Comments Add Comment

नेपाल र सिंगापुर भिड्दा ‘अष्ट्रेलियन ब्याट्सम्यान’ निर्णायक

१२ साउन, काठमाडौं । आइतबार नेपालले सिंगापुरसँग खेल्नुअघिसम्म धेरैको भविष्यवाणी थियो, घरेलु टोलीलाई हराउँदै नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । अन्तर्राष्ट्रिय मिडियाले समेत नेपाललाई मुख्य दावेदार मानेका थिए ।

त्यसका केही आधार पनि थिए- एकदिवसीय मान्यता पाइसकेको टप एशोसिएट टिम, प्रतियोगितामा खराब सुरुवातका बाबजुद उत्कृष्ट पुनरागमन आदि ।

विपक्षी टिम सिंगापुर भने उदयमान टोली हो । सन् २०१० मा डिभिजन फाइभ खेलेको उसले दुई खुडि्कलो पार गर्दै डिभिजन थ्रीसम्म आइसकेको थियो । तर २०१८ को प्रतियोगितामा तेस्रो भयो भने आईसीसी क्रिकेट वर्ल्ड कप च्यालेन्ज लिगमा घटुवा भयो । त्यसैले नेपालको तुलनामा भने सिंगापुर निकै कमजोर देखिन्थ्यो ।

यो पनि पढ्नुहोस सिंगापुरसँग लज्जास्पद हार, नेपालको टी-२० विश्वकप सपना अधुरै

तर त्यही सिंगापुरले नेपाललाई हरायो, त्यो पनि ८२ रनको फराकिलो अन्तरले । र, एसिया फाइनलको च्याम्पियन बन्दै टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनायो । यो सिंगापुर क्रिकेटको ऐतिहासिक सफलता हो ।

त्यसो भए यो कसरी सम्भव भयो त ? सिंगापुर क्रिकेटका अध्यक्ष मोहमुद गाज्नभी यो सफलता सहजै प्राप्त नभएको बताउँछन् । उनका अनुसार टिमलाई अन्तर्राष्ट्रिय भ्रमणमा पठाउने परम्परागत शैलीलाई तोडेर पाकिस्तानबाट फस्ट क्लास क्रिकेटरलाई बोलाएर सिंगापुरको टिमसँग १५ वटा खेल खेलाइएको थियो ।

उनले भने, ‘पाकिस्तानी बलरहरुले हाम्रा ब्याट्सम्यानलाई राम्रो चुनौती दिए । यसले राम्रो तयारी गर्न मद्दत गर्‍यो ।’

उनले भनेजस्तै नेपालविरुद्ध सिंगापुरको हतियार ब्याटिङ नै रहृयो । १९१ रनको विशाल स्कोर बनायो । यो स्कोरमा सबैभन्दा महत्वपूर्ण योगदान थियो टिम डेभिडको । नेपालका स्पिनरहरुमाथि आक्रमण ब्याटिङ गरेका उनले ४३ बलमा ७७ रन बनाएका थिए ।

यो पनि पढ्नुहोस कतै पनि सिंगापुरलाई भेट्न सकेनौं : सन्दीप

नेपालका स्पिनर सन्दिप लामिछाने सम्भवतः पहिलोपटक राष्ट्रिय टिममा खेल्दा यसरी पिटिए । सन्दिप र बसन्त रेग्मीले संयुक्त ७ ओभर बलिङमा ८८ रन खर्चेका थिए, त्यो पनि कुनै विकेट नलिई । यसैबाट थाहा हुन्छ कि सिंगापुरका ब्याट्सम्यान उत्कृष्ट मानिने नेपालका स्पिनरका लागि कति तयार थिए ।

को हुन् डेभिड ?

डेभिड अष्ट्रेलियन क्रिकेटर हुन् । उनले अष्ट्रेलियन युनिभर्सिटीका साथै वेस्टर्न अष्ट्रेलियाको यू-२३ र वेस्टर्न अष्ट्रेलिया-११ बाट समेत क्रिकेट खेलेका छन् । २४ वर्षका उनले गत सिजन पर्थ स्कोर्चसबाट बिग ब्यास लिग खेलेका थिए ।

तर टी-२० विश्वकपको एसिया फाइनल अगाडि उनले आफू जन्मिएको देश सिंगापुरबाट खेल्ने निर्णय गरे । क्लोज क्याम्प हुँदै एसिया फाइनल खेल्ने टिममा पर्न सफल भए ।

उनले कतारविरुद्ध डेब्यू गर्दै ३८ रन बनाएका थिए । मलेसियाविरुद्ध भने चलेनन् । मात्र १४ रनमा आउट भए । तर नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गरे ।

दोस्रो विकेटका लागि रोहन रंगराजनसँग ८९ रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि मनप्रित सिंहसँग ६६ रनको अर्को महत्वपूर्ण साझेदारी गरे ।

डेभिडकै कारण नेपाल हार्‍यो भन्नुचाहिँ गलत हुनेछ । बलिङ र फिल्डिङमा पनि घरेलु टोली नेपालभन्दा अगाडि रहृयो । त्यसलाई नेपाली कप्तान पारस खड्का स्वीकार गर्छन् ।

टी-२० विश्वकप वा ग्लोबल छनोट खेल्ने सपना खेख्ने टिमले १९२ रनको लक्ष्य भेट्टाउनुपर्ने भन्दै उनले भने, ‘आज हामीले राम्रो खेलेनौं । उनीहरुले राम्रो गरे ।’

यो पनि पढ्नुहोस सिंगापुरसँग हारेपछि पारसको प्रतिक्रिया : आज हाम्रो दिन थिएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment