Comments Add Comment

हामफाल्दै मर्दै भ्रष्टाचार आरोपी

घुस्याहाको गन्तव्य : आत्महत्या वा जेल

बदनाम भ्रष्टाचार काण्डमा आरोपित दुईजनाले हामफालेर ‘आत्महत्या’ गरेका छन् । बालुवाटारको ललिता निवास जग्गामा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन सुब्बा युक्तप्रसाद श्रेष्ठले आइतबार माछापोखरीको अग्लो भवनको आठौं तल्लाबाट हामफालेर आत्महत्या गरेका छन् ।

साउन ३ गते मात्र त्रिभुवन विश्वविद्यालय सेवा आयोगका रामबहादुर पाण्डेले त्रिपुरेश्वरको अग्लो भवनको पाँचौं तल्लाबाट हाम फालेर आत्महत्या गरेका थिए ।

उनीहरुले जीवनमा कहिल्यै सोचेका थिएनन् कि यसरी आत्महत्या गर्नुपर्छ भनेर । जब उनीहरुलाई भ्रष्टाचारको अभियोग लाग्यो, त्यसरी अभियोग लाग्नु नै उनीहरुको लागि सही सक्नु भएन । शायद उनीहरुले जीवन जीउनुको औचित्य समाप्त भएको निष्कर्ष निकालेर आत्महत्या गरे ।

भ्रष्टाचारको अभियोग लागेका दुवैजनाले आत्महत्या गरेपछि अब उनीहरुले गरेको भनिएको अपराधको पनि समाप्ति भएको छ । कानुनले अन्य कुनै व्यवस्था नगरेसम्म उनीहरुले जतिसुकै भ्रष्टाचार गरेर कमाएको पैसा, सम्पत्ति भए पनि अब त्यो परिवारको नाममा हस्तान्तरण भइसक्यो ।

अहिलेकै कानूनले जति करोड भ्रष्टाचार गरेको भए पनि अब उनीहरुले कमाएको सम्पत्तिमाथि कुनै कारवाही हुन सक्ने कुरा भएन ।

भ्रष्टाचार गरेर सात पुस्तासम्मलाई सम्पत्ति थुपार्ने गर्छन् भन्ने जुन भनाइ छ, अब त्यो तिनीहरुमा लागु भइसक्यो । ती दुवै जनाले आत्महत्या गरिसकेकाले उनीहरुको अनुसन्धान बन्द हुन्छ र अब उनीहरुको सम्पत्ति पूर्णरुपमा जोगिइसकेको छ । यद्यपि यो लेखले उनीहरुको परिवारलाई कुनै मानसिक क्षति नपुगोस् । किनभने उनीहरु दुवैजना अदालतबाट भ्रष्टाचारी प्रमाणित भइसकेका थिएनन् ।

जेलको स्वाद

असार २७ गते कर्णाली प्रदेश डिभिजन वन कार्यालय, सुर्खेतका प्रमुख भक्तबहादुर लामा ४ लाख घुससहित पक्राउ परे । उनी काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको थियो । वन क्षेत्र करोडौं करोड भ्रष्टाचार हुने क्षेत्र हो । सामुदायिक वनका पदाधिकारी, वन अधिकृत सबैको मिलेमतोमा कैयौं जंगल सखाप पारिएको छ ।

असार २६ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकूलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियार ८ लाख घुससहित पक्राउ परे । भवन निर्माणको ठेक्कामा कमिसनवापत ८ लाख घुस लिएको आरोपमा उनीहरु पक्राउ परेका थिए । असार ३० गते सिंचाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख मोहनबाबु यादवलाई १ लाख ८० हजार घुस लिएको आरोपमा पक्राउ गरियो ।

केही महिना पहिले अख्तियारका आयुक्त राजनारायण पाठक ७८ लाख घुस लिएको आरोपमा पक्राउ परेका थिए ।

यी त प्रतिनिधि घटना मात्रै हुन् । यसबाहेक अख्तियारले सयौं सरकारी कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

तिनीहरुलाई पक्राउ गरिएपछि अख्तियारले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गर्ने गर्छ । विशेष अदालतले धेरैजसो आरोपितलाई धरौटीमा छाडेर अनुसन्धान गर्नको लागि अख्तियारलाई अनुमति दिएको छ । यसरी उनीहरु अनुसन्धान र मुद्दा दायर गरिंदासम्मको समयमा हिरासतमा रहन्छन् र भ्रष्टाचारी प्रमाणित भइसकेपछि जेल जान्छन् । यसरी भ्रष्टाचार गरेको प्रमाणित भएमा उनीहरुको अन्तिम गन्तव्य भनेको जेल नै हो । त्यो कति मीठो हुन्छ भन्ने कुरा त उनीहरुलाई नै सोध्नुपर्छ ।

के सोच्दा हुन् घुस्याहाले ?

यसै वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनुवा कक्ष भ्रष्टाचार अभियोगमा गिरफ्तार गरिएका इञ्जिनियरले भरिएको समाचार केही दिन पहिले प्रकाशित भएको थियो । हामीले एकछिन अनुमान गरौं : हिरासतमा रहेका झण्डै तीसजना इञ्जिनियरहरु एकआपसमा के कुरा गरेर बसिरहेका होलान् ?

आफूले गरेका कामको गफ गरेका होलान् कि ? पैसा कमाइहालियो भनेर ढुक्क भएका होलान् कि ? बेकारमा फसियो भनेका होलान् कि ? आफ्ना परिवारका कुरा गरेर बसेका होलान् कि ? केही लेखक/साहित्यकारहरुले हिरासतमा रहेका इञ्जियिनरहरुको गज्जबको मनोवाद लेखिदिए पनि हुन्थ्यो ।

अख्तियारले करिब ३ सय जना उच्च पदस्थहरुको सम्पत्ति छानबिन अन्तिम चरणमा पुर्‍याएको समाचार पनि सार्वजनिक भएको थियो । सम्भवतः केही दिन वा महिनापछि ती भ्रष्टाचारीहरु समातिन सक्ने अख्तियार सूत्रलाई उद्धृत गर्दै समाचारमा त्यस्तै जनाइएको थियो । तर अख्तियारले घुससहित धेरै कर्मचारीलाई समातेको छ । अख्तियारको सक्रियताले के देखाएको छ भने ती त देखिएका घुसकाण्ड मात्रै हुन् ।

अख्तियारले थाहा नपाएका हजारौं घुसकाण्डहरु छन् । भ्रष्टाचार देशको क्यान्सर भइसकेको छ । भ्रष्टाचारकै कारण देशका ठूलठूला परियोजनाहरु समयमै सम्पन्न हुन सकेका छैनन् भने सम्पन्न गरिएका परियोजना गुणस्तरहीन देखिएका छन् । नहरहरु, पुलहरु बनिनसक्दै भत्एिका छन् । बाटो पिच गरेको हप्ता नपुग्दै भत्एिका छन् ।

घुस भनेको के हो ?

मूल रुपमा सरकारी कर्मचारीले खाने पैसालाई घुस भनिन्छ । कुनै पनि काम अवैधानिक तरिकाबाट सम्पन्न गराउनको लागि कर्मचारीहरुले त्यसरी घुस खाने गर्दछन् । पियनदेखि हाकिमसम्म, सुब्बादेखि सचिवसम्म धेरैसोले घुस खाएकै हुन्छन् । नेपालको सरकारी जागिरे हुनु भनेको घुस खाने प्रमाणपत्र लिनु पनि हो भन्ने मान्यता स्थापित भएको छ ।

विभिन्न सर्वेक्षणहरुले घुस नखाने कर्मचारीहरुको संख्या अत्यन्तै थोरै भएको देखाएका छन् । पृथ्वीनारायण शाहले घुस दिने र लिनको सम्पत्ति हरण गर्नुपर्छ भनेका छन् । तर नेपालमा त्यसरी कसैको पनि सम्पत्ति हरण गरिएको छैन ।

घुस खाएको प्रमाण के हो ?

घुस खाएको प्रमाण हरेक ठाउँमा भेटिन्छ । चिल्ला गाडी, शहरमा घर, घडेरी, श्रीमतीलाई महंगा कपडा र गहना, छोराछोरीलाई महंगा स्कुल । विदेश पढ्न पठाइने, छोराछोरीको विहेमा २०-३० लाख खर्च । चाडबाडमा थुप्रै खर्च र दैनिक जीवनमा तडकभडक । यी सबै घुस खाएका प्रमाणहरु हुन् ।

घुस नखाइकनै कुनै पनि कर्मचारीले यी व्यवहार देखाउन असम्भव छ । तर यिनै घुस्याहाहरुको समाजमा हालीमुहाली र तडक-भडक रहने गरेको छ । कुनै पनि सरकारी अफिसको खाता रित्तिँदै जाने र हाकिमहरुको खाता भरिँदै जाने गरेको अवस्था आजको वास्तविकता हो ।

घुसले के के गरेको छ ?

घुस खाएपछि देश र जनताका विरुद्ध काम हुन्छ । सरकारी खातामा राजस्व जम्मा हुन्न । देशको ढुकुटी कमजोर हुन्छ । कर्मचारी र कालाबजारियाहरुको खातामा टन्नै पैसा जम्मा हुन्छ । यो सबै घुसको कारण हुन्छ ।

घुस खानका लागि कर्मचारीहरुले विदेशीहरुलाई सूचना बेचिन्छन् । बहुराष्ट्रिय कम्पनीहरुसँग । घुस खाएपछि गरिनुपर्ने गुणस्तरमा काम हुँदैन । विकास वा अन्य काममा ढिलासुस्ती हुन्छ । यसले समग्र देशलाई कमजोर, गरिब र खोक्रो बनाइदिन्छ । देशमा विकृति, बेथिति, विसंगति र अपराधहरुको बढोत्तरी हुन्छ ।

भ्रष्टाचार नहुने र घुस नखाइने कुनै क्षेत्र छ ?

नेपालको सरकारी अड्डामा भ्रष्टाचार नहुने र घुस नखाने कुनै क्षेत्र पनि छैन । सम्भवतः हुलाक र सरकारी स्कुलहरुमा मात्रै थोरै घुसको कारोबार हुने अनुमान गर्न सकिन्छ । तर, अन्यत्र सबै ठाउँमा घुसको कारोबार हुन्छ । भ्रष्टाचार नगरिँदो र घुस नखाइँदो हो त विकास निर्माणका कामहरु छिटोछरितो सम्पन्न हुने थिए । कामहरु गुणस्तर हुने थिए । तर, ती केही पनि भएका छैनन् । जतासुकै बेहाल छ ।

अन्त्यमा,

भ्रष्टाचार र घुसका बहुआयामिक कारणहरु छन् । ती कुनै एउटा वा दुईटा मात्रै छैनन् । सिंगो राज्यसंयन्त्र, शासन प्रणाली, सामाजिक व्यवहार आदि धेरै कारण छन् ।

तत्काल भ्रष्टाचारलाई समाप्त पार्न नसकिए पनि प्रधानमन्त्री, मन्त्रिपरिषद, मन्त्रालयबाट हुने, भइरहेका नीतिगत भ्रष्टाचार रोक्दै जाने हो भने तल्लो तहमा पनि धेरै हदसम्म रोक्न सकिन्छ । तर, वर्तमान दलाल पुँजीवादी सरकार नै भ्रष्टाचार र घुसमा टिकेको हुनाले भ्रष्टाचार अन्त्यको अहिल्यै कल्पना गर्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment