा रहेका थिए । २४ मुद्दा यस वर्ष फर्छ्योट हुन नसकेको जिल्ला अदालतले जनाएको छ ।

सरकारवादी फौजदारीतर्फको १ सय ७ मध्ये ५३ वटा मुद्दा फर्छ्योट भएको जिल्ला न्यायाधीश अधिकारीले बताए । गत वर्ष फर्छ्योट नभएका १३ मुद्दा थिए । यस वर्ष ९४ मुद्दा दर्ता भएको हो । १८ महिना नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको उनले जानकारी दिए ।

देवनीतर्फ सम्बन्धविच्छेद, जग्गा खिचौला, अंशलगायतका मुद्दा पर्छन् । फौजदारीअन्तर्गत कुटपिट, ठगी, लुटपाटलगायतका मुद्दा पर्ने जिल्ला न्यायाधीश अधिकारीले बताए । त्यस्तै, सरकारवादी फौजदारी तर्फ ज्यान मार्ने, जवरजस्ती करणी, बहुविवाहजस्ता मुद्दा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment