Comments Add Comment

सिरियामा संकट : १० दिनमा १०३ को मृत्यु, ३ महिनामा ४ लाख विस्थापित

सिरिया संकटमा अन्तर्राष्ट्रिय जगत चूप लागेको भन्दै राष्ट्रसंघद्वारा दुःख व्यक्त

११ साउन, काठमाडौं । सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गर्दा १० दिनको अवधिमा २६ बालबालिकासहित १ सय ३ जनाको मृत्यु भएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट तीन महिनाको अवधिमा चार लाख जना विस्थापित भएका छन् ।

सिरियामा यस्तो नाजुक स्थिति आउँदा पनि अन्तर्राष्ट्रिय जगत चूपचाप बसेको भन्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार संस्था प्रमुख मिशेल बेचलेटले दुःख व्यक्त गरेकी छन् ।

मिशेलले भनेकी छन्- रुससहित सिरिया सरकार समर्थक देशका सेनाले गरेको हवाई हमलाबाट अस्पताल, विद्यालय र बजारमा ठूलो क्षति पुगेको छ । यस्तो अवस्थामा पनि अन्तर्राष्ट्रिय जगत मौन बसेको देखेर अचम्म लागेको छ ।

उनले भनेकी छन्, ‘जानीजानी आम सर्वसाधारणलाई आक्रमण गर्नु युद्ध अपराध हो । जसले आक्रमण गर्न आदेश दिए र आक्रमण गरे, यो अपराधको मुख्य तिनै जिम्मेवार हुन् ।’

विषेशगरी इड्लीब र अलेप्पो, हामा र लाताकिया प्रान्तका केही भागहरुमा युद्धको प्रभाव बढी परेको छ । झण्डै दुई तिहाई जनसंख्या आफू बसेको ठाउँबाट विस्थापित भएका छन् ।

विगत आठ वर्षदेखि सिरियामा गृहयुद्ध जारी छ । यस क्षेत्रमा विद्रोहीको नेतृत्व जिहादी गठबन्धनका हायात ताहिर अल शामले गरेका छन् । उनी यसअघि अलकायदामा आवद्ध थिए ।

इदलिब शहरका साथै उत्तरी हमा र पश्चिमी अलेप्पो विद्रोहीहरुका अन्तिम गढ हुन् । गत सेप्टेम्बरमा रुस र टर्कीको नेतृवमा भएको शान्ति सम्झौताअनुसार यी क्षेत्रमा पनि आक्रमण नगर्ने सहमति भएको थियो । शान्ति सम्झौताबाट २७ लाख मानिसहरुले राहत महसुस गरेका थिए ।

तर २९ अप्रिलदेखि हिंसा भड्किएपछि ३५० जना आम सर्वसाधारणको मृत्यु भइसकेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

राष्ट्रसंघको मानवीय मामिला निकायका डेभिड स्वान्सनले शुक्रबार दिएको जानकारीअनुसार गत अप्रिलको अन्त्यदेखि अहिलेसम्म चार लाखभन्दा बढी सिरियाली नागरिक विस्थापित भएका छन् । आक्रमण भएको क्षेत्रमा झण्डै ३० लाख बासिन्दा बस्ने गर्दथे । उनीहरुमध्ये आधाभन्दा बढी यसअघि नै विस्थापित भइसकेका थिए ।

१० दिनको अवधिमा १०३ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या बढ्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment