Comments Add Comment

हिरासतको ग्रिल काट्न ब्लेड दिनेविरुद्ध मुद्दा, तिम्सिना भेटिएनन्

९ साउन, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको हिरासतबाट फरार तीन थुनुवामध्ये एक जना अझै भेटिएका छैनन् ।

यसअघि २३ असारमा हिरासत कक्षभित्र रहेको शौचालयको ग्रिल काटेर चोरी र डकैती मुद्दाका रुपेश भनिने रुद्रलाल श्रेष्ठ, शम्शेर माझी र लागूऔषध मुद्दाका रविकुमार तिम्सिना फरार भएका थिए ।

दुई दिनपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले श्रेष्ठ र माझीलाई पक्राउ गरेको थियो । तर, लागूऔषध मुद्दाका तिम्सिना अझै फरार छन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी नारायण चिमोरिया भन्छन्, ‘दुई जना पक्राउ परिसकेका छन् । अर्का व्यक्तिको पनि खोजी भइरहेको छ ।’

चिमोरियाका अनुसार हिरासतबाट भाग्नेविरुद्ध कारागार ऐनले थप सजायको व्यवस्था गरेको छ । ‘ऐनमा जेलरले नै थप सजायको फैसला गर्ने भनिएको छ’, उनले अनलाइनखबरसँग सुनाए, ‘त्यसैले कारागारबाटै विस्तृत अनुसन्धान भइरहेको छ ।’

म्याद थप्न जाँदा हतियार !

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार ललितपुर जिल्ला अदालतमा म्याद थप्नका लागि लाँदा श्रेष्ठले हतियार प्राप्त गरेका थिए ।
‘चिनजानकै दुई जना व्यक्तिले हतियार दिन सहयोग गरेको देखिन्छ’, एक अनुसन्धान अधिकृतले भने, ‘पक्राउ परेका व्यक्तिको बयानबाट अदालतमा म्याद थप्न जाँदा ब्लेड ल्याइएको भेटिएको छ ।’

अदालतमा ब्लेड उपलब्ध गराएको आरोपमा प्रहरीले २५ वर्षीय पासाङ शेर्पा र २६ वर्षीय सुनिल मगरलाई पक्राउ गरेको छ । शेर्पा बैंकिङ कसूर सम्बन्धी मुद्दाका पुरानै आरोपित हुन् ।

म्याद थप्न जाँदा भेटिएका उनीहरुले शौचालयमा ‘ह्याक्सो ब्लेड’ राखिदिएका थिए । त्यहीँबाट शरीरमा लुकाएर श्रेष्ठले हिरासतसम्म ब्लेड पुर्‍याएको अनुसन्धान अधिकृत बताउँछन् ।

यो पनि पढ्नुहोस भैंसेपाटीबाट थुनुवा भाग्नुमा प्रहरीकै लापरवाही भएको प्रारम्भिक निश्कर्ष

दुई जनाविरुद्ध मुलुकी अपराध संहिताको सार्वजनिक न्यायविरुद्धको कसूरमा भएको व्यवस्था अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । कानुनतः पक्राउ परेका व्यक्तिलाई भगाउन सहयोग गरेको प्रमाणित भए तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।

यो कार्यमा सरकारी कर्मचारीले सहयोग गरेको भेटिए दोब्बर सजाय हुनसक्ने व्यवस्था छ ।

प्रहरीको लापरबाही

हिरासतबाट थुनुवा फरार भएपछि प्रहरीले ड्यूटीमा खटिएका तीन प्रहरीलाई निलम्बन गरिसकेको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले ड्यूटी अफिसर असई, हिरासतका कमाण्डर हवल्दार र राति ड्यूटीमा खटिएका जवानलाई निलम्बन गरिएको बताएका थिए ।

घटनाको स्थलगत अध्ययन र अनुसन्धानका लागि रानीपोखरीबाट एसएसपी किरण बज्राचार्यलाई पठाइएको थियो भने ललितपुर प्रहरी परिसर, जावलाखेलले एसपी दुर्गा सिंहको नेतृत्वमा छानविन समिति नै गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment