Comments Add Comment

‘ओसामा बिन लादेनका छोरा हम्जा मारिए’

१६ साउन, काठमाडौं । अमेरिकी गुप्तचर अधिकारीहरूले अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको दाबी गरेका छन् ।

अमेरिकी सुरक्षा अधिकारीहरूको हवाला दिँदै हम्जाको मृत्युको खबर प्रकाशमा आए पनि कहाँ, कहिले र कसरी उनको ज्यान गयो भन्नेबारे अस्पष्ट रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हृवाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि हम्जाको मृत्युबारे कुनै टिप्पणी गरेका छैनन् ।

करिब ३० वर्षका हम्जा आफ्ना बाबु ओसामाको पदचाप पछ्याउँदै अघि बढ्दै आइरहेका थिए । उनलाई अलकायदाभित्र उनका पिताका उत्तराधिकारीका रुपमा समेत हेर्ने गरिएको थियो ।

केही समयअघि मात्रै हम्जाले अरब प्रायद्वीपका जनतालाई विद्रोह गर्न अपिल गर्दै अमेरिकालगायतका देशहरूमा आक्रमण गर्न भनेका थिए । उनले आक्रमण गर्न आग्रह गर्दै भिडियो र अडियो रिपोर्ट नै सार्वजनिक गरेका थिए ।

हम्जाको यस्तो गतिविधिबाट सशंकित बनेको अमेरिकी सरकारले त्यसयता उनीबारे सोधीखोजी थालेको थियो । बसेको स्थानबारे जानकारी दिनेलाई मात्रै १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा अमेरिकाले गरेको थियो ।

हम्जा साउदी अरेबियाका नागरिक हुन् । तर, अमेरिकाले खोजी थालेपछि साउदीले गत मार्चमा उनको नागरिकता खारेज गरिदिएको थियो ।

हम्जाका बाबु ओसामाको सन् २०११ मा अमेरिकी सेनाको कारबाहीमा परी पाकिस्तानमा मृत्यु भएको थियो । उनको मृत्युपछि अलकायदा कमजोर बन्दै गएको आँकलन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment