Comments Add Comment

बोर्ड अध्यक्ष भन्छन्–‘बालाजुको जग्गाको खोजी भैरहेको छ, रिजल्ट आएपछि बोल्छु’

नेपाल सरकारले ल्याएको नयाँ बजेटमा चलचित्र क्षेत्रका लागि अत्याधुनिक इन्डोर स्टुडियो काठमाण्डौमै बनाउने योजना छ । इन्डोर स्टुडियो निर्माणको कुरा आएसँगै बालाजुमा रहेको एनएफडीसीको जग्गाको खोजी भैरहेको छ ।
सरकारले शाही चलचित्र संस्थानलाई चलचित्रको छायांकन स्थल बनाउनको लागि २७ रोपनी हाराहारीमा जग्गा उपलब्ध गराएको थियो । पछि शाही चलचित्र संस्थानले उक्त जग्गा एनएफडीसीलाई हस्तान्तरण गर्यो । अहिले उक्त जग्गा ६.७५ रोपनीमा खुम्चिएको छ ।

संचार तथा सुचाना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डको वार्षिक उत्सव कार्यक्रममा इन्डोर स्टुडियो बनाउनको लागि बालाजुको जग्गाको खोजी गर्नुपर्ने बताएका थिए । उनले उक्त जग्गामा मनोमानी गर्ने कसैलाई नछोड्ने समेत बताएका थिए ।

त्यस्तै चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईले पनि उक्त जग्गा कुनै पनि हालतमा खोजी गर्ने बोलेका थिए । उनले भनेका थिए–‘हरेक पटक मन्त्रीज्युलाई भेट्दा बालाजुको जग्गा खोई भन्नुहुन्छ । अब पनि मैले खोजी गरिन भने मलाई उहाँले पिट्नुहुन्छ होला ।’

अध्यक्ष भट्टराइले बोलेको धेरै समय भइसकेको छ । बालाजुको जग्गा खोजीका लागि कुनै पहल देखिएको छैन । तर, उनी खोजी भइरहेको र सम्बन्धित सबैलाई पत्रचार गरिसकेको बताउँछन् । उनले भने–‘म काम नगरी गफ गर्दिनँ । पहिला काम गर्छु अनि रिजल्ट आएपछि बोल्छु ।’

कतिपयले उक्त जग्गा खोजीमा अध्यक्षले नै आनाकानी गरेको आरोप लगाएका छन् । त्यो आरोप सबै गलत भएको अध्यक्ष भट्टराई बताउँछन् । ‘मैले काम गरिरहेको छु । त्यो जग्गा खोज्नुपर्ने मुख्य चुनौती नै मलाई छ’, उनले भने, ‘आज यस्तो गरे, भोली यो गर्छु भनेर देखाउन जरुरी छैन । त्यो आरोप जसले लगायो त्यसैलाई प्रश्न गर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment