Comments Add Comment

राजनीति अखडा बन्दै स्नातकोत्तर क्याम्पस : १० महिनादेखि तालाबन्दी

ध्रुब भट्टराई

१५ साउन, विराटनगर । विराटनगरस्थित स्नातकोत्तर क्याम्पस पछिल्लो समय राजनीतिक अखडाको रुपमा विकास हुँदै गएको छ । समान्य विषयलाई लिएर तालाबन्दी गर्ने होडले विश्वविद्यालय राजनीतिक अखडाको रुपमा विकास हुन थालेको हो ।

प्राध्यापक संघले राजनीतिक भागबन्डाका आधारमा बाहिरका प्राध्यापकलाई क्याम्पस प्रमुख बनाएको विरोधमा तालाबन्दी गरेको छ । १० महिनादेखि लगाएको ताला अझै खुलेको छैन । ताला नखुलेपछि क्याम्पस प्रमुख महेश खत्री अन्यत्र बसेर काम गर्दै आएका छन् ।

उनको नियुक्तिप्रति असहमति जनाउँदै प्राध्यापक संघले खत्रीको कार्यकक्षमा तालाबन्दी गरेको थियो । खत्रीको ४ वर्षे कार्यकाल मध्ये झण्डै एक वर्ष कार्यकक्ष बाहिरबाटै काम गरिरहेको उनले बताए ।

प्राध्यापक संघका अध्यक्ष टुनराज भट्टराईले आफना जाहेज माग भएकाले सम्बोधन नभएसम्म तालाबन्दी नखोलिने बताए ।

अध्यक्ष भट्टराईले क्याम्पस प्रमुखले ताला खुलाउने प्रयाससमेत नगरेको बताए । प्राध्यापक संघले स्नातकोत्तर क्याम्पसकै प्रध्यापकबाट क्याम्पस प्रमुख बनाइनुपर्ने माग गर्दै आएका छन् ।

महेश खत्री महेन्द्र मोरङ क्याम्पस विराटनगरका मनोविज्ञानशास्त्रका प्राध्यापक हुन । तालाबन्दीले क्याम्पसको कुनै पनि गतिविधिमा प्रभाव नपारेको खत्रीको दावी छ । त्रिविले खत्रीलाई गएको कात्तिक महिनामा क्याम्पस प्रमुख बनाएर पठाएको थियो ।

स्नातकोत्तर क्याम्पसमा ५० जना प्राध्यापक छन् । विद्यार्थी भने २ सय ५० जना मात्र रहेका छन । क्याम्पस प्रसाशनका अनुसार पछिल्लो समय क्याम्पसमा विद्यार्थी संख्या घट्दो क्रममा छन् ।

त्रिवि क्षेत्रीय कार्यालयमा पनि तालाबन्दी

स्नातकोत्तर क्याम्पस भवनमै सञ्चालित त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका प्रमुख सह-परीक्षा नियन्त्रकको कार्यालयमा पनि तालबन्दी गरिएको छ ।

प्रमुख सह-परीक्षा नियन्त्रकका अर्जुनबिक्रम खड्को कार्यकक्ष गएको पाँच महिनादेखि तालाबन्दी गरिएको छ ।

तीनवटा विद्यार्थी संगठनले गत माघ २० गतेदेखि कार्यकक्षमा तालाबन्दी गरेपछि उनी कार्यकक्ष बाहिर बसेर काम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment