Comments Add Comment

अघिल्लो वर्षको तुलनामा २४४ प्रतिशतसम्म महँगियो तरकारी

७ साउन, काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा नेपालमै उत्पादित ठूलो जातको गोलभे‌ंडाको प्रतिकिलो थोक मूल्य अघिल्लो वर्षको साउन ६ गते ३८ रुपैयाँ थियो । यस्तै सानो गोलभे‌ंडाको मूल्य पनि प्रतिकिलो १८ रुपैयाँ थियो । ठीक एक वर्षपछि कालीमाटी तरकारी बजारमा ठूलो जातको गोलभेंडाको प्रतिकिलो ९८ रुपैयाँ थोक मूल्य तोकिएको छ भने सानो गोलभेंडाको मूल्य ६२ रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा सानो गोलभेंडामा प्रतिकिलो मूल्य २४४.४४ प्रतिशतले बढेको छ भने ठूलो गोलभेंडाको मूल्य १५७.८९ प्रतिशतले उकालो लागेको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिने ५८ जातका तरकारी तथा फलफूलमध्ये अघिल्लो वर्षको तुलनामा ४३ प्रकारका तरकारी तथा फलफूलको मूल्य बढेको छ भने १३ थरीको मूल्य घटेको देखिन्छ । चिचिण्डो र चुकुन्दरको मूल्य भने उही छ ।

अघिल्लो वर्षको तुलनामा घिउसिमी लोकल १०० प्रतिशत, घिरौला १०५.२६ प्रतिशत र चिप्ले भिण्डी १२७.९१ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

यसैगरी, सुकेको प्याज, स्थानीय काउली, सेतो मुला, भन्टा लाम्चो, तनेबोडी, भटमास कोसा, तीते करेला, लौका, सबै प्रकारका साग, कांक्रो, आँप, अनारलगायतका धेरै प्रकारका तरकारी तथा फलफूलको मूल्य यस वर्ष आकासिएको छ ।

खुर्सानी, नास्पाती, आलु, मूला तथा बन्दालगायतका तरकारी तथा फलफूल भने यस वर्ष सस्तिएको छ ।

एक सटर वरपर नै ४० रुपैयाँ फरक

वाणिज्य विभागले एक साता कालीमाटी तरकारी बजारमा गरेको बजार अनुगमनका क्रममा एक सटर वरबाट किनिएको चिप्लिभिंण्डी पल्लो खुद्रा पसलमा प्रतिकिलो ४० रुपैयाँ नाफा राखेर बिक्री गरिएको पाइएको थियो । अनुगमनकर्तामध्येका एक उपभोक्ता हित संरक्षण अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाका अनुसार थोक बजारमा प्रतिकिलो ९० रुपैयाँमा किनिएको भि‌ण्डी खुद्रामा १३० रुपैयाँमा बिक्री गरिएको पाइएको थियो ।

कालीमाटीमै यस्तो हालत छ भने कालीमाटीबाट अन्यत्र लगिएका तरकारीको के अवस्था होला ? वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार खुद्रामा बिक्री वितरण हुने तरकारी तथा फलफूलको कुनै हिसाब–किताब नै छैन ।

किन बढ्यो मूल्य ?

कालीमाटी तरकारी तथा फलफूल विकास समितिको दाबी अनुसार पछिल्लो समय वर्षाका कारण तरकारीको उत्पादन प्रभावित भएको छ । सामान्य अवस्थामा कालीमाटीमा ८ देखि ९ सय टनसम्म तरकारी भित्रिने गरेकोमा साउन पहिलो सातादेखि ६ सय टन हाराहारी तरकारी मात्रै बजारमा भित्रिएको समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउँछन् ।

साउन १ गते कालिमाटीमा ठूलो मात्रामा भरतीय आलु र प्याज भित्रिँदा ९०८ टन अन्य तरकारी भित्रिएको थियो । त्यसयता साउन २ गते ५१४ टन, ३ गते ६०३ टन, ४ गते ५०४ टन, ५ गते ५८३ टन र ६ गते चार बजेसम्म ५१५ टन तरकारी भित्रिएको छ । वर्षाका कारण तरकारी उत्पादन प्रभावित भएको, ग्रामीण क्षेत्रका सडक बिग्रिएको तथा किसानले नै उच्च मूल्यमा तरकारी बिक्री गर्न थालेपछि मूल्य बढेको गुनासो व्यवसायीले गर्ने गरेको उपनिर्देशक श्रेष्ठले बताए ।

कालीमाटी तरकारी तथा फलफूल व्यवसायीका नेता भरतप्रसाद खतिवडा तरकारीको मूल्यसम्बन्धमा मिडियाले मिथ्या हल्ला फिजाएको अरोप लगाउँछन् । उत्पादन बढे मूल्य घट्ने र उत्पादन घटे मूल्य बढ्ने स्वभाविक नियम भएकाले यसलाई खासै उचाल्न नपर्ने उनले बताए ।

‘बजार मूल्यअनुसार किसानले राम्रो मूल्य पाई राखेका कारण धेरै हल्ला गर्नु जरुरी छैन,’ खतिवडाले भने ।

कालीमाटी तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ तरकारी किनेर स्टकमा नराख्न उपभोक्तालाई आग्रह गर्छन् । अभाव छ भनेर धेरै तरकारी किनेर राख्ने चलनले गर्दा बजारमा अभाव हुने र मूल्य झनै बढ्ने उनी बताउँछन् । मूल्य आकासिएको तरकारी खान छोडेर बरु कम मूल्य पर्ने भिजाएको गेडा गुडी, गुन्द्रुकजस्ता तरकारी प्रयोग गर्न सुझाव दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment