Comments Add Comment

उद्योग विभागले स्वीकृत गर्ने वैदेशिक लगानी ३१ अर्बले घट्यो

४ साउन, काठमाडौं । सरकारले लगानी सम्मेलन गरेकै वर्ष उद्योग विभागमार्फत मुलुकमा भित्रिने वैदेशिक लगानीमा उच्च गिरावट देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/७६ को विवरण अनुसार गत वर्षभन्दा वैदेशिक लगानी ३१ अर्ब ८१ करोडभन्दा बढीले आरोलो लागेको हो ।

अघिल्लो आर्थिक वर्ष कुल ३९९ वटा उद्योगमा ५५ अर्ब ७६ करोड ४ लाख ८० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । तर, आर्थिक वर्ष ०७५/७६ को १२ महिनामा कुल ३३७ उद्योगका लागि २३ अर्ब ९४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष नेपालमा स्थापना हुने वैैदेशिक लगानीका उद्योगको पूर्ण लागत ६१ अर्ब ३४ करोड हाराहारी थियो । तर अहिले उक्त लागत २८ अर्ब ४१ करोडमा खुम्चिएको छ । अघिल्लो वर्षभन्दा कृषि तथा वनस्पतीजन्य उद्योग, खानी र उत्पादन क्षेत्रमा आउने लगानी घटेको छ भने सेवा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा आउने लगानी बढेको छ ।

कुन–कुन क्षेत्रमा लगानी घट्यो

कृषि तथा वनस्पतीजन्य उद्योग क्षेत्रमा गत वर्ष २० उद्योगका लागि कुल वैदेशिक लगानी १ अर्ब ९३ करोड बराबर थियो । तर यस वर्ष सो क्षेत्रमा ४० करोड ३२ लाख रुपैयाँ बराबरको मात्रै लगानी भित्रिएको छ । खानी क्षेत्रमा अघिल्लो वर्ष ३ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी भित्रिएको थियो । उक्त क्षेत्रमा यस वर्ष १ करोड ३१ लाख ६० हजार मात्रै लगानी आएको छ । अघिल्लो वर्ष उत्पादन क्षेत्रमा ६ अर्ब ८४ करोड ५९ लाख बराबरको लगानी आएकामा यस वर्ष ६ अर्ब २८ करोड ९४ लाख ५० हजारमा खुम्चिएको छ ।

कुन–कुन क्षेत्रमा लगानी बढ्यो ?

समग्र वैदेशिक लगानी घटे पनि यस वर्ष सेवा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा आउने लगानी भने अघिल्लो वर्षभन्दा बढेको छ । विभागको तथ्यङ्कअनुसार सूचना प्रविधि क्षेत्रको उद्योगमा यस वर्ष ६४ करोड ९४ लाख बराबरको २४ उद्योगमा लगानी प्रतिबद्धता आएको छ । अघिल्लो वर्ष यो क्षेत्रमा लगानी ५३ करोड ७८ लाख मात्रैको थियो ।

सेवा क्षेत्रमा अघिल्लो वर्ष १२० उद्योगमा २ अर्ब २४ करोड ८ लाख ४० हजारको लगानी भित्रिएको थियो भने यस वर्ष उक्त क्षेत्रका १०५ उद्योगमा ६ अर्ब ४० करोड ५७ लाख ८० हजार लगानी प्रतिबद्धता आएको छ । यस्तै, पर्यटन क्षेत्रका १२८ उद्योगमा यस वर्ष १० अर्ब १८ करोड ८० लाख ९० हजार बराबरको वैदेशिक लगानी भित्रिएको छ उक्त क्षेत्रमा अघिल्लो वर्ष १५८ उद्योगमा ४ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

ऊर्जा क्षेत्रमा वैदेशिक लगानी शून्य

अघिल्लो वर्ष बुटवल पावर कम्पनीमा चिनियाँ लगानी भित्र्याउन आएको प्रतिबद्धतासहित ऊर्जा क्षेत्रमा सबैभन्दा धेरै ३६ अर्ब २४ करोड बराबर लगानी भित्रिएको थियो । तर यस वर्ष ऊर्जा क्षेत्रमा कुनै पनि खाले वैदेशिक लगानी प्रतिबद्धता प्राप्त नभएको विभागले जनाएको छ ।

वैदेशिक लगानीको प्रतिबद्धतामा ह्रास आए पनि उक्त लगानीबाट सृजना हुने कुल रोजगारी संख्यामा भने यस वर्ष बढोत्तरी भएको छ । अघिल्लो वर्ष आएका लगानीबाट १३ हजार ९४० जनाका लागि रोजगारी सृजना हुन्थ्यो भने यस वर्षको लगानी प्रतिबद्धताले १४ हजार १०२ जनालाई रोजगारी प्रदान गर्ने बताइएको छ ।

३२ देशबाट लगानी प्रतिबद्धता

अमेरिका, चीन र भारतसहित विश्वका ३२ देशबाट यस वर्ष विभिन्न क्षेत्रमा लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । यस वर्ष सबैभन्दा धेरै लगानी चीनबाट १२ अर्ब १२ करोड १९ लाख ५० हजार बराबर आएको छ । यस्तै दोस्रो धेरै लगानी प्रतिबद्धता भारतबाट ६ अर्ब १९ करोड ९० लाख ३० हजार रहेको छ । यस्तै तेस्रोमा १ अर्ब ५० करोड ५० लाख भित्र्याएको सिगांपुर रहेको छ । अमेरिकाबाट यस वर्ष २५ करोड ५० लाखको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

चिनियाँ लगानी घट्यो, भारतबाट बढ्यो

नेपालको उत्तरी छिमेकी मुलुक चीनबाट यस वर्ष १२ अर्ब १२ करोड १९ लाख ५० हजार बराबरको लगानी प्रतिबद्धता आएको छ जुन गत आर्थिक वर्षको भन्दा झण्डै ३४ अर्बले कम हो । अघिल्लो वर्ष चीनबाट ४६ अर्ब ५३ करोड १९ लाख ४० हजारको प्रतिबद्धता आएको थियो ।

यता दक्षिणी छिमेकी भारतबाट भने यस वर्ष नेपालमा गरिने लगानी बढेको छ । यस वर्ष भारतबाट ६ अर्ब १९ करोड ९० लाख ३० हजारको लगानी प्रतिबद्धता आयो जुन गत वर्षभन्दा झण्डै १ अर्ब हाराहारीले धेरै हो । गत वर्ष भारतबाट ५ अर्ब ९ करोड ८८ लाख १० हजार बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

कानुन निमार्णका चरणमा करिब दुई महिना विभागबाट लगानी स्वीकृत गर्न अप्ठ्यारो परेका कारण पनि लगानी प्रतिबद्धताको आकार खस्किएको हुन सक्ने उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंह बताउँछन् । सिहंका अनुसार अघिल्ला वर्षहरुमा सबै लगानी उद्योग विभागबाटै स्वीकृत हुने गरेको र यस वर्षदेखि ६ अर्बभन्दा माथिको लगानी लगानी बोर्डले हेर्ने भएकाले उद्योगको स्वीकृत लगानी घटेको देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment