Comments Add Comment

युवा स्टार फ्रान्कीलाई बार्सिलोनाले कहाँ खेलाउँछ ?

६ साउन, काठमाडौं । डच मिडफिल्डर फ्रान्की डी जोङलाई भित्र्याएर बार्सिलोनाले सन्देश दिएको छ, वर्तमान र भविष्यका लागि टिममा क्षमतावान खेलाडी आएका छन् ।

अजाक्सका २२ वर्षे फुटबलरलाई ७५ मिलियन युरो तिर्नु एक प्रकारले लगानी नै हो । त्यसो त डी जोङले ड्रेसिङ रुममै सबैको मन जितिसकेका छन् । उनी पहिलो मिनेटबाटै हँसिलो र उत्साही मुद्रामा प्रस्तुत भए ।

अफ दि फिल्डमा पाएको यो सफलता मैदानमा पनि रुपान्तरित हुने अपेक्षा गरिएको छ, जब उनले अवसर पाउनेछन् । तर प्लेइङ इलाभेनमा स्थान बनाउन भने उनले सर्जिओ बुस्केट, कार्लेस एलन, आर्थर मेलो र अर्टुरो भिडालसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

सबैलाई विश्वास छ कि उनी नाउ क्याम्पमा सफल हुनेछन् तर, यो समयले बताउँछ । ‘यो लगानी ठुलो हो तर भविष्यका लागि यो राम्रो अनुबन्ध हो उनको उमेरका कारण’ डी जोङलाई नजिकबाट चिनेका जोर्डी क्रूफ भन्छन् ।

उनी थप्छन्, ‘उनीसँग आफ्नो क्लवका गुणहरु छन् र यी दुवै क्लवले फुटबलमा उस्तै कुरा खोज्छन् ।’

जोङका लागि सबैभन्दा ठूलो अनुकुलता भनेकै अजाक्सको स्कुलिङ हो, जसले गर्दा अरुको तुलनामा उनी चाँडै नै आफ्नो टिममा घुलमिल हुने अपेक्षा गरिएको छ ।

‘बार्सिलोनाका लागि फ्राङ्की एउटा नमूना खेलाडी हुन सक्छन् । उनको स्टाइल जाभी (हर्नान्डेज), (आन्द्रे) इनियस्टा र बुस्केट्ससँग मिल्छ । उनले राम्रो खेल्नेछन् र सहजताका साथ खेल्नेछन्,’ जुआन एन्टोनियो पिजीले भने ।

तर, केही संशय बाँकी छ । खासगरी टिममा उनले कुन स्थानबाट खेल्नेछन् भन्ने विषय पेचिलो छ ।

बार्सिलोनाका पूर्वखेलाडी कार्लोस रेक्साच भन्छन्, ‘म भए उनलाई बुस्केटको अगाडि खेलाउँथे । यो उमेरका खेलाडीलाई पछाडि राख्नु अति सहज हुन्छ र उनी राम्रो सट हान्न सक्छन् । बार्सिलोनाको टिममा लामो दुरीमा सट हान्ने खेलाडी चाहिएको पनि छ ।’

तर, उनको भर्सटाइल क्षमतालाई आवश्यकताअनुसार क्लबले विभिन्न स्थानमा प्रयोग गर्नुपर्ने कतिपयको सुझाव छ ।

मार्काको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment