Comments Add Comment

साताका ७ पुस्तक

बजारमा पुस्तकको बिक्री घटेको रिपोर्ट आइरहे पनि पुस्तक प्रकाशनको क्रम घटेको छैन । बरु यो तीव्र हुँदै गएको छ । नयाँ सिर्जनात्मक पुस्तक मात्रै होइन, पुराना पुस्तकको पुनःमुद्रण र विश्वका चर्चित पुस्तकको अनुवाद पनि त्यही गतिमा अघि बढिरहेको छ ।

यो साता बजारमा आएका केही पुस्तक यस्ता छन्-

४३ कथा

निलम कार्की निहारिकाको नयाँ पुस्तकको नाम हो-४३ कथा । यो सङ्ग्रहमा निलम कार्कीका समग्र कथाहरु एकै ठाउँमा पढ्न पाइन्छ । ‘यसमा नयाँ र पुराना दुवै कथाहरु समाविष्ट छन् तर पुस्तक निकाल्नुको आशय सकेसम्म मेरा प्रतिनिधि कथा परुन् भन्ने हो ।’ कार्कीले अनलाइनखबरसँग भनिन्, ‘उपन्यासकारका रुपमा मलाई पाठकले राम्रोसँग चिन्नु भए पनि मेरा कथाहरु आम पाठकसम्म पुगेको छैन । उहाँहरुसम्म पुगोस् भन्ने चाहाना हो ।’

अमेरिकाको व्यस्त जीवनशैलीका बीच पनि कार्कीले प्रत्येक वर्ष एउटा पुस्तक प्रकाशन गरिरहेकी छन् । दुई वर्षअघि उनको पुस्तक ‘चीरहरण’ले पद्मश्री पुरस्कार प्राप्त गरेको थियो भने एक वर्षअघि अर्को पुस्तक ‘योगमाया’ले मदन पुरस्कार प्राप्त गरेको थियो ।

पछिल्लो कथा सङ्ग्रहमा महिला, बालबालिका र समाजिक भेदभावका कथालाई महत्व दिइएको छ । केही कथाहरु भने पुराना शैलीका लाग्छन् । विषय र शैलीगत विशेषता यो कथासङ्ग्रहका विशेषता हुन् ।

मान्छेको नाच

आफ्नो समयका सुप्रशिद्ध साहित्यकार विजय मल्लको देहान्त भएको २० वर्षपछि उनका कथा सङ्ग्रह ‘मान्छेको नाच’ बजारमा आएको छ । उनका ‘एक बाटो अनेक मोड’ र ‘परेवा र कैदी’ नामक दुई कथा सङ्ग्रह बजारमा छन् । यो कथा सङ्ग्रह भने विभिन्न ठाउँमा छरिएर रहेका प्रकाशित एवं अप्रकाशित कथाहरुको सङ्कलन हो । कथाका सम्पादक साहित्यकार अविनाश श्रेष्ठ हुन् ।

‘विजय सरले विरामी अवस्थामा मलाई पत्र लेखेर आफ्ना छरिएर रहेका कथाहरु संकलन र सम्पादन गरेर प्रकाशन गर्न अनुरोध गर्नु भएको थियो ।’ सम्पादक श्रेष्ठले अनलाइनखबरसँग भने, ‘विविध कारणले यसको प्रकाशन हुन सकेको थिएन । २० औं स्मृति दिवस (साउन ८) मा यसको सार्वजनिक गरिएको हो ।’

विजय मल्ल मूलतः मनोबैज्ञानिक उपन्यासकार हुन् । उनका अनुराधा र कुमारी शोभा आफ्नो समयका चर्चित उपन्यास हुन् । कुमारी शोभा उपन्यासमाथि चलचित्र कुमारी पनि निर्माण भएको थियो । उनका चारवटा नाटक ससङ्ग्रह र एउटा कविता सङ्ग्रह प्रकाशित छन् ।

अपराजिता

‘अपराजिता’ साहित्यकार पारिजातले आफ्नी बहिनीलाई लेखेको पत्रहरुको सङ्गालो हो । अहिलेसम्म अप्रकाशित अवस्थामा रहेका यी पत्रहरुमा पारिजातले आफ्नी बहिनीलाई नितान्त गोप्य र अनौठा कुराहरु खोलेकी छन् । यी पत्रहरुमार्फत तत्कालीन समाजमा उनीमाथि भएका प्रताडना, दिल्लीमा उपचार हुँदाको अवस्था, पाएका सहयोग र अनुभव गरेका तीता-मीठा अनुभवहरु यसमा समेटिएका छन् ।

हरेक पत्रहरु कथा जस्ता लाग्छन् । पीडाले रन्थनिएका बेला लेखेका यी पत्रमार्फत पारिजातको लेखन शक्ति राम्रोसँग अनुभव गर्न सकिन्छ ।

छुटेको रेल

अमेरिकामा बसोबास गर्ने संघर्षशील नेपालीको कथा हो, ‘छुटेको रेल । पुस्तक पढिरहँदा लेखक विश्वबन्धु कार्कीले अमेरिका बस्ने क्रममा आफ्नै वरपर देखिएका नेपालीहरुको संघर्षलाई औपन्यासिक रुप दिएको अनुमान  गर्न सकिन्छ । पेशाले इन्जिनियर विश्वबन्धु नेपालमा छँदा स्केच आर्टिस्टका रुपमा प्रशिद्ध थिए । उनको पहिलो  उपन्यास ‘मोना’ ले राम्रै पाठक बटुलेको थियो ।

पुस्तकको मूल विषयमा प्रेम भए पनि यसले अमेरिकामा नेपाली संघर्षको फेरहिस्त प्रस्तुत गर्छ । पुस्तकमा केही अक्षर छुटेका र केही ठाउँमा भाषिक अशुद्धि देखिन्छन् । दोस्रो संस्करणमा यसलाई सच्याउनुपर्ने देखिन्छ ।

सुनको पिँजडा

सिर्जना अर्याल अधिकारीको कविता सङ्ग्रह ‘सुनको पिँजडरमा पनि यसै साता बजारमा आएको हो । यसमा ५४ वटा छन्दोबद्ध कविता छन् । कविताहरुमा वैदेशिक रोजगारिका क्रममा श्रीमान् विदेश हुँदा नेपाली महिलाले भोग्ने पीडा, सामाजमा आइरहेको तीव्र परिवर्तनमा पनि परिवर्तन हुन नसकेको परम्परागत सोचलाई गेयात्मकरुपमा प्रस्तुत गरिएको देखिन्छ ।

धादिङ्मा अवस्थित सिर्जना प्रतिष्ठानकी सचिव अर्याल प्रगतिशिल लेखक संघकी सदस्य पनि हुन् ।

मेरो आधा शताब्दी

बेलायतमा अधिवक्ताका रुपमा कार्यरत सुरेन्द्र श्रेष्ठ गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार हुन् । श्रेष्ठको ‘मेरो आधा शताब्दी पुस्तकले नेपालको अविकसित राष्ट्र र बेलायतको विकसित समाजबीच तुलना गरेको छ ।

आत्मकथात्मक पुस्तक भए पनि सुरेन्द्र श्रेष्ठले यसमा नेपाली समाज, नेपाली चालचलन र कानुनको अध्ययनका विषयमा आफ्ना अनुभवहरु पस्केका छन् । पुस्तकमा दुई दशकको बेलायत बसाइलाई आकर्षक तरिकाले प्रस्तुत गरेको छ ।

पुस्तकभित्र गैरआवासीय नेपाली संघका कार्यशैली र त्यसले नेपाल जोड्न गरेका प्रयासहरुको पनि वर्णन गरेको छ ।

तान्या इन्द्रकमल र अन्धकार

प्राध्यापक अविनाश श्रेष्ठको पुरानो कृति हो-तान्या इन्द्रकमल र अन्धार ।  झण्डै दुई दशकअघि प्रकाशन भए पनि यो पुस्तक नेपाली बजारमा अप्राप्य थियो । कथा साहित्यका केही मानक कथा यो सङ्ग्रहमा भएको समालोचकहरुले बताउने गरेका छन् ।

फाइन प्रिन्टले यसलाई बजारमा ल्याएको छ । यसमा एघार वटा कथाहरु सङ्ग्रहित छन् । केही कथा भारतीय नेपालीहरुको कथा-ब्यथामा आधारित छन् भने केहीको पृष्ठभूमि नेपाल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment