Comments Add Comment

गृहमन्त्री भन्छन्– विप्लव समूहबाट गणतन्त्र र संघीयतामा चुनौती

७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गणतन्त्र र संघीयताको रक्षामा विप्लव समूहबाट चुनौती थपिएको बताएका छन् । उनले देशमा शान्ति सुरक्षालाई अझ सुदृढ बनाउनुपर्ने महसुस गरिएको उनले बताए ।

गृहमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले भने, ‘संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, त्यसलाई सदृढ गर्ने, त्यो हाम्रो राजनीतिक उपलब्धीसँग जोडिएको छ । यसमा अहिले चुनौती निश्चित रुपमा विप्लव समूहबाट भएको छ । राजनीतिक उपलब्धीको रक्षा गर्ने चुनौती र जिम्मेवारी हाम्रो अगाडि छ ।’

एक वर्ष अगाडिको अवस्था र पछाडिको अवस्थालाई हेर्दा राजनीतिक उपलब्धीको रक्षा गर्न सरकार धेरै हदसम्म सफल भएको दाबी उनले गरे । देशमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्न गृह मन्त्रालय सफल भएको र कतिपय अन्तर्राष्ट्रिय संघसंस्थाको निष्कर्ष पनि त्यही रहेको उनले बताए ।

सुन तस्करीको सञ्जाल तोडेको, युवाहरु विदेश जाने क्रम घटेको, अध्यागमनमा सुधार गरेको, सीमाबाट हुने तस्करी रोकिएको, तस्करी घटेको कुरालाई राजश्व वृद्धिले पुष्टि गरेको भन्दै उनले गृह मन्त्रालय सफल भएको सुनाए ।

तर, पूर्णरुपमा सुशासन, शान्ति सुरक्षा र स्थायित्व कायम गर्न भने बाँकी नै रहेको उनले बताए । ‘देशमा शान्ति सुरक्षा र सुशासन कायम गर्न मूलभूतरुपमा गृह मन्त्रालय सफल भएको छ । कतिपय अन्तर्राष्टिय संघसंस्थाको प्रतिवेदनको निष्कर्ष पनि त्यही छ,’ गृहमन्त्री थापाले भने, ‘यसको अर्थ हामी पूर्णरुपमा सन्तुष्ट छौं र हामीले पूर्णरुपमा सुशासन, शान्ति सुरक्षा र स्थायित्व कायम गर्यौं भन्नेमा हामी सहमत छैनौं र त्यो हाम्रो भनाइ होइन ।’

राजनीतिक स्थायित्व र शान्ति सुव्यवस्थालाई अझै पनि सदृढ बनाउनुपर्ने र यसलाई पूर्णतातिर पुर्‍याउनुपर्ने आवश्यकता आफूले महसुस गरेको गृहमन्त्री थापाले बताए । आगामी कार्ययोजना र कार्यदिशा त्यसैमा केन्द्रित हुने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस निर्मला प्रकरण पहिलो होइन, भोलि पनि रहन्छ : गृहमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment