Comments Add Comment

ठूला होटलको बाढी, ४० प्रतिशत कोठा खाली

यस्तो छ नेपालमा होटल व्यवसायको नालीबेली

८ साउन, काठमाडौं । पर्यटक बढ्ने आशामा नेपालमा ठूलो लगानीका तारे होटलहरु खोल्ने क्रम बढिरहेको छ । तर, अहिले भएकै होटलहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१८ मा होटेलको अकुपेन्सी औसत ६५ प्रतिशत हाराहारी थियो । सन् २०१९ को पहिलो ६ महिनासम्म औसत ६० प्रतिशतभन्दा माथि होटेल अकुपेन्सी रहेको पर्यटक विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । यसको अर्थ होटलका ४० प्रतिशत कोठा खाली छन् ।

विभागका अनुसार पछिल्लो ६ महिनामा नेपालमा चारवटा पाँचतारे होटेल थपिएका छन् । फागुन २०७५ मा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा पाँचतारे वर्गीकरणमा परेको थियो । सोही महिना नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियरले समेत पाँचतारे होटेलको मान्यता पायो ।

काठमाडौंको नक्सालमा हालै सञ्चालनमा आएको काठमाडौं मेरियट होटेलले २ असारमा पाँचतारे प्रमाणपत्र प्राप्त गर्‍यो । १६ असारमा होटेल अलफ्ट काठमाडौंले पाँचतारे मान्यता पाएसँगै ६ महिनाको अवधिमा ४ नयाँ होटेल पाँचतारे वर्गिकरणमा परेका हुन् ।

पाँचतारेसँगै अन्य वर्गिकरणका तारे होटेलमा पनि उत्तिकै लगानी बढ्दो छ । पर्यटन मन्त्रालयको तथ्यांक अनुसार एक वर्षको अवधिमा पर्यटक स्तरीयभन्दा माथि दुई दर्जन नयाँ होटेल निर्माण भई संचालनमा आएका छन् । ती होटेलका कारण १ हजार २३ बेड संख्या वृद्धि भएको छ ।

सरकारको पछिल्लो तथ्यांक अनुसार अहिले देशभर १ सय ३६ तारे होटेल छन् । १ हजार १ सय २५ वटा पर्यटकीय स्तरका होटेल छन् । तारे र पर्यटकीय होटेलमा गरी ४१ हजार बेड पर्यटकको सेवाका लागि तयारी अवस्थामा रहेका छन् ।

आइरहेकै पाहुनाले होटेलको बिजनेश पुग्छ ?

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्‍यो । त्यस अगाडी नै भैरहवा विमानस्थल निर्माण हुने, मुलुकभित्र भौतिक पूर्वाधारका धेरै काम सम्पन्न हुने र देशमा विकास र निर्माणको माहौल सिर्जना हुने अपेक्षा थियो । सोहीअनुसार व्यवसायीले होटेल उद्योगमा लगानी ल्याउन थाले ।

आजभन्दा ४/५ वर्ष अगाडी निर्माण प्रारम्भ भएका अधिकांश होटेल अब सम्पन्न भएर सञ्चालनको तयारीमा छन् । लक्ष्यअनुसार पाहुना नआउने भने हो होटेलको ठूलो लगानी धरापमा पर्नसक्ने चेतावनी व्यवसायीको छ ।

‘सम्भावना देखेरै होटेलमा लगानी आएको हो,’ होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन्, ‘तर, पर्यटक बढ्नुपर्छ ।’

व्यवसायीको चिन्ता खर्चालु पर्यटक नआएकोमा पनि उत्तिकै छ । स्तरीय होटेलका कोठा थपिएको थपिएै हुने र पर्यटक होमस्टे तथा साना होटेलमा मात्र बस्ने हो भने ठूला होटेलको अर्बौ लगानी धरापमा पर्न सक्छ ।

विभागका महानिर्देशक घिमिरे भने व्यवसायीले निरास हुनुपर्ने अवस्था नरहेको बताउँछन् । ‘नेपालमा सबैभन्दा पहिले पाँचतारे होटेल शुरु गर्ने व्यवसायीले नै चेन ब्राण्ड खोज्न थालिसकेका छन्,’ उनले भने, ‘यो निकै सकारात्मक अवस्था हो ।’

उनले नेपाल आइरहेका पर्यटकको संख्या र होटेलमा बढिरहेको लगानीको दर असन्तुलित नभएको दाबी गरे ।

कति छन् देशभर होटेल ?
पाँचतारे (१५)
चारतारे (८ )
तीनतारे (३७)
दुईतारे (४३)
एकतारे (३३)
पर्यटकस्तर (११२५)
होमस्टे (२५२)

कुन वर्ष कति प्रतिशत अकुपेन्सी ?

सन् २०१४ : ६१
२०१५ : ३०/३५
सन् २०१६ : ६०/६५
सन् २०१७ : ६०/६५
सन् २०१८ : ६५
सन् २०१९ (६ महिना) : ६० प्रतिशत (अनुमानित)

कुन वर्ष कति पर्यटक आए ?

सन् २०१४ : ७,९०,११८
सन् २०१५ : ५,३८,९७०
सन् २०१६ : ७,५३,३००
सन् २०१७ : ९,४०,२२८
सन् २०१८ : ११,७३,०७२
त्यसो त आतिथ्य सेवामा ६० प्रतिशतभन्दा माथि कोठा बिक्रि भएमा राम्रो अवस्था मानिन्छ । अकुपेन्सी ७० प्रतिशत कट्दा उत्कृष्ट मान्ने गरिन्छ ।

अकुपेन्सी ५० प्रतिशत हाराहारी मात्र रह्यो भने सर्भाइभ (सञ्चालनमा मात्र सीमित) रहेको अवस्थामा मान्ने व्यवसायीहरु बताउँछन् । तर, थप तारे होटलहरु सञ्चालनमा आइसकेपछि अहिलेको अकुपेन्सी कायम राख्न चुनौती छ ।

सन् २०१७ मा ९ लाख ४० हजार २२८ पर्यटक नेपाल आएकोमा सन् २०१८ मा त्यो बढेर ११ लाख ७३ हजार ७२ जना आए । सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment