Comments Add Comment

अत्तरियाको सेकुवा कर्नरमा !

Photo Credit : Hamro attariya

साँझ करीव ६ बजे । व्यस्त बजारको एक सेकुवा कर्नरबाट एक महिला निस्किइन् । उमेरले करीव ३० टेकेकी, गोरो अनुहार, आँखामा हल्का कालो फ्रेमको चश्मा, चुज पाइन्ट र कुर्तामा सजिएकी ती महिलासंगै दुई पुरुषहरु पनि निस्किए ।

एकले पाइन्ट र कुनै गैर सरकारी संस्थाको प्रायोजनवाला टि–सर्ट लगाएका थिए । उनको हल्का फ्रेन्च कटको दारी र अलि लामो कपाल थियो । अर्काले हाफ सर्ट र पाइन्ट लगाएका थिए । आँखामा चस्मा ।

सेकुवा कर्नर बाहिर तिनै जनाका आ–आफ्नै सवारी साधन छन्, पुरुषहरु छुट्टाछुट्टै मोटरसाइकल, महिलाको बैजनी रङ्गको स्कुटी पार्किङ गरिएर राखेका थिए । बाहिर निस्कँदै तीनैजनाले एकापसमा बिदाइको अभिवादन गरे र आ–आफ्नो सवारी साधनसँगै बाटो लागे ।

‘हेर न यो बिग्रेकी, अर्काका लोग्नेसँग होटेल होटेल धाउँछे’ सेकुवा कर्नरको बाहिर ठेलामा तरकारी बेच्दै गरेकी एक अधवंैशे महिलाले स्कुटी स्टार्ट गरेर हल्का धुँवा उडाउँदै हुइँकिएकी महिलालाई लक्षित गर्दै भनिन् ।

उनीसंगै अर्को ठेलामा फलफूल बेच्दै गरेकी अर्की एक महिलाले थपिन् “अँ भन्या, कस्ती नकच्चरी होली । यस्तैले त अन्य महिलाहरुको पनि बदनाम हुन्छ ।”

सेकुवा कर्नरबाट बाहिर निस्किएकी ती महिलाबाट उठेको प्रसंगमा दुवै महिलाहरुले लामै गफ गरे । ती महिला सँगसँगै अन्य तीन जना महिलाहरु पनि गफका पात्र बने । परपुरुषसँग होटेलमा गएर नास्ता खाने, खाना खाने वा बास बस्ने महिलाहरु ती दुवै महिलाहरुको बुझाईमा “बिग्रेकी महिला” भएको गफको निश्कर्ष थियो । भलै उनीहरुले ती महिलालाई चिनेकै थिएनन् ।

बुझ्दै जाँदा ती महिला कुनै वित्तीय संस्थामा काम गर्छिन् । उनी यसरी नै कहिलेकाँही आफ्ना पुरुष सहकर्मीहरुसँग नास्ता खानका लागि आउने गर्छिन् । तर, नियमित उनी त्यो कर्नरमा आउँदिनन् । कार्यव्यस्तताकै कारण हुन सक्छ, कुनै दिन उनको टोली अलि अबेर नास्ता खान आउँछ । त्यो दिन पनि अलि अबेरै भइसकेको थियो ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा भू–परिवहनको मुख्य केन्द्र कैलालीको अत्तरिया बजार अति व्यस्त वजार हो । पहाडी सात जिल्ला होस् कि तराईका दुई जिल्ला, सुदूरपश्चिमबाट देशका अन्य ६ वटै प्रदेशका लागि सडक यातायत गर्नु परे अत्तरिया नपुगी सुखै छैन । त्यसैमाथि सुदूरपश्चिम प्रदेश सभाले संविधानको धारा २८८(३) अनुसार प्रदेश राजधानी पनि अत्तरियाकै क्षेत्रमा गोदावरी राख्ने निर्णय गरेपछि अत्तरियामा घरजग्गामा लगानी गर्नेको संख्या पनि तिब्र भएको छ ।
यद्यपि प्रदेश सभाले गत असोज १२ गते राजधानी बनाउने प्रस्ताव पारित गरेको भए पनि प्रदेश सरकारले राजधानी वनाउनेतर्फ अहिलेसम्म सिन्कोसमेत भाँचेको देखिँदैन । प्रदेश सभाले गरेको संबैधानिक निर्णय कार्यान्वयनमा जान नसक्नुमा कुनै बाध्यता हो वा गैर जिम्मेवारीपन भन्ने हो, थाहा छैन ।

त्यही राजधानी शहर अत्तरियाको कुनै सेकुवा कर्नरमा भएको कुराकानी हो त्यो ।

रोजगारीका लागि बाक्लो संख्यामा घरबाहिर निस्कन थालेसँगै महिलाहरुको तीब्र आलोचना पनि सुरु भएको छ । महिलाहरुलाई चार दिवारीभित्र सीमित राख्नुपर्छ भन्ने मान्यताको समाज अहिले खुकुलो हुँदै जाँदा महिलाहरु राजनीतिक नेतृत्व तहमा पुग्न सफल भएका छन् । साथसाथै आयआर्जनसंग प्रत्यक्ष जोडिएर आत्मनिर्भर पनि भएका छन् । तर, महिलाप्रतिको हाम्रो पितृप्रधान सोच अहिले पनि जस्ताको त्यस्तै रहेको देखिन्छ । माथिको प्रसंगले पनि यस्तै संकेत गर्छ ।

यसअघि पनि अत्तरिया बजारसँग महिलाहरुलाई जोडेर समाचार बनिसकेका छन् । तर, प्रश्न उठ्छ ः के साँच्चै महिलाहरु ‘बिग्रेकै’ हुन् त ? कामका लागि घर बाहिर निस्कनु र सहकर्मीहरुसँग बसेर नास्ता खानु के बिग्रेकै लक्षण हो त ?
हाम्रो समाजले महिला बिग्रेको लक्षण उनीहरु घरबाहिर जानु, परपुरुषसँग बोल्नु, उनीहरुसँगै बसेर चिया खाजा खानु, अलि अबेर घर आउनुलाई लिने गरेको देखिन्छ । यस्तै लक्षणका आधारमा ती दुई महिलाहरुले एक अपरिचित महिलालाई ‘बिग्रेकी महिला’ बनाए ।

नारीवादी लेखिका तसलिमा नसरिनले बाख्रोलाई डोरीले बाँधेर राखेजसरी छोरीहरुलाई खुल्ला आकाशमुनि बाँधेर राखिएको महिला स्वतन्त्रता लेखेकी छन् । उनको तर्क छ ‘स्वतन्त्रताको नाममा खुल्ला आकाशमुनि, खुल्ला चौरमा त ऊ छ । तर, पुग्न त्यहाँसम्म मात्र पाउँछ, जहाँसम्म डोरीले भ्याउँछ ।’

हाम्रो महिला मुक्ति यस्तै भएको देखिन्छ । त्यही प्रकारको स्वतन्त्रताको डोरीमा अल्झिएको छ नेपाली महिलाहरुको जीवन । त्यो डोरीले उनीहरुलाई प्रतिरक्षा गर्नबाट रोकेको छ । गुहार पाउनबाट रोकेको छ । र, त्यही डोरीले कतिको जीवन निलिदिएको छ ।

सहकर्मीसँग बसेर एक चिया खाँदा “बिग्रेकी” देख्ने यो समाजले मदिराको मातमा मध्यरातमा घर पुग्ने पुरुषलाई “बिग्रेको” देख्दैन । अझ उसलाई “बहादुर” देख्छ । साँझ अलि ढिलो घर आउने महिलालाई “बिग्रेकी” देख्नेमा पुरुषहरु मात्रै छैनन्, महिलाहरु पनि धेरै छन् । तर, तिनै महिलाहरु जसले महिलालाई “बिग्रेकी” भनिरहेका छन्, पुरुषलाई “बिग्रेका” भन्दैनन् ।

एकछिनलाई साँझ परपुरुषसंग होटेलमा बसेर खाजा खाने महिला “बिग्रेकी” हुन मानौं, दुई पैसा कमाएर परिवार पाल्नका लागि डान्स बारमा नाच्ने महिलाहरु बिग्रेकी हुन मानौं, तर ति महिलासंग बसेर खाजा खाने पुरुषहरु को हुन ? ति महिलाले नाचेको हेर्न डान्स वार धाउने र एकै रातमा हजारौं रुपयाँ मदिरामा उडाउने पुरुष को हुन ? के उनीहरुलाई “बिग्रेका” भन्न नमिल्ने हो ? वा उनीहरु बिग्रेकै होइनन् ?

हो, केही महिलाहरु हाम्रो सामाजिक मापदण्ड अनुसार बिग्रेका छन् । बाध्यतामा वा लहैलहैमा वा रहरमा वा बिलासिताका लागि वा आफ्नो जैविक आवश्यकता पुरा गर्नका लागि परपुरुषसंग सम्वन्ध राखेका छन् । घरमा दुधे बालक छोडेर होटेलमा रात बिताउँछन् । श्रीमान्ले ४५ डिग्रीको तापमानमा आफ्नो शरीर गलाएर चुहाएको पसिना धुँवामा उडाएका छन् । श्रीमान्संग पतिब्रताको नाटक गर्दै नयाँ नयाँ पुरुषहरु फेर्दै हिड्ने महिलाहरु पनि छन् । छोराछोरीको बिचल्ली वनाउँदै अर्को बिहे गरेर गएका घटनाहरु पनि थुप्रै आईरहेका छन् । यसमा दुई मत छैन ।

तर, ति “बिग्रेकी आइमाइ”संग यौन सम्वन्ध राख्ने पुरुषहरु के बिग्रेका होईनन् ? के महिलाको मात्रै जैविक आवश्यकता हुन्छ ? के महिलाको मात्रै बिलासिता हुन्छ ? महिलाहरुले फेर्दै हिडेका ति पुरुषहरु त्यस्ता हैनन् त ? महिलाहरु मात्रै बिग्रेका हुँदैनन् होला, समाजमा हुने अपराधिक क्रियाकलापहरुमा महिला मात्रै दोषी हुँदैनन् होला नि !

बलात्कारका घटना आउँदा महिला सम्मान, अपराधीलाई सजाय आदिका कुरालाई लिएर कुर्लिने समाज महिलाको आत्मसम्मानको बारेमा चाहिं किन सोच्दैन ? महिलाको आत्मसम्मानमा प्रहार हुने शब्दहरु र व्यवहारले महिलानै दोषी हो, पुरुषको कुनै दोष छैन भन्ने झल्काउँछ । महिलामाथि प्रहार गर्न जसरी शब्द प्रहार हुन्छन् त्यसरी पुरुषमाथि शव्दहरुको प्रहार हुँदैन ।

महिला यौनको प्रतिक हो, पुरुषको दास हो भन्ने मानसिकताले काम गरेको बाहेक अरु केही पनि देखिदैन् । नेपालको प्रचलित कानून बिपरीत प्रहरीले होटेलका बन्द कोठामा छापा मारेर जोडीलाई समात्छ । त्यसमा समातिने पुरुष भन्दा पनि महिलाको बढी खोजनीति हुन्छ । प्रहरी स्वयं पनि पुरुषलाई भन्दा बढी महिलालाई केरकार गर्छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा जवर्जस्ती करणी गरेको मानिने भन्ने व्यवस्था छ । यसको अर्थ उमेर पुगेका महिला पुरुषहरुले स्व–ईच्छाले यौन सम्वन्ध राख्न चाहेमा राख्न पाउँछन् । अनि यसरी स्व–ईच्छाले कुनै महिला र पुरुषका बीचमा यौन सम्वन्ध राख्यो भने पुरुष सभ्य हुने तर महिला “बिग्रेकी” हुने हो र ?

यो सबै कुराको पछाडिको कारण के हो भन्ने कुराको खोजी हुनु जरुरी छ । पुरुष प्रधान समाजमा महिलाहरु सधैंभरि पुरुषका बिलासिताका बस्तुहरु मात्रै भए, घरभित्रको काम गर्ने नौकर मात्रै भए र सन्तान उत्पादन गर्ने मेसिन मात्रै भए ।

त्यसकारण पुरुषहरुले महिलालाई आफ्नो मातहतको “निजी सम्पत्ति” मात्रै हो सम्झेका छन् । अहिलेको कानूनी परिवर्तन उनीहरु पचाउन सकिरहेका छैनन् । तिनै पुरुषहरुले कामका लागि र अधिकारका लागि घर बाहिर निस्कने महिलाहरुलाई “बिग्रेकी महिला” देख्दैछन् र उनीहरुको त्यो नजरको प्रभाव केही महिलाहरुमा पनि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment