Comments Add Comment

दूरसञ्चार प्राधिकरणले भन्यो- विदेशबाट आउने अपरिचितको फोन नउठाउनू

९ साउन, काठमाडौं । अपरिचित विदेशका नम्बरबाट तपाईंका ल्यान्डलाइन टेलिफोन या मोबाइलमा फोन तथा मिसकल्ड आउने गरेका छन् ? यदि छन् भने यस्ता फोनहरू हत्तपत्त नउठाउनुहोला । यसले तपाईंलाई नोक्सान पुर्‍याउन सक्नेछ ।

विदेशका अपरिचित नम्बरहरुबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि दूरसञ्चार कम्पनीहरूको नियामककारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता कलहरू नउठाउन र कलब्याक नगर्न सबैमा आग्रह गरेको छ ।

पछिल्लो समय टेलिफोन र मोबाइल नम्बरमा विदेशका अपरिचित नम्बरबाट बारम्बार फोन तथा मिस्डकल आउने समस्या देखिएको छ । यस्तो फोन आउँदा कतिपय मोबाइल प्रयोगकर्ताले रातो देखिने गरेका र ‘स्काम कल’ भनेर आउने गरेको बताएका छन् । यसले प्रयोगकर्तालाई त्रसितसमेत बनाएको छ ।

प्राधिकरणका अनुसार, यसरी विदेशबाट आउने कललाई प्राविधिक भाषामा Wangiri Scam (One Ring Scam)  भनिन्छ । विशेष गरी यस्तो कल प्रयोगकर्तालाई ठग्नका लागि गरिन्छ

प्राधिकरणले यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित दूरसञ्चार सेवाप्रदायकहरूलाई यसको रोकथामका लागि निर्देशन दिएको जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका उप–महानिर्देशक सन्दीप अधिकारी  नेपालका टेलिफोन तथा मोबाइल प्रयोगकर्ताकोमा विदेशका अपरिचितकाे नम्बरबाट टेलिफोन तथा मिस्डकल आउन थालेकाे बताउँछन् ।  उनका अनुसार, प्राधिकरणले समस्या समाधानका लागि पहल थालेको छ।

प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यस्ता कलको रेस्पोन्स नगरी सोझै प्राधिकरणमा खबर गर्न सबैमा अपिलसमेत गरेको छ ।

प्राधिकरणका अनुसार, प्राधिकरणमा प्रत्यक्ष सम्पर्क गरेर या फोन तथा इमेलमार्फत प्रयोगकर्ताले आफ्ना गुनासा राख्न सक्नेछन् ।

समस्या के हो ?

विदेशका अपरिचित नम्बरबाट विगतमा पनि यसैगरी फोन तथा मिस्डकल आउने गरेका थिए । यस्तो समस्याले प्रयोगकर्ता ठगिएपछि प्राधिकरणको पहलमा समाधान गरिएको थियो ।

प्राधिकरणका उपनिर्देशक अधिकारीका अनुसार, विगतमा देखिएको यस्तो समस्या अहिले फेरि निम्तिएको छ ।

प्राधिकरणका अनुसार, यसरी विदेशबाट आउने कललाई प्राविधिक भाषामा Wangiri Scam (One Ring Scam)  भनिन्छ । विशेष गरी यस्तो कल प्रयोगकर्तालाई ठग्नका लागि गरिन्छ ।

यसअघि देखिएको यस्ता कलबाट प्रयोगकर्ता ठगिएका थिए । प्राधिकरणका उपनिर्देशक अधिकारीका अनुसार, आएका फोन रिसिभ गर्ने तथा कलब्याक गर्नेका ब्यालेन्स घट्ने समस्या विगतमा देखिएको थियो ।

‘विगतमा जस्तै फेरि पनि अपरिचितबाट फोन तथा मिस्डकल आउने समस्या दोहोरिएको छ’, अधिकारीले अनलाइनखबरसँग भने, ‘तर, यसपटक आएका कलबाट के-कस्तो नोक्सानी प्रयोगकर्तामा पुगेको छ भनेर पहिचान हुनै बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment