Comments Add Comment

नेपाली आयातकर्ता फकाउन कोलकाताको टोली वीरगञ्जमा

नेपाली व्यवसायी विशाखापट्नमतर्फ आकर्षित

१५ साउन, वीरगञ्ज । भारत तथा तेस्रो मुलुकबाट सामान आयात गर्ने नेपाली व्यवसायी भारतको विशाखापट्टनम बन्दरगाहतर्फ आकर्षित भएका छन् ।

सामान आयातमा अनेकन झञ्झट ब्यहोर्नुपरेको भन्दै व्यवसायी कोलकाता बन्दरगाह छाडेर विशाखपट्टनमतर्फ आकर्षित भएपछि नेपाली व्यवसायी फकाउन कोलकाताको एक टोली वीरगञ्ज आएको छ । मंगलबार उनीहरुले वीरगञ्जका व्यवसायीसँग यस विषयमा छलफलसमेत गरेका छन् ।

अप्रिल महिनायता वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा कोलकताभन्दा विशाखापट्नम बन्दरगाहबाट बढी रेल्वे र्‍याक आएको छ । सुक्खा बन्दरगाहमा कार्गो ह्यान्डलिङ गर्दै आएको हिमालयन टर्मिनल्सले दिएको तथ्यांकअनुसार अप्रिल महिनामा कोलकाताबाट १९ र विशाखापट्नमबाट २० कन्टेनरबाहक रेल्वे र्‍याक आएका थिए ।

मे महिनामा कोलकतातर्फ झनै घट्यो, कोलकाताबाट १५ र विशाखापट्नमबाट २५ रेल्वे ¥याक आए । यस्तै, जुन महिनामा कोलकाताबाट १५ र विशाखापटनमबाट ३२ र्‍याक आएका छन् । यसअघि विशाखापट्नमभन्दा झण्डै दोब्बर बढी ¥याक कोलकाताबाट आउने गरेको थियो ।

पहिले भारत तथा तेस्रो मुलुकबाट हुने कारोबारका लागि कोलकाता बन्दरगाहकै भर पर्नुपर्ने बाध्यता रहे पनि सन् २०१७ मा विशाखापट्नम बन्दरगाह नेपालीका लागि खुलेको हो ।

आयातको परिमाण हेर्दा सन् २०१७/१८ मा कोलकाता बन्दरगाहबाट ८२ हजार २ सय ८ कन्टेनर आएकोमा र विशाखापट्नमबाट ४ हजार ७ सय ४६ कन्टेनर मात्र आएका थिए । २०१८/१९ को जुलाई २५ सम्म कोलकाताबाट ७९ हजार ७ सय ७७ कन्टेनर आउँदा विशाखापट्नमबाट १७ हजार ५६ कन्टेनर आएका छन् ।

पछिल्लो समयमा विशाखापट्नम र कोलकाता दुवैले सीआईएफ (कष्ट, इन्स्योरेन्स, फ्रेट) दिएका छन् । तर, कोलकातामा झन्झटिलो कागजी प्रक्रिया, कन्टेनर नपाउने समस्या, सिपिङ कम्पनीहरुको मनोमानीले समस्या झेल्नुपरेको आयातकर्ताको गुनासो छ । कोलकाता बन्दरगाह नेपालबाट नजिक दुरीमा रहे पनि विशाखापट्नम गहिरो सामुन्द्रिक किनारामा भएकाले ठूला जहाजहरू आउने, सीधा वीरगन्ज सुक्खा बन्दरगाहमा ल्याउन सजिलो हुने, कन्टेनर पनि सहज उपलब्ध हुने र कागजी प्रक्रियाको झण्झट नहुने उनीहरु बताउँछन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले कोलकाता बन्दरगाहमा सिपिङ कम्पनीले बढी शुल्क लिएर दुःख दिएकाले नेपाली आयातकर्ताहरु विशाखापटनमतर्फ आकर्षित भएको बताए ।

‘कोलकाताको तुलनामा विशाखापट्नमले पोर्टमा लाग्ने शुल्क पनि कम छ र सिपिङ कम्पनीसँग पनि बार्गेनिङ गरेर दर निर्धारण गर्न लगाएको छ,’ उनले भने, ‘ईसीटीएस लागु भएपछि झनै व्ययभार बढेको छ, सिपिङ एजेन्सीहरुले भाडा बढाएका छन् ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडियाले पनि सिपिङ कम्पनीहरुले मनोमानी चार्ज लगाउँदा कोलकत्ता पोर्टले नियन्त्रण गर्न नसकेको आरोप लगाए ।

कोलकता बन्दरगाहका अध्यक्ष वीरगञ्जमा

कोलकाता बन्दरगाहमा नेपाल आउने सामानको कारोबार एक्कासी घटेपछि कोलकाता पोर्ट ट्रष्ट पनि चिन्तित बनेको छ । नेपाली व्यापारी विशाखापट्नमतर्फ मोडिनुको कारण बुझ्न र आयातकर्ता फकाउन ट्रष्टका अध्यक्षसहितको टोली वीरगञ्ज आएको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघमा मंगलबार वीरगन्जका उद्योगी–व्यवसायी र आयातकर्ताहरूसँग उनीहरुले छलफल गरे । त्यसक्रममा कोलकाता पोर्ट ट्रष्टका अध्यक्ष विनित कुमारले सिपिङ कम्पनीका कारण नेपाली व्यवसायीलाई समस्या भएको स्वीकार गरे ।

‘सिपिङ लाइनले मनपरी चार्ज लिने गरेको तथ्य हामीले पनि फेला पारेका छौं । हाम्रो टर्मिनल ह्यान्डलिङ चार्ज ६ हजार २ सय रुपैयाँ छ, तर सिपिङ कम्पनीहरुले ८ देखि १० हजार लिने गरेका रहेछन्,’ उनले भने, ‘तर उनीहरु अन्तर्राष्ट्रियस्तरमा काम गर्छन्, हामीले नियन्त्रणमा लिनसक्ने अवस्था छैन । त्यो समस्या हल गर्न एउटा संयन्त्र बनाउने तयारी हामीले गरिरहेका छौं ।’

उनले कोलकाता बन्दरगाहमा केही सुविधा दिएको वीरगञ्जका व्यवसायीलाई बताए । ‘हामीले १५ दिनसम्म निशुल्क कन्टेनर राख्न सक्ने सुविधा दिएका छौं, कोइलाका लागि ६ महिना समय दिएका छौं । पहिला ६ हजार कन्टेनर मात्रै राख्न सकिन्थ्यो अहिले १२ हजार कन्टेनर अटाउने बनाएका छौं,’ उनले भने ।

नेपालतर्फ पनि पूर्वाधारमा सुधार गर्न आवश्यक रहेको अध्यक्ष विनितकुमारले बताए । ‘नेपालको कारोबार ५ वर्षमा दोब्बर भएको छ, तर यहाँ अपग्रेड हुन सकेको छैन । एउटा सुख्खा बन्दरगाह र रक्सौलको मात्रै भर छ । अनलोडिङ र ह्यान्डलिङ गर्ने स्थान बनाउन आवश्यक छ,’ उनले भने ।

अध्यक्ष कुमारसँगै कलकत्ता पोर्टका सिनियर असिस्टेन्ट ट्राफिक म्यानेजर आर गोकुल, ट्राफिक म्यानेजर रामानन्द नास्कर लगायतले वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, आयातकर्ता तथा व्यापारीहरुसँग छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment