Comments Add Comment

भत्किएको घरको बरण्डामा पहिरोपीडितको बास

स्थानीय प्रशासनले नबस्न गरेको आग्रह पीडितले मानेनन्

१४ साउन, रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–४, पकरबासस्थित माढीका रूपनारायण मानन्धरको परिवारको बास १५ दिनदेखि घरभित्र छैन । उनको परिवारको बास पहिरोले पुर्न ठिक्क पारेको घरको बरण्डामा छ ।

‘भित्र बस्दा कतिवेला पहिरोले घर भत्काएर पुर्ला भन्ने डर छ । बाहिर वरण्डामा बस्दा त भाग्न भ्याइएला नि । त्यसैले बाहिर बरण्डामानै बस्ने र सुत्ने गरेको’, उनले बरण्डामा बस्नुको कारणबारे भने ।

गएको असार २६ र त्यसपछिको वर्षाले आएको पहिरोले माढी क्षेत्रका २४ भन्दा बढी घर परिवार प्रभावित भएका छन् । पहिरोले माढी मुहानदेखि सानोआँप क्षेत्रका सडक किनाराका घरहरु माथिबाट खसेको पहिरोले प्रभावित भएका हुन् ।

स्थानीय सम्झना कार्कीका अनुसार, बस्तीमाथिबाट आएको पहिरोले कतिपय घरहरूमा क्षति पुगेका छन् ।
पहिरो प्रभावित क्षेत्रको अनुगमनमा पुगेको स्थानीय प्रशासनले जोखिम रहेकाले नबस्न पीडितहरूलाई सुझाएको छ । यद्यपि, पीडितहरू जोखिम मोलेरै चर्किएका घरमा बसिरहेका छन् ।

पहिरो प्रभावित क्षेत्रमा जिल्लास्थित राजनीतिक दलको टोलीसहित आफूले निरीक्षण गरेको रामेछापकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसीले बताइन् । उनका अनुसार, जोखिमपूर्ण भएकाले त्यहाँ नबस्न स्थानीयलाई प्रशासनको तर्फबाट निर्देशन दिइएको छ । ‘स्थानीय प्रशासनले नबस्न निर्देशन दिए पनि पहिरो प्रभावितहरु अहिले पनि जोखिम मोलेर बसिरहनु भएको छ’, प्रजिअ केसीले भनिन् ।

तर पहिरोपीडित सीता कार्की आफ्नो सबै सम्पत्ति तिनै घरमा भएकाले जोखिम मोलेरै भए पनि बस्न बाध्य भएकाे बताउँछिन् ।

‘पानी परेको बेला नजिकका अरू सुरक्षित घरमा जान्छौं । पानी नपर्दा पहिरोले पुरेका घरकै बाहिर बराण्डामा बस्छौं । आफ्नो सबै यहीँ त नबसेर कहाँ जानु ?’, कार्कीले भनिन् ।
नवराज पथिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment