Comments Add Comment

प्रदेश सरकारको घुम्ती प्रयोगशाला : गाउँमै परीक्षण, एक घण्टामा रिपोर्ट

१६ साउन, विराटनगर । प्रदेश १ सरकारले खेत-खेतमा पुगेर माटो परीक्षणका लागि घुम्ती प्रयोगशाला सञ्चालनमा ल्याएको छ । माटो तथा मल प्रयोगशाला झुम्का र सुरुङ्गाबाट घुम्ती प्रयोगशाला सञ्चालामा ल्याएको हो ।

प्रयोगशालाले गाउँ गाउँ पुगेर कृषकको चाहाना अनुसार माटो परीक्षण गर्नेछ । प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषकको खेतमै पुगेर माटोको परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा ल्याएको मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले जानकारी दिए ।

उनका अनुसार एक वर्षअघि संघीय सरकारले प्रदेशको झुम्कास्थित माटो प्रयोगशालालाई बसमा जडान गरिएको घुम्ती प्रयोगशाला हस्तान्त्रण गरेको थियो । प्रदेश सरकारले थप एक घुम्ती प्रयोगशाला खरिद गरेपछि गाउँ-गाउँमा पुगेर परीक्षण गर्न लागिएको हो । बसमा जडित प्रयोगशाला कृषकले बोलाएका स्थानहरुमा पुगेर माटो परीक्षण गर्ने उनले बताए ।

माटो परीक्षण गर्न प्रदेश सरकारले ७५ लाखको लागतमा को१ग १६० नम्बरको बसभित्र प्रयोगशाला स्थापना गरेको छ । ‘कृषकले बोलाएको स्थानमा पुगेर माटो परीक्षाण गरी रिपोर्ट दिन्छ’, विष्ट भन्छन् , ‘माटो परीक्षण निशुल्क हुन्छ, प्रयोगशालालाई परीक्षण गर्ने किट प्रदेश सरकारले दिन्छ ।’ तर, परीक्षणकालागि कृषकले समूह बनाएर खबर गर्नु पर्छ ।

हरेक स्थानमा कम्तीमा १५-२० जना कृषकहरूले समूह बनाएर खबर गरेपछि मात्र घुम्ती प्रयोगशाला पुग्नेछ । ‘ दुईवटा गाडीहरु माटो परीक्षण गर्न प्रदेशका सबै स्थान पुग्छन्’ विष्ट भन्छन् , ‘कृषकले समूह बनाएर खबर गर्नुपर्छ । प्रयोगशालाले परीक्षण गरेकै स्थानमा रिपोर्ट दिन्छ ।’

स्थानीय सरकारले आग्रह गरेको खण्डमा पनि पुगेर परीक्षण गर्ने उनको भनाइ छ । बसभित्र स्थापना गरिएको माटो परीक्षण घुम्ती प्रयोगशालामा चालकसहित बढीमा ५ जनाको प्राविधकको टोली हुनेछ ।

घुम्ती प्रयोगशालाले खेत-खेतमा पुगेर ६ प्रकारको माटोको परीक्षण गरी फिल्डै रिपोर्ट दिनेछ । प्रयोगशालामा ल्याबका उपकरण, पिएच मिटर, पोटास परीक्षण गरिने फस्फोरस, मेकानिकल सेक्टर, जनेटर, एसीलगायतका उपकरणहरू छन् ।

माटोको परीक्षणपछि कृषकलाई कुन माटोमा कस्तो बाली लगाउन सकिन्छ भन्ने सुझाव पनि दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment