Comments Add Comment

एशियन डिष्टिलरीका मजदुर ४ दिनदेखि धर्नामा

३ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-२४ रामगढवामा सञ्चालित एशियन डिस्टिलरी प्रालीमा ४ दिनदेखि मजदुर धर्नामा बसेका छन् ।

२०३ जना कर्मचारी तथा मजदुरलाई उद्योग व्यवस्थापनले निकालेपछि उनीहरुले धर्ना सुरु गरेका हुन् ।

उद्योगको मुख्य गेटमा त्रिपाल टाँगेर मजदुरहरु धर्नामा बस्दै आएका छन् । डिस्टिलरीले ६ जना कर्मचारी र १९७ जना मजदुर गरी २०३ जनालाई निकालेको छ । उद्योगमा २४७ मजदुर र ४७ जना कर्मचारी स्थायी रुपमा कार्यरत थिए ।

सुरुमा ‘रुस्लान भोडका’ उत्पादन गर्ने गरेको डिस्टिलरीले नेपाली मदिरा बजारमा एकछत्र राज गरेको थियो । त्यसको उत्पादन बन्द गरेर हाल उसले ‘ब्लु डायमण्ड’ नामक मदिरा उत्पादन गर्दै आइरहेको छ ।

अखिल नेपाल औद्योगिक मजदुर संघ इकाइ अध्यक्ष अजयप्रसाद पटेलले वर्षौदेखि काम गरिरहेका मजदुरलाई ट्रेड युनियनसँग परामर्श नगरी उचित क्षतिपूर्ति समेत नदिइ निस्कासन गरेकोले आन्दोलनमा उत्रिएको बताए ।

‘जेठ १९ गते कटौतिको पत्र बुझाएको थियो, त्यसपछि दुई पटक वार्ता भयो । व्यवस्थापन पक्षले एक महिनाको बेसिक स्यालरी दिन्छौं तपाईहरु जानुस भनिरहेका छन्,’ उनले भने, ‘हामी स्थायी कर्मचारी हौं, हाम्रो काम गर्ने अवधि बाँकी छ, बाँकी अवधिको बराबर वा १० लाख क्षति दिनुपर्छ भन्ने माग हाम्रो हो । त्यसमा सहमती हुन सकेन । त्यसैले आन्दोलनमा छौं ।’

आधिकारिक ट्रेड युनियनसँग सरल्लाह नगरी निस्कासन गरिएकोले ‘कि उचित क्षतिपूर्ति देउ, कि काममा फर्काउ’ भन्ने माग आफूहरुले राखेको उनको भनाइ छ ।

उचित क्षतिपूर्ति नदिए आन्दोलनलाई अझै कडा बनाउने चेतावनी उनले दिए । नरोकिने र आजदेखि मूलगेटमा पाल टाँगेर धर्ना शुरु गरेको बताए ।
निस्कासनमा परेका मजदुर रामबाबु सिंह उद्योग व्यवस्थापनले मजदुरको मर्कालाई नबुझी उद्योग व्यवस्थापनले निस्कासन गरेको बताए ।

‘११ वर्षदेखि जति पनि सुविधा पाइराखेका थियौं, समयमै दिने गरेको थियो । तैपनि मदिरा बिक्रि भएन भनिएको छ,’ उनले भने, ‘मदिरा बिक्रि नभएको भए कम्पनी कसरी चल्यो त ? बिक्री भएको छैन भने स्टकमा माल हुनुपर्ने तर एउटा पनि माल स्टक छैन ।’

उत्पादित मदिराले बजार लिन नसकेपछि श्रम ऐन २०७४ को दफा १ सय ४५ बमोजिम कटौती गरिएको दावी उद्योग व्यवस्थापनको छ ।

एक दशकदेखि उद्योगको कारोबार घट्दै गएको र व्ययभार बढ्दै गएको व्यवस्थापन पक्षको भनाइ छ । २०७५/७६ मा चार घण्टाको दैनिक हिसाबले १ सय २८ दिन र अघिल्लो आवमा जम्मा २ सय २ दिन मात्रै उद्योग चलेको व्यवस्थापन पक्षको भनाइ छ ।

कम्पनीको निर्णयअनुसार कटौतीमा परी श्रम सम्बन्ध अन्त्य हुने श्रमिकहरुले सूचना पत्र नबुझेकोले हुलाकबाट रजिष्ट्रि गरी पठाइसकिएको दावी कम्पनीका अधिकारीहरुको छ । तर, मजदुरलाई पत्र हुलाकबाट पठाईएको जानकारी दिन कम्पनीले गेटमा टाँस गरेको सूचनामा भने जारी मिति उल्लेख गरिएको छैन ।

नेपाली काँग्रेसका जिल्ला सभापति अजय द्विवेदीले शुक्रबार धर्नामा बसेका मजदुरसँग समस्याका बारेमा छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment