Comments Add Comment

बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठको मृत्युबारे छानबिन गर्न कांग्रेसको माग

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्व नासु तथा पार्टीको पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठको मृत्यु रहस्यमय भएको भन्दै अनुसन्धान गर्न माग गरेको छ ।

उनले आइतबार काठमाडौंको माछापोखरीमा रहेको हिमालय सिटी सेन्टरबाट हामफालेर आत्महत्या गरेको प्रहरीले बताएको थियो । तर कांग्रेसले उनको मृत्यु रहस्यमय भन्दै मृत्यु हुनासाथ अनुसन्धान नै नगरिनु र पोष्टमार्टमसमेत नभएको अवस्थामा प्रहरीले आत्महत्या भन्नु गम्भीर विषय भएको बताएको छ ।

‘घटनास्थलको प्रकृति हेर्दा आठ तलाबाट खसेको भनिएको घटनाको प्रत्यक्षदर्शी कोही पनि नहुनु र घटना स्थलमा रगत समेत नदेखिनु, शरीरको कुनै पनि भाग चोटपटक र अंगभंग नहुनु जस्ता कुराले घटनालाई रहस्यमय र शंकास्पद बनाएको छ’ कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यो घटनाको संवेदनशीलताका साथ यथार्थ छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

श्रेष्ठको सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनलाई पार्टीका तर्फबाट नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, जिल्लाका नेताहरु, पार्टीका सदस्यहरु तथा स्वर्गीय श्रेष्ठका आफन्तजन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment