जेठीमा भाउजूले सुकाएको बिस्कुन
भँगेरी चरीले मैदानमा लरी लरर…
जेठामा दाजीले टक्क बचन लाउँदा
घर मेरो छैन र रुन्छ नि मन धरी धरर..
स्वामीजीले भन्नुभयो अंग्रेजीमा वाटर
नबुझेर दिएँ मैले काँचो कटहर…
स्वामीजीले भन्नुभयो अंग्रेजीमा बनाना
नबुझेर आँगनीमा नाँचे फनन…
हामी सानो छँदा गाउँघरमा आमा, दिदी, भाउजूहरुले तीजको समय यस्तै गीतहरु गाउनुहुन्थ्यो । जुन गीतमा माइतीका गुनगान अनि गुनासो हुन्थे । बिहे गरेर श्रीमानको घर गएपछि भोग्नुपरेका बुहार्तन, दुःख कष्ट लगायतका कुराहरु समेटिएका हुन्थे ।
वर्षायामको झरीमा रुझ्दै घाँस काट्दा होस् वा संगीसाथी मिलेर मेलापात गर्दा, तीजमा यस्ता मौलिक गीतहरु गाइन्थे, सुनिन्थे र नाचिन्थे ।
दिनभरि घरको काम सकेर हप्तामा १/२ रात जम्मा भएर यस्ता गीतमा नाच्ने गर्दा गाउँ नै रमाइलो हुन्थ्यो । नाचगान सकिएपछि काँक्राको अचार र अमिलो साँधेर खानुको छुट्टै आनन्द हुन्थ्यो । वर्ष दिनसम्म भेट हुन नपाएका दिदीबहिनी, संगीसाथी जमघट हुने रमाइलो थलो हुन्थ्यो हरितालिका तीजको दिन ।
तीज हिन्दु धर्मावलम्बी महिलाका लागि विशेष चाड मानिन्छ । तीज नेपाल लगायतका भारतका विभिन्न स्थानहरुमा समेत मनाउने गरिन्छ । पछिल्लो समय यो चाड सबै जात र समुदायका लागि साझा चाडको रुपमा विकसित हुँदैछ । समग्रमा यसले हाम्रो सांस्कृतिक पहिचानलाई बोकेको छ ।
यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको पूजा आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गरिन्छ ।
नेपाली समाजमा पछिल्लो समय तीज मनाउने शैलीहरु फेरिएका छन् । हिजो थपडी, डम्फु, मादलमा गाइने सामान्य तीज गीतहरु अहिले आधुनिक बाजागाजामा लयबद्ध छन् , यो सकारात्मक पक्ष हो । अर्कोतिर अहिले धेरैजसो तीजका गीतहरुमा मौलिकता छैन, कतिपय गीतहरु पुरानै गीतहरुलाई तोडमोड गरेर गाइएका छन् त कतिपय गीतहरुमा तीजको आभास नै छैन । लोकगीत अनि रत्यौली पाराका छाडा गीतहरु छन् । एकाद गीतहरु मौलिक छन्, तीजको महत्व झल्काउनेखालका छन् ।
समग्रमा जुन प्रवृत्ति मौलाउँदै गइरहेको छ, यो सोचनीय छ । लेख पढ्दा लेखकले फेरिएको शैलीलाई समयअनुसार स्वीकार्न नसकेको पनि लाग्न सक्छ । भन्न खोजेको यत्ति हो कि तीजगीतहरु कमसेकम आफ्ना बा-आमा, दाजुभाइ र मान्यजनसँग सँगै बसेर सुन्न र हेर्न सक्ने त हुनुपर्यो ।
अर्को पक्ष, तीज निकै भडि्कलो बन्दैछ । विशेषतः शहरी क्षेत्रमा तीज आउनुभन्दा एक डेढ महिनाअगाडि नै होटल, रेष्टुरेण्टमा हुने भिडभाडले तीज निकै खर्चिलो बनिरहेको छ । जसका कारण सामान्य हैसियत भएका महिला दिदी-बहिनी, आमाहरुसँग बिस्तारै टाढिँदैछ तीज । तीज फेसन र गहना प्रदर्शन गर्ने थलो बन्नुभएन । यो त महिला दिदीबहिनी, दाजुभाइ, संगीसाथीबीचको सम्बन्ध प्रगाढ बनाउने र हार्दिकता बढाउने माध्यम बन्नु जरुरी छ ।
यसका लागि महिलाहरु स्वयं मितव्ययी र सरल बन्न जरुरी छ । अर्कोपक्ष आजकाल तीजका जमघटहरु गहना र कपडा प्रदर्शन गर्ने थलो बनिरहेका छन् । राम्रो आर्थिक हैसियत हुनेहरुका लागि यो कुरा सामान्य लाग्न सक्छ । तर, निम्नवर्गीय जीवन बाँच्ने धेरैजसो महिला दिदी-बहिनीहरुका लागि यो जटिल कुरा हो, कठिन कुरा हो । यसकारण पनि तीज हुने खानेहरुको पर्व बन्दै गइरहेको छ । हुँदा खानेहरु पनि तीजमा उत्तिकै रमाउन सके बल्ल यो साझा पर्व बन्छ ।
मलाई अनुभव छ, गाउँघरमा कत्ति धेरै दिदीबहिनीहरु त प्रशस्त गहना र महंगा कपडा नभएको कारण वर्षौंदेखि तीजको डाँडो कट्नुभएको भएको छैन ।
यो सबै तीज मनाउने भडि्कलो शैलीको उपज हो । हुन त समाजमा विद्यमान वर्गीय असमानता नै यसको मुख्य कारण होला । तर, समानताका लागि सुरुवात यस्तै स-साना कुराबाट गर्नुपर्दछ । जसले गर्दा कसैलाई हीनताबोध र कसैलाई अहमता नहोस् ।
आधुनिकताका नाममा तीजमा उछृंखलता र छाडापन बढ्नु भएन । सस्तो लोकप्रियता र व्यवसायिक लाभका लागि तीजका गीतको मर्म र सार हराउनु भएन । सांस्कृतिक तथा धार्मिक महत्व राख्ने महान् चाड तीजलाई सभ्य रुपमा अगाडि लैजान सकियो भने मात्र तीजले खास अर्थ राख्नेछ ।
(गुल्मीको तम्घास निवासी कुँवर सामाजिक अभियन्ता हुन् )