Comments Add Comment

महिला र पुरुषको सुखको परिभाषा बदलौं

आधाभन्दा बढी आकास ढाकेका महिला सुखी हुनुले नै समग्र परिवार र समाजको स्थिति जाहेर गर्छ । समय–समयमा मनाइने महिला दिवस, उत्सवहरुको उद्देश्य महिलाहरु अधिकारवाट वञ्चित नहुन्, खुशी र सुखी बनुन् भन्ने नै हो ।

सन् २०१८ मा प्रकाशित राष्ट्र संघको एक प्रतिवेदनले सुखी हुनलाई आम्दानी, सामाजिक सहयोग, स्वस्थ्य जीवन, स्वतन्त्र छनोट, भष्टाचारको स्थितिलाई आधार मान्दा नेपाल १५६ देशमध्ये १०१ आंै स्थानमा ४.८६ अंकसहित परेको देखाएको छ ।

तर, कुनै पनि व्यक्ति सुखी र खुशी हुन केलाई आधार मान्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । यसको परिभाषा समय, सामाजिक परिवेश र बनावटले पनि निर्धारण गर्छ । हाम्रो सामाजिक परिवेशमा महिला र पुरुषको सुखी हुनुको परिभाषा बेग्लै छ ।

उनी कति भाग्यमानी ! रानीजसरी पालेको छ लोग्नेले, कुनैकुराको कमी छैन, पुगीसरी आएको छ । हजुरआमा, आमा, ठूलीआमा, माइज्यू, काकी, सानीआमा, फुपू आदिको त्यो आवाज बारम्बार कानमा गुञ्जने पनि थुप्रै होलान् ।

यहाँ हजुरआमा र अन्य यी प्रतिनिधिपात्र मात्र हुन्, जसले समाजमा चली आएको भनी राम्रा–नराम्रा कुराको वकालत गर्छन्, संस्कार र कुसंस्कारलाई थामिरहेका छन् । तर, कति पात्र भने चलनचल्तीका परिभाषादेखि विमुख छन् । रानी, महारानी, बडामहारानी हुनु, बनाइनुमा सायद हजुरआामा, आमा र आम नेपाली महिलाका परिभाषा हुन् । यस्ता भनाइहरु सुन्दै, हुर्कंदै आएका मध्ये कोही–कोहीको आफ्नै बेग्लै परिभाषा पनि होलान् ।

सायद समाजले देखेको नारी सुखभित्र नै रमाएकी छ कि छैन भन्ने हो । एउटी नारी विवाह अनि बच्चाबच्चीको जन्मपछि आफ्नो खुशी नै सन्तानको खुशी हो भनेर रमाउन, सुखी हुन खोज्छिन् । उनलाई आफ्ना आमाबाबु, परिवार र समाजले पनि त्यसरी नै सुखी हुनुपर्छ भनी अथ्र्याएको हुन्छ । उनी दत्तचित्त भै सेवा नै परम धर्म भन्दै जीवन सुम्पिन्छन् ।

सायद श्रीमतीले यसरी लालावाला, घर सम्हालेका पुरुषहरु सुखी पुरुषको परिभाषामा समाजमा अटाउँछन् । नत्र दुःखी पुरुष हुन पुग्छन् । प्रायः घरमा माखो मार्नु नपरेको, छोराछोरी र आमाबाबुको हेरचाहमा खटिनु नपरेको, पाहुना पासा, चाडपर्व श्रीमतीले संगालिदिएका सबै पुरुषहरु सुखी पुरुषको परिभाषामा समाजमा पर्छन् ।

हजुरआमा, आमा वा परिवारका अन्य महिलाकाको नजरले हेर्ने हो भने हरेक क्षेत्रमा छोराछोरी र घर परिवारको अहोरात्र सेवा गरी हुर्काउने बढाउने, मिले अलिअलि घरखर्च र आफ्नो पकेट खर्चको जोहो आफंै गर्ने, सामाजिक सञ्जालमा सुखी परिवारको तस्वीर पोष्टिने नारी सुखी नारी हुन् ।

उहिले सुखी देखाउन कि त प्रत्यक्ष आँखाले देख्नुपर्ने, कि त देखेकाले भन्नुपर्ने । अहिले शहरिया परिवेशमा यो सजिलो छ । निधारको टीकादेखि पैतालाको जुत्तासम्म श्रीमान–श्रीमतीले रंग मिलाई लगाउने, फोटो खिच्ने, अनि सामाजिक सञ्जालमा पोष्टिने । देख्नेजत्तिले लाइक ठोक्ने, जसले धेरै लाइक पायो, उसैको परिवार सुुखी भएको ढोल पिटिने ।

एकातिर सात समुन्द्र पारिदेखि सामाजिक सञ्जालमा आउने ती फोटोपिच्छे रंगीचंगी लुगामा ङिच्च गरेका अनुहारले उनको सुख परिभाषित गरिरहेको हुन्छ भने अर्कातिर उतै हान्निन पाए सुखी हुन्थें भनी लोभिने महिलाको जमात यता खडा हुन्छ ।

त्यतिमात्र होइन, देशभित्रै पनि घरको ढोकादेखि नै सुनका गहना र महंगा लुगा लगाएका तस्वीर सामाजिक सञ्जालमा पोष्टिन आतुर भई सुखी देखिन होडले कतिपय नारीलाई पिरोलेको हुन्छ ।

हुन त ङिच्च हाँस्नु र मनदेखि हाँस्नु फरक कुरा हो । तर, पनि सामाजिक सञ्जालमा आज सुखी छु भनी देखाउने गतिलो माध्यम बनेको छ, हात्तीका दुईटा दातझैं ढोंगीको जमघट बनेको छ । सामाजिक सञ्जालमा फोटो पोष्टिन नपाउने हो भने पनि कैयांैका दिनचर्या पनि बदलिँदो हो ।

पदोन्नति भएर भेट्न आउने जोडीलाई दङ्ग पर्ने, हत्तपत्त टीका, माला लगाई आशिष दिइहाल्ने चलन छ । राजासरह हुनु, अझै प्रगति गर्नु, भगवान दाहिने हुन् इत्यादि भनी आशिष बढुवा हुने श्रीमानलाई एकातिर दिने, अनि अर्कातिर श्रीमतीलाई ‘सहनशीला बन्नु, सुशिला बन्नु, पृथ्वीजस्तै भई घर धान्नु, श्रीमानको सुखमा रमाउनु इत्यादि ।

हुन पनि हो, अघिल्लो पुस्तालाई उहाँहरुका बुबाआमाले त्यही सिकाए । जे सिकाए, त्यही जाने । समाजमा पनि श्रीमानको बढुवासँगै श्रीमतीहरुलाई माला लगाई वधाई दिने चलन व्यापक छ । एक हिसावले ठीकै हो, श्रीमानको प्रगतिमा श्रीमतीको पनि गतिलै सहयोग हुन्छ । तर, परिवार बाहेक तिनले समग्र समाजलाई योगदान दिई समग्र समाजको हितमा होमिन र आत्मसम्मानको जीन्दगी जीउन सिकाउनु उचित हुन्छ । हिजोलाई भुलेर आजको आवश्यकता पनि हो यो ।

घरपालुवा वस्तुभाउलाई झै लोग्नेले बचन लगाउँदै दानापानीको व्यवस्था गर्दिएको छु भनी अहम पोखेको देखिन्छ । सायद, जागिरे नारीहरुले त्यो सुन्नुपर्दैन, आफ्नो खुट्टामा उभिएका जागिरे नारी सुखी हुन् । तर, भनिन्छ, फलानोकी छोरीले पढेर दुःख पाई । जागिरमा लखतरान परेर आउँछे, घरको सब काम गर्नुपरेको छ । तर, हेर फलानाकी छोरी खासै पढेकी छैन, जागिरे पनि छैन, तर, कति भाग्यमानी ! कत्रो ठाँट छ ! फेरि, एकचोटि घोत्लिन बाध्य हुनुपर्छ । कतिले श्रीमतीलाई सुनको पिँजडाका सुगा बनाई, बाहिर रासलीला गरेको देखिन्छ ।

नारीको सुखका विषयमा मतान्तरण हुन्छ । सुखी नारीका विषयमा भित्रै पनि द्वन्द्व छ । कितावमा लेखिएको र हामी हुर्किएको समाजको परिभाषावीच नारी सुखका विषयमा अझै धेरै अन्योल छ । आफंैमा अल्झिइन्छ ।

एउटी शहरिया नारी घरभित्र सहनशीला, सुशीलाको परिभाषामा पर्छे । गाडी चढेर अफिस जान्छे । हाकिम रिझाउँछे । उसको श्रीमान सुखी पुरुष ।

ती सुखी महिलाको कामधन्दा भन्दा पनि घरमा श्रीमानको र अफिसमा हाकिमको स्याहार–सुसारमा नै घरको रोजीरोटी चल्छ । कार्यालय र घरवीच तारतम्य मिलाई दोहोरो च्यापमा परेका सुखी पुरुषका सुखी देखिएका यस्ता श्रीमतीहरु यत्रतत्र देखिन्छन् ।

नारीको हकहितको कुरा जब आउँछ, पुरुष मित्रहरु खहरे सरी प्रश्न तेर्साउनुहुन्छ, नारीको शत्रु नारी हो, नारीलाई नारीले नै अत्याचार गरी रहेका छ । पहिले बिहे भएको थाहा हुँदाहुँदै भित्रिने पनि नारी नै हुन् । बुहारीलाई दुःख दिने सासू, नन्द, आमाजू र सासूलाई दुख दिने बुहारी पनि नारी नै हुन् आदि ।

कतिपय नारी चाइनिज क्यालेण्डर हेरेर गर्भ बसाउँछन् वा बारबार गर्भपतनको गरी घोर्ले छोरो जन्माएर स्वस्थानी ब्रत गरी साली नदीमा नुहाउन पुग्छन् । ब्रतको महिमाको प्रचार–प्रसार गरी त्यसरी नै छोरा जन्माउन अरुलाई पनि हौस्याउँछन् । उता बुढीआमा नातिले अब स्वर्गको ढोका उघारिदियो भनी गडकिन्छिन् । सुखी भएको अनुभुति गर्छिन् । यी नारी भए पनि पितृसत्ताका पृष्ठपोषक होइन र ?

अर्काथरी नारीहरु ज्योतिष र टुनामुनाको सहायता नलिई एक पाइला पनि सार्देनन् । सबैलाई काबुमा राख्न यही सजिलो अस्त्र हो भनी मान्छन् । अहोरात्र त्यसैका पछि दौडिरहन्छन् ।

कोही पुरुष श्रीमतीलाई नामकी महारानी बनाउँछन, बोलाउँछन् । तर, हैसियत दासीको दिन्छन् । तर हाम्रो समाजमा कति पितृसत्ता नबोकेएका पुरुषहरु पनि अपवादको रुपमा पाइन्छ ।

साधारणतया समाजको नजरमा दुःखी नारी पनि थुप्रै छन् । प्रायः श्रीमान र परिवारले हेला गरेका, एकल महिला, श्रीमानले दोस्री, तेस्री भित्र्याएका, कमाइ तथा सम्पति नभएका, समाजले तिरष्कार गरिएका, परिवारले बहिष्कार गरेका ।

कतिपयको नजरमा अर्कातिर दुःखी पुरुषहरु ती हुन् जो कमाइको साथै घर परिवार, श्रीमतीलाई घरधन्दामा सहयोग गर्छन्, साथीभाइसँग जतिबेला मन लाग्यो, उतिबेला बरालिन पाउँदैनन् । छोराछोरीको हेरचाहमा श्रीमतीलाई सघाउनुपर्ने बाध्यतामा छन् । नातागोता र इष्टभित्रको स्वागत–सत्कारमा श्रीमतीसँगै खटिनुपरेको छ, आदि ।

तर, यस्ता पुरुषका श्रीमतीहरु चाहिँ सुखी महिलाको परिभाषाभित्र पर्छन् । दुःखी महिलालाई प्रायः समाजमा सहानुभुति र हेयको भावमा हेरिन्छ । तर, यस्ता दुःखी पुरुषको त जोइठिङ्ग्रे, फरिया लाएको जस्ता नामाकरणसहित उपहास नै गरिन्छ । सायद, यसैका कारण पनि होला कतिपय पुरुषहरु पितृसत्ता सोचबाट निस्कन हच्किन्छन् र सुखी पुरुषको परिभाषामा अटाउन चाहन्छन् ।

जति दुःखी हँुदा पनि सहनशीलाका पाठ नबिर्सी दत्तचित्त भई अन्याय सहेकालाई चाहिँ तारिफ गरिन्छ । फलानीले घर गरी, पृथ्वी भै घर धानी भनी बेलाबेलामा अरुलाई पनि हौंस्याउने र आफू पनि हौसिने गरेका उदाहरण प्रशस्त छन् । तर, पढेलेखेका वा जाने बुझेका तर आत्मसम्मान, आत्मवल गुमाएका, हीन भावनाले ग्रसित भएका नारी पो दुःखी हुन नि, होइन र ?

कोही लाञ्छनाको सिकार भएका । तर, प्रतिकार गर्न आँट नभएका । कोही प्रतिकार गरेका, तर सुनाइ नहुँदा छिट्टै हतासिएका । अनि, आफूसँग आएका चुनौतीहरुलाई सहज नलिएका वा चुनौती पनि अवसर हुन सक्छन् भनी नमानेका नारीहरु पो दुःखी नारी हुनुपर्ने हो कि ?

आजको युगमा पनि उही भौतिक सुखका लागि मात्र सुखी बन्नुभन्दा पनि एउटी नारीले परिवार, समाज र समग्र देशको हितमा काम गर्न सक्छु भनी आँट र सहास देखाउन जरुरी छ । दुःख र सुखको परिभाषालाई समय, काल र परिस्थितिअनुसार हामी नारी आफंैले निर्धारण गर्नुपर्छ ।

आखिर, सुख र दुःखको परिभाषा आफ्नै हो र आफ्नै लागि हो । त्यसैले अब महिला र पुरुषको सुख र दुःखको परिभाषा बदल्ने बेला भएन र ? समयसापेक्ष बदलिनु र परिभाषित हुनु समयको माग पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment