Comments Add Comment

मुलुकलाई साँस्कृतिक अतिक्रमणबाट जोगाउन क्लिन फिड आवश्यक : झलनाथ खनाल

७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले मुलुकलाई साँस्कृतिक अतिक्रमणबाट जोगाउन विज्ञापनमा क्लिन फिड नीति आवश्यक रहेको बताएका छन् ।

मंगलबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले मुलुकलाई साँस्कृतिक अतिक्रमणबाट स्वतन्त्र बनाउन विज्ञापन नियमनसम्बन्धी विधेयकमा क्लिनफिड आवश्यक भएको बताए ।

‘देश राजनीतिक रुपले स्वतन्त्र छ । तर आर्थिक रुपले धेरै नै पराधीन छ । साँस्कृतिक अतिक्रमणको अवस्थाबाट पनि स्वतन्त्र छैन’ उनले भने ‘साँस्कृतिक अतिक्रअमणबाट स्वतन्त्र हुनका लागि विज्ञापन नियमनसम्बन्धी विधेयक आवश्यक छ ।’

मुलुकको सार्वभौमसत्ताका लागि पनि विज्ञापनसम्बन्धी विधेयकमा क्लिनफिडको व्यवस्था आवश्यक पर्ने उनको भनाइ छ । मंगलबार समितिले क्लिनफिडका विषयमा विज्ञहरुसँग छलफल गरेको छ । समिति बैठकमा विज्ञको रुपमा आएका लक्ष्मण हुमागाईंले क्लिन फिड लागू नभए नेपालमाथि अहिले भइरहेको साँस्कृतिक अतिक्रमणले निरन्तरता पाउने बताएका थिए ।

‘हामी भारतीय सफाइ अभियानका विज्ञापन हेरिरहेका छौं । भारतीय संस्कृति हेरिरहेका छौं । नेपालमा प्रशारण हुने टेलिभिजनले नेपाली सफाइ अभियानबारे विज्ञापन बज्नुपर्छ त्यसका लागि क्लिनफिड आवश्यक छ’ उनले भने ।

क्लिन फिड लागू नहुने हो भने नेपालका प्रधानमन्त्री को हो भन्दा अर्को देशको प्रधानमन्त्रीको नाम भन्ने अवस्था आउन सक्ने हुमागाईंले बताए ।

छलफलका क्रममा विज्ञहरुले विज्ञापन नियमनसम्बन्धी विधेयकमा रहेका कतिपय प्रावधानलाई अन्य कानुनले पनि समेटेको उल्लेख गर्दै त्यसलाई दोहोर्‍याउन आवश्यक नरहेको बताएका थिए ।

नेता खनालले पुराना दस्तावेज, सञ्चार नीति र राष्ट्रिय प्रसारण ऐन पनि अध्ययन गर्ने प्रस्ताव गरेका छन् । ‘यी दस्तावेजहरु पनि अध्ययन गरौं । त्यसका लागि सभापति र समिति सचिवालयले आवश्यक तयारी गर्नेछ र यो विधेयकलाई थप परिस्कृत गरौं’ उनले भने ।

नेपालमा हाल विज्ञापनको बजार औपचारिक/अनौपचारिक गरी करिब ३० अर्बको रहेको उल्लेख गर्दै उनले यसलाई व्यवस्थित गर्न पनि विज्ञापन नियमन सम्बन्धी विधेयक आवश्यक रहेको दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment