Comments Add Comment

ढिलासुस्तीले फोरजी ग्राहक गुमाउँदै टेलिकम

फोरजी बजारमा एनसेल निकै अगाडि

१४ साउन, काठमाडौं । समयमै नेटवर्क विस्तार नगर्दा नेपाल टेलिकम फोरजी सेवामा निजी सेवा प्रदायकभन्दा निकै पछाडि परेको छ । नेपालको फोरजी बजारमा अहिले टेलिकमको हिस्सा २१ प्रतिशतमात्रै छ ।

गत माघमा नै ठेकेदार कम्पनीहरुसँग टेलिकमले फोरजी सेवा विस्तारको सम्झौता गरेको थियो । एक वर्षमा सिध्याउने गरी भएको सम्झौता अवधिको करिब आधा समय नेटवर्कहरुको सर्भेको काममा नै बित्यो । लक्ष्यअनुसार अब ६ महिनाभित्रै तोकिएका सबै स्थानमा टेलिकमले फोरजी नेटवर्क विस्तार गरिसक्नुपर्छ ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य अझै पनि निर्धारित समयमै काम सक्ने दावी गर्छिन् । दुबै ठेक्कातर्फको उपकरण आयात भएर काम अघि बढेकाले फोरजी सेवा विस्तारको काम सक्न ६ महिनाभन्दा बढी नलाग्ने उनको भनाइ छ । तर, टेलिकमकै प्राविधिक कर्मचारी यो सम्भव नभएको बताइरहेका छन् ।

अहिले टेलिकमको फोरजी/लंग टर्म इभोलुसन (एलटीई) सेवा विस्तारका लागि पूर्वाधार जडानको काम सुरु भएको छ ।

एनसेलको बलियो पकड

अन्य सेवामा उछिन्न निजीभन्दा अगाडि रहेको टेलिकम फोरजी सेवा चाहिँ निरीह बनिरहेको छ । बजारमा निजी क्षेत्रको एनसेलले बलियो पकड बनाएको छ । फोरजी बजारको करिब ७४ प्रतिशत हिस्सा एनसेलको छ ।

टेलिकमभन्दा ढिलो सेवा सुरु गरेको स्मार्ट टेलिकमले समेत ५ प्रतिशत बजार हिस्सा बनाइसकेको छ । एनसेलको फोरजीको बजार हिस्सा हाल ७४ प्रतिशत छ । जति ढिलो भयो, टेलिकमलाई ग्राहक तान्न उति कठिन हुनेछ ।

देशमा हाल फोरजीका ३६ लाख १२ हजारभन्दा बढी प्रयोगकर्ता छन् । त्यसमा झण्डै २६ लाख ७५ हजार प्रयोगकर्ता एनसेलका हुन् । टेलिकमसँग जम्मा ७ लाख ६२ हजार मात्रै फोरजीका प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमले करिब एक लाख ७४ हजार ग्राहक तानेको छ ।

टेलिकमले काठमाडौं र पोखरापछि अन्य क्षेत्रमा फोरजी विस्तारमा ढिलाइ गर्दा धेरै ग्राहकले एनसेल रोजेका हुन् । एनसेलले फोरजी सेवा देशका सातै प्रदेशका एक हजारभन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीहरुको पहुँचमा पुगेको घोषणा गरिसकेको छ । प्रायः सबै शहर र शहरी क्षेत्र भन्दा बाहिर रहेका ग्राहकहरुले पनि एनसेलबाट फोरजी सेवा लिन सक्छन् ।

तर, टेलिकमको सेवा दुईवटा शहरबाट अन्यत्र विस्तार हुन छैन । जसका कारण टेलिकमको आम्दानीमा पनि प्रभाव परेको छ । यसै पनि गत वर्षहरुभन्दा कमजोर आम्दानी गरिरहेको टेलिकमलाई फोरजी सेवा विस्तारमा भएको ढिलाईले असर पारेको छ ।

पछिल्लो समय इन्टरनेट प्रयोगकर्तामा फोरजीको आकर्षण बढ्दो छ । यो प्रविधिको फ्रिक्वेन्सी प्रभावकारी हुन्छ । जसले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँछ ।

यसले मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइलहरु सजिलै र छिटो आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरु सजिलै हेर्न सकिन्छ ।

फाईभजीको आधार

टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्‍यान) को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा पाएका छन् ।

टेलिकमले नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा र्‍यान नेटवर्क तयार गर्नेछ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । ¥यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ ।

नेपाल टेलिकमले मुलुकमै पहिलोपटक मिति ०७३ पौष १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजीसेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भएपश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ‘ओभरले’ रुपमा सञ्चालन गर्ने बताइएको छ । यस्तोमा यदि प्रयोगकर्ताले फोरजी प्रयोग गरिरहँदा फोन आयो भने त्यसको नेटवर्क इन्टरनेटमा सिफ्ट हुन्छ ।

मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार तथा कभरेज र क्यापिसिटीका लागि स्मार्ट सेल विथ वाइफाइ विस्तार गर्न सकिने दावी टेलिकमको छ ।

‘हामीले फोरजी विस्तार गरेपछि २०२५ सम्म अधिकतम लाभ लिन सक्नुपर्छ,’ टेलिकमका प्रवन्ध निर्देशक डिल्लराम अधिकारी भन्छन्, ‘त्यसपछि अर्को १० वर्ष फाईभजी र फोरजीको सेवा समानान्तर रुपमा जान सक्छ ।’

अधिकारीले हाल विस्तार हुने फोरजीको पूर्वाधार पछि फाईभजीमा पनि उपयोग हुने बताए ।

‘फोरजीका लागि तयार गरिने टावर र पावर स्टिम फाईभजीको लागि पनि हुन्छ,’ अधिकारी भन्छन्, ‘यो सेवा विस्तार भएपछि कम्पनीलाई पनि लाभ हुन्छ भने ग्राहकले पनि थप स्तरीय सेवा पाउँछन् ।’

उनले फोरजी सेवा विस्तारमा एक वर्ष ढिलाइ भए पनि फोरजी प्रविधिका ‘लेटेस्ट र न्यू भर्सन’ का उपकरण नै जोडिने दावी गरे । बजारमा उपलब्ध सबैभन्दा नयाँ प्रविधिकै प्रयोग गरेर फोरजी सेवा विस्तार भइरहेको उनको भनाइ छ ।

टेकिलमले फोरजीसँगै टुजी र थ्रीजी विस्तारलाई पनि सँगसँगै लैजाने बताएको छ । यस्तै बिभिन्न क्षेत्रमा बीटीएस टावर स्थापनाका लागि पनि टेलिकमले काम गरिररहेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment