Comments Add Comment

रोग र डरः मनको बाघले कसरी खान्छ ?

‘मलाई मृत्युदेखि नै डर लागेन । मर्छु भनेर डराइन । जब मृत्युसँग नै डर लाग्दैन, अरु सानोतिनो रोगले केही नगर्ने रहेछ । म जीवनभर निरोगी भएँ । ऐयाअत्था कहिल्यै गर्नुपरेन ।’ पाका पत्रकार भैरव रिसालले एक सन्दर्भमा यसै भनेका थिए ।

अक्सर मान्छे मृत्युसँग भयाभित हुन्छन् । त्यसैले मरिएला कि भन्ने डरले उनीहरुको मनमा ढ्यांग्रो ठोकिरहेको हुन्छ । त्यसैले सानोतिनो रोग लाग्दा पनि हामी अत्तालिन्छौं । अस्पताल धाउँछौं । डाक्टरलाई देखाउँछौं । औषधी खान्छौं ।

शरीर सधै एकनास हुँदैन । कहिले काहीँ केही असजिलो महसुष हुन्छ । कमजोरी अनुभव हुन्छ । सबै कुरा ठिकठाक हुँदैन । भात रुच्दैन । निद्रा लाग्दैन । अब हाम्रो मनमा डर पैदा हुन्छ । ‘अहो, मलाई कुनै रोग त लागेको होइन ? के यही रोगले मेरो मृत्यु पो हुने हो कि ?’

यस्तो सोच्दा सोच्दै हामी अरु कमजोर महसुष गर्न थाल्छौं । आफुलाई सिथिल र निरिह पाउन थाल्छौं । डरले हाम्रो कम्पन छुट्छ । पसिना आउँछ । डराएरै अस्पताल पुग्छौं । रिपोर्ट आउने बेलासम्म हामी रोगले भन्दा शोकले गलिसकेका हुन्छौं । रिपोर्ट आउँछ । खास केही देखिदैन । एकाएक हाम्रो फूर्ति बढ्छ । भोक लाग्छ । शरीरमा बेग्लै अनुभव हुन थाल्छ ।

शरीर भन्दा मन धेरै बिरामी हुन्छ । शरीरमा सानोतिनो समस्या आउनसाथ मन डराउन थाल्छ । मन भयाभित हुन्छ ।

आफ्नो शरीरप्रति सर्तक र सचेत हुनुपर्छ । थाहै नपाई पनि कतिपय रोगले गाँज्न सक्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु अरु उत्तम हो । त्यसो भन्दैमा रोगको भय पालेर बस्नु राम्रो होइन । जब हामी रोगको भय पाल्न थाल्छौं, हाम्रो मन भयाभित हुन्छ । मन जब भयाभित हुन्छ, शरीरको धेरै अंगले सही ढंगले काम गर्न सक्दैन । जब तपाईं डराउनुहुन्छ, मुटुको चाल बढ्छ । अर्थात रक्त प्रणालीमा गडबड हुन्छ । यही गडबडीले अरु रोग निम्त्याउँछ ।

नेपाली समाजमा एउटा उखान छ, ‘बनको बाघले खानु छैन, मनको बाघले खाइसक्यो ।’ हाम्रो मन वास्तवमै कमजोर छ । मन डरपोक छ । त्यही कारण हामी केही नहुँदा पनि भित्रभित्रै डराएर बस्छौं । मनको बाघले जब खान थाल्छ, हामीमा तनाव पैदा हुन थाल्छ । तनावले चिन्ता जन्माउँछ । चिन्ताले डिप्रेसन । डिप्रेसनले अरु थुप्रै समस्या । यसरी हामी रोगको दलदलमा फस्न पुग्छौं ।

एउटा कथा छ । जघन्य अपराधमा कैद भुक्तान गरिरहेका एक कैदीलाई भनियो, ‘अब तिमीलाई मृत्यु दण्ड दिइनेछ । र, त्यो मृत्युदण्ड विषालु सर्पले डसाएर दिइनेछ ।’

उनलाई एक अँध्यारो कोठामा लगियो । आँखामा पट्टी बाँधियो । एउटा कुनामा राखियो ।

केही समयपछि उनको खुट्टामा केहीले घोचेजस्तै गरियो । उनले घोचेको थाहा पायो । यत्तिनै बेला आँखाको पट्टी खोलियो । उनले देखें, खुट्टाकै नजिकबाट एउटा सर्प भाग्दैछ ।

कैदीले सोचे सर्पले डस्यो । विषालु सर्पले डस्न लगाइनेछ भनिएको थियो । उनी डराएरै मरे । वास्तवमा उनलाई सर्पले डसेकै थिएन ।

यो कथाको सार के भने, हामी अत्तालिएर वा मनको बाघले खाएरै रोगी हुन्छौं । मृत्युको मुखमा पुग्छौं । कुनै चोटपटक लाग्नसाथ हामी त्यसका बारेमा अनेक सोच्न थाल्छौं । उक्त चोट कहिल्यै निको नहुने पो हो कि ? जीवनभर घाइते भएर बस्नुपर्ने पो हो कि ? यस्तै भयले हामी शिथिल हुन थाल्छौं ।

कुनै मान्छे सडकमा दुर्घटना पर्छ । उनको शरीरलाई खासै चोट पुगेको हुँदैन । तैपनि उनी छटपटाउँछ वा बेहोस् हुन्छ । दुर्घटना भएपछि बाँच्न मुश्किल छ भन्ने लागेर उनीहरुले होश गुमाउँछन् ।

धारिलो हतियारले गहिरो चोट लागेको कुकुर बाँच्छ । तर, त्यतीकै चोट लागेर मान्छे बाँच्दैन । किन ? किनभने कुकुरलाई त्यो चोट दुखेपनि त्यसबाट भय पैदा हुँदैन । मान्छेमा भने भय र आशंकाको भूमरी मडारिन थाल्छ ।

यदि मन बलियो र निडर छ भने लागेको रोग पनि निको हुन्छ । अस्पतालको शैयामा छटपटाईरहेको रोगीले डर पालेन भने उनीमाथि गरिएको उपचार अरु प्रभावकारी हुन्छ । किनभने जब मान्छेले आत्ममनोबल बढाउँछ, उनको रोग सँग लड्ने क्षमता पनि बढ्छ ।

त्यसैले मनको भय त्याग्नुपर्छ । योग, प्राणायाम, ध्यान जस्ता विधीले पनि मनलाई स्थिर, शान्त र बलियो राख्न सघाउँछ । यस्ता विधीहरु अपनाएर पनि हामी निरोगी जीवन बाँच्न सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment