Comments Add Comment

एक वर्षबीचमै बने ३० नयाँ सवस्टेसन, २९ वटाको क्षमता विस्तार

थप साढे ११ सय मेगावट विजुली आपूर्ति गर्न सकिने

१० साउन, काठमाडौं । नुवाकोटको पहिरेबेसीमा बनिरहेको त्रिशुली थ्री-बी हब सवस्टेसनको निर्माण स्थलमा गत जेठ २ गते कुलमान घिसिङ काममा अवरोध गर्नेहरुसँग जंगिए । केहीले कुलमानको यो शैलीको आलोचना गरे भने कतिले प्रशंसा । तर, प्राधिकरण नेतृत्वले आफैं फिल्डमा पुगेर यसैगरी विवाद समाधान तथा सहजीकरण गरिदिँदा आर्थिक वर्ष २०७५/७६मा मात्रै ३० वटा नयाँ सवस्टेसन निर्माण सकिएका छन् । नेपालको इतिहासमा एकै आर्थिक वर्षमा यति धेरै क्षमताको सवस्टेसन एक वर्षमै निर्माण सकिएको पहिलोपटक भएको प्राधिकरण बताउँछ ।

एक वर्षको बीचमा प्राधिकरणले ७०७.५ एमभीए क्षमताको सवस्टेसन निर्माण गरेको छ । यसअनुसार नयाँ सबस्टेशनबाट मात्रै ७०७ मेगावाट बिजुली आपूर्ति गर्न सकिन्छ । यो वर्ष २२० केभी क्षमता (३३० एमभीए)को ढल्केबर सवस्टेसन चार्ज हुँदा १३२ केभीका ८ वटा सवस्टेसन तयार भए । जसको क्षमता २५९ एमभीए छ । त्यसैगरी यो वर्ष ३३ केभीका २१ वटा सवस्टेन बने, जसको कुल क्षमता १२८ एमभीए छ ।

यसै वर्ष प्राधिकरणले ४४४.३५ एमभीए क्षमताका २९ वटा सवस्टेसनको क्षमता विस्तार गर्‍यो, जसमा १३२ केभीका ३ वटा, ६६ केभीका ३३ वटा र ३३ केभीका २३ वटा सवस्टेसन छन् । यो वर्ष १२ वर्षदेखि रुग्ण भएर बसेका सबस्टेशनहरुले पनि पूर्णता पाए । यो वर्ष थप साढे ११ सय मेगावट विजुली आपूर्ति गर्न सकिने गरी सबस्टेशनको क्षमता थप भएको छ । जुन, अहिले नेपालमा पिक समयमा माग हुने बराबरको बिजुली हो ।

चालु आर्थिक वर्षमा झापामा घैलाडुब्बा, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शित्तलपाटी, जाजरकोटको कुदु, प्यूठानको दम्ती, कैलालीको हसुलिया लगायतका सवस्टेसन सञ्चालनमा आए ।

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सवस्टेसन निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सवस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सवस्टेसन बनाउनेलगायतका काम गरिरहेको उनको भनाइ छ ।

लोडसेडिङ अन्त्य भएपनि हाल विद्युत आपूर्ति र वितरणको गुणस्तर कमजोर छ । त्यसैलाई सुधार्ने गरी हाल प्राधिकरणले देशभर सवस्टेसनहरु थप्ने र क्षमता विस्तार गर्ने काम तीव्र पारेको घिसिङ बताउँछन् ।

विशेषगरी विजुली झ्याप्प-झ्याप्प गएर पटक-पटक टि्रपिङ हुने समस्या समाधानका लागि प्राधिकरणले देशभर सवस्टेसन निर्माण र स्तरोन्नति गर्ने काम गरिरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ विजुली आपूर्तिलाई विश्वसनीय बनाउन र विद्युतीय दुर्घटनाको जोखिम घटाउन सवस्टेसनको निर्माणलाई तीव्रता दिइएको बताउँछन् ।

देशभर नयाँ सवस्टेसन 

प्राधिकरणले गत वर्ष नै मुजफ्फरपुर-ढल्केबर प्रसारणलाइन क्षमता विस्तार अन्तरगत नेपालतर्फको नयाँ सवस्टेसनको निर्माण सकायो । २ सय २० केभी सवस्टेसनको निर्माणमा संलग्न सेन्ट्रल चाइना पावर ग्रीड -सीसीपीजी) ले ढिलाइ गरेपछि गत असोजमा ३० करोड जरिवाना गरेर ठेक्का तोडिएको थियो ।

विभिन्न अन्योलहरु चिर्दै भारतीय टेलमोस इलेक्ट्रोनिक्सले यो महत्वपूर्ण सवस्टेसन निर्माण सकायो । हाल हिउँदयाममा यो सवस्टेसनमार्फत भारतबाट २ सय मेगावाटसम्म विजुली आयात गर्न सकिएको छ । ०७२ सालमा सम्पन्न गर्नुपर्ने सवस्टेसन ठेकेदार कम्पनी र त्यतिबेला प्राधिकरणको उच्च नेतृत्वको लापरवाहीका कारण तोकिएको समयमा पूरा हुन सकेको थिएन ।

यो वर्ष विजुली आयात लक्षित र आयोजना केन्दि्रत सवस्टेसन मात्रै बनेनन् । जनताको घरमा जाने विजुलीको वितरण व्यवस्थापन गर्न थुप्रै सवस्टेसनहरु पनि थप भए ।

दार्चुलामा सवस्टेसन तयार भएलगत्तै पहिलोपटक जिल्ला राष्ट्रिय प्रसारणमा जोडियो । त्यसअघि सिंगो दार्चुला भारतबाट आउने विजुलीमा निर्भर थियो ।

यस्तै डडेलधुराको स्याउलेमा १३२/३३ केभी सवस्टेसन यसै वर्षबाट चल्यो । ७ नम्बर प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउन यसले सघाएको छ ।

यो सवस्टेसन बनेपछि ७ नम्बर प्रदेशका पहाडी जिल्लामा निर्माण हुने जलविद्युत आयोजनाका विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार पनि तयार भएको छ ।

दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउलेबाटै डडेल्धुरा, दार्चुला, डोटी, बैतडी र अछाममा बितरण सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले यसअघि चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्‍याई फेरि ३३ केभीमार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको थियो । यसका कारण लामो प्रसारण प्रणालीले गर्दा भइरहेको प्राविधिक चुहावट रोकिएको प्राधिकरणको दाबी छ ।

प्राधिकरणले डडेलधुराबाट बैतडी हुँदै दार्चुलासम्म र डडेलधुराबाट दिपायल हुँदै अछामसम्म विद्युत आपूर्ति गर्दै आएको छ ।

गत वर्ष नै झापाको सुरुङ्गास्थित घैलाडुब्बा सवस्टेसन सञ्चालनमा आयो । यो सवस्टेसन घैलाडुब्बा, कुमारथोक, राजगढलगायतका स्थानमा विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको हो ।

नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको ३३/११ केभी घैलाडुब्बा सवस्टेसन सञ्चालनमा आएपछि लामो दुरी र ओभरलोडिङका कारणले पटक-पटक लाइन टि्रप हुने र लाइन हुँदा पनि कम भोल्टेजका कारण त्यस क्षेत्रमा बत्ती, पंखा, मोटरलगायतका विद्युतीय उपकरण नचल्ने समस्या समाधान भएको छ ।

यसै वर्षबाट रोल्पाको होलेरी सवस्टेसन सञ्चालनमा आएका छन् । सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा रोल्पाको रुन्टीगढी गाउँपालिकामा निर्माण भएको ३३/११ केभी होलेरी सवस्टेसनले पनि काम थालेको छ ।

प्राधिकरणले होलेरी सवस्टेसन निर्माणका लागि २०६४ को असारमा ठेक्का सम्झौता गरेको थियो । तर ठेकेदारको कमजोर कार्यसम्पादनका कारण सवस्टेसन निर्माण अलपत्र परेको थियो ।

आफ्नो गृह जिल्लाकै सवस्टेसन ठेक्का लगाएर अलपत्र पारेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले यसमा विशेष चासो दिँदै निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न प्राधिकरणलाई पटक-पटक निर्देशन दिएका थिए ।

सवस्टेसनबाट रोल्पाको पश्चिम दक्षिण भेगमा पर्ने रुन्टीगढी र त्रिवेणी गाउँपालिकाका करिब ५० हजार जनसंख्या लाभान्वित भएको प्राधिकरण नेपालगञ्ज क्षेत्रीय कार्यालयले जनाएको छ । अब त्यस क्षेत्रमा कसैले उद्योग स्थापना गर्न चाहेमा विद्युत आपूर्ति दिन सकिने अवस्था बनेको छ ।

कपिलवस्तुको महाराजगञ्ज सवस्टेसनले पनि गत वर्षबाट सेवा दिन थाल्यो । ३३/११ केभी  सवस्टेसनबाट विद्युत वितरण सुरु भएपछि उपभोक्ताले अविछिन्न रुपमा गुणस्तरीय विद्युत् सेवा उपभोग गर्न पाएका छन् ।

तनहुँको मार्कीचोकमा निर्माण भएको १३२/३३ केभी सवस्टेसन पनि यो वर्षको अर्को सम्पन्न भएको विद्युतीय पूर्वाधार हो । सवस्टेसन सञ्चालनमा आएसँगै गोरखामा रहेको भोल्टेज ड्रप, पटकपटक लाइन ट्रिप हुने, भोल्टेज नहुने लगायतका समस्यामा कमी अएको दावी प्राधिकरणको छ ।

यसअघि दमौली-डुम्रे-आँबुखैरेनी हुँदै ३३ केभी लाइनबाट गोरखामा विद्युत् आपूर्ति भइरहेको थियो, लामो दूरीबाट विद्युत आपूर्ति हुँदा धेरै समस्या थियो, हाल मार्कीचोक सवस्टेसनबाट आँबुखैरेनी हुँदै गोरखातर्फ विद्युत् जान्छ । जसबाट ३३ केभी लाइनको दुरी कम हुँदा प्रणालीको चुहावट चुहावट घटेको र भोल्टेज ड्रप तथा टि्रपिङमा सुधार आएको प्राधिकरण बताउँछ ।

मार्कीचोक सवस्टेसनबाट १३२ केभी लाइनलाई मार्फत प्रवाह हुने विद्युतलाई निर्माणाधीन मर्स्याङदी-मातातीर्थ २२० केभी प्रसारण लाइन आयोजनाको १३२/२२० केभी सवस्टेसनमार्फत २२० केभीमा स्टेप अप गरी काठमाडौंमा पनि विद्युत ल्याउन सकिन्छ ।

बर्दियाको राजापुर क्षेत्रको विद्युत आपूर्ति पनि हाल सुधारिएको छ, राजापुरमा पनि केही महिनाअघि मात्रै सवस्टेसन सञ्चालनमा आएको थियो ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ९ करोड ३६ लाख रुपैयाँ लगानीमा निर्माण भएको ३३/११ किलोभोल्ट -केभी) राजापुर सवस्टेसनबाट करिब २० हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत् प्रयोग गर्न पाएको प्राकिरणको तथ्यांकमा उल्लेख छ ।

पहिले राजापुर क्षेत्रमा टिकापुरबाट ११ केभी लाइनबाट विद्युत् आपूर्ति गरिएको थियो । लामो दूरीबाट लाइन लगिएकाले भोल्टेज ड्रप हुने, पटकपटक लाइन टि्रप हुने लगायतका समस्या थिए । हाल टिकापुरबाट ३३ केभीबाट राजापुर सवस्टेसन विद्युत जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार भएको प्राधिकरणको नेपालगञ्ज क्षेत्रीय कार्यालयले जनाएको छ ।

सप्तरीको विद्युत् आपूर्तिलाई नयाँ १३२/३३ केभी सब स्टेसनले सुधार गरेको छ । ३६ करोड रुपैयाँ लगानीमा गत वर्ष नै निर्माण सम्पन्न भएको रुपनी सवस्टेसनले पूर्व-पश्चिम १३२ केभी राष्ट्रिय प्रसारण प्रणालीबाट प्रवाह भएको विद्युतलाई सप्तरीमा आपूर्ति गर्छ ।

यसअघि सिराहाको लहानबाट करिब २५ किलोमिटर ३३ केभी लाइनमार्फत विद्युत् ल्याएर रुपनीमा रहेको ३३/११ केभी सवस्टेसनबाट सम्तरी विभिन्न ठाउँमा आपूर्ति भइरहेको थियो, लामो दूरीका कारण आपूर्ति विश्वसनीय नभएपछि नयाँ सवस्टेसन सञ्चालनमा ल्याइएको हो । रुपनी सवस्टेसनबाट ५ वटा फिडरमार्फत सप्तरीका राजविराज, बलरदा, बरसाइनलगायतका क्षेत्रमा विद्युत आपूर्ति गरिएको छ ।

रोल्पाको कोइलाचौरमा निर्माण भएको ३३/११ केभी सवस्टेसनले गत वर्ष नै सेवा सुरुवात गर्‍यो । रोल्पा र सल्यानको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन यसले सघाएको छ ।

यो सवस्टेसनबाट तीन वटा ११ केभी फिडरमार्फत रोल्पाको त्रिवेणी गाउँपालिका, कोइलाचौर, जुँगार, सिम्पानी, पाखापानी, जिनाबांग, बुढागाउँ र सल्यानको उत्तरपूर्वी भेगमा विद्युत् आपूर्ति गरिन्छ ।

यसबाट करिब ३० हजार जनता लाभान्वित भएको प्राधिकरणको दावी छ । यसमा दाङको तुलसीपुरबाट करिब २० किलोमिटर ३३ केभी प्रसारण लाइनबाट कोइलाचौर सवस्टेसनमा विद्युत आपूर्ति गरिएको छ ।

बाँकेको धामपुरमा निर्माण भएको ३३/११ केभी सवस्टेसन पनि नयाँ हो । प्राधिकरणले २०६७को जेठबाट धामपुर सवस्टेसन निर्माण सुरु गरेको थियो । ठेक्कापट्टा लगाएर ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका समस्या झेल्दै १०/११ वर्षदेखि अलपत्र पारिएको रुग्ण सवस्टेसन निकै जोडबलपछि गत वर्ष नै सञ्चालनमा आएको हो ।

धामपुर सवस्टेसनबाट बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिका करिब ९५ हजार जनता गत वर्षबाट नै लभान्वित भए । सवस्टेसनबाट ११ केभीका ४ वटा फिडर निकाली दुई गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरिएको छ ।

सप्तरीको बोदेबर्साइन सवस्टेसनबाट पनि गत वर्षमै सेवा सुरु भएको छ । यो नबन्दासम्म सप्तरीको दक्षिण-पश्चिम क्षेत्रका उपभोक्ताले कम भोल्टेजका कारण पानी तान्ने मोटर चलाउन नपाउने, बत्ती नबल्ने लगायतका समस्या झेल्दै आएका थिए ।

आधुनिक बन्दै सवस्टेसन

निर्माण तीव्र पारेको प्राधिकरणले सव-स्टेसन र ट्रान्सर्फमरहरुमा पनि स्मार्ट प्रणाली जडान गर्न थालेको छ । प्राधिकरणको ऊर्जा दक्षता विभागले देशभरका सवस्टेसन र ठूला ट्रान्सर्फमरहरुमा स्मार्ट सिस्टम जडान गर्न लागेको हो ।

सवस्टेसनलाई अनलाइन सिस्टमबाटै कन्ट्रोल गर्न सकिने गरी प्रविधिको विकास गर्नेसहित विविध परीक्षण गर्ने काममा प्राधिकरण लागेको छ । पहिलो चरणमा काठमाडौंका ५ वटा साना सवस्टेसनमा यो प्रणालीको सफ्टवेयर जडान गरेर विभिन्न प्राविधिक परीक्षण चलिहेको विभागका सहायक प्रवन्धक सागरमणि ज्ञवालीले बताए । उनका अनुसार यो प्रणाली सफल भए देशभरका सवस्टेसनमा जडान गर्ने योजना छ ।

सवस्टेसनहरुको सिस्टमलाई विश्वसनीय बनाउन र त्यसका तथ्यांकहरुलाई अनलाइनबाटै हेर्ने तथा प्रणालीलाई सञ्चालन गर्नेसम्मको कामको लागि यो प्रविधि उपयोग गरिने छ ।

एक अध्ययनअनुसार देशमा आवश्यक प्रसारणलाइन तथा सवस्टेसन निर्माणको लागि झन्डै ७ खर्ब बराबर रकम आवश्यक छ । राष्ट्रिय प्रसारण गि्रड कम्पनीले तयार पारेको प्रसारणलाइनको गुरुयोजनामा आगामी २० वर्षमा प्रसारणलाइन निर्माणका लागि ७ खर्ब बराबरको रकम आवश्यक रहेको उल्लेख छ । गुरुयोजनाका अनुसार २० वर्षमा ट्रान्समिसन लाइनमा मात्रै ३ खर्ब बराबरको लगानी आवश्यक देखिन्छ । सवस्टेसनमा भने २ खर्ब २६ अर्ब बराबरको रकम आवश्यक छ ।

आगामी २० वर्षमा १ सय ३२ केभीको प्रसारणलाइन २ हजार ५ सय १५ किलोमिटर निर्माण गर्नुपर्ने देखिन्छ । त्यसैगरी २ सय २० केभी प्रसारणलाइन १ हजार १ सय ६० किलोमिटर निर्माण गर्नुपर्ने र ४ सय केभी प्रसारणलाइन भने ३ हजार १ सय ९२ किलोमिटर निर्माण गर्नुपर्ने देखिन्छ ।

सरकार अहिले १० वर्षमा १५ हजार मेगावाट बराबरको जलविद्युत आयोजना बनाउने योजनामा छ । त्यस्ता आयोजनाबाट उत्पादित बिजुलीलाई अन्य मुलुकमा निर्यातसँगै देशका विभिन्न भागमा विद्युत प्रसारण गर्नका लागि प्रसारणलाइनसँगै सवस्टेसन निर्माण गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment