Comments Add Comment

बारा र पर्साका आँधी प्रभावितको घर निर्माण कार्य ७२ प्रतिशत सकियो

१६ साउन, वीरगञ्ज । बारा र पर्साका आँधी प्रभावितको घर निर्माण कार्य ७२ प्रतिशत सम्पन्न भएको छ ।

नेपाली सेनाको जनता आवास कार्यदलले प्रभावितहरूको घर निर्माणको ७२ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको हो । बासस्थान/सेल्टर निर्माण कार्यको प्रगति भने ८२ प्रतिशत पुगिसेको सेनाको दावी छ ।

०७५ चैत १७ गते आएको आँधीबाट पूर्ण क्षति भएका घर यही साउन २६ गतेसम्ममा हस्तान्तरण गरिने बताइको थियो । तर, तोकिएको समयमा भने काम सम्पन्न हुन नसक्ने सेनाले बताएको छ ।

९० कार्यदिन पाएको भए पनि ९ दिन हावाहुरी र ९ दिन अविरल वर्षाका कारण काम गर्न नसकिएको निर्माण कार्यदलले जनाएको छ ।

८ सय घर सेनाले र बाँकी जनसहभागितामा निर्माण गर्ने लक्ष्यका साथ निर्माणको काम सुरु गरिएको थियो । तर, गैरसैनिकको सहभागिता नभएकोल पनि केही ढिला भएको सेनाको तर्क छ ।

यो पनि पढ्नुहोस हावाहुरी प्रभावितका घर छिट्टै बन्छन् : मुख्यमन्त्री लालबाबु

भदौं दोस्रो सातासम्ममा मात्रै निर्माण सम्पन्न हुने नेपाली सेनाको निर्माण कार्यदलले बताएको छ ।

सेनाको कार्यदलका कमाण्डर सहायक रथी विनय विक्रम राणाले सबै घर निर्माण सम्पन्न गर्न भदौं दोस्रो सातासम्मको समय लाग्ने बताए । ‘८६७ वटा घरहरु निर्माण गरिरहेका छौं । साउन २६ गतेसम्म हामीले सम्पूर्ण घरमा छाना राखिसक्ने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘हस्तान्तरणका लागि अन्य प्रशासनिक प्रक्रियाका लागि पनि केही समय लाग्छ ।’

कार्यदल कमाण्डर राणाले विवादका कारण १४ घर निर्माणको काम अझै शुरु गर्न नसकिएको बताए । ‘बिवादित घरका बारेमा साउन १५ गते मात्रै विवाद समाधान भएर आएको छ । काम शुरु गर्न बाँकी नै छ । भदौं पहिलो वा दोस्रो साता मात्रै निर्माण गर्न सक्छौं । त्यसपछि औपचारिक हस्तान्तरण हुन्छ,’ उनले अगाडि भने ।

सेनाले सरकारलाई हस्तान्तरण नगरेको भए पनि निर्माण सम्पन्न भइसकेका घरमा आँधी प्रभावित परिवारले भने बसोबास शुरु गरिसकेका छन् । तर, त्रिपालमै बस्न बाध्य भएकाहरुको भने पानी हावाहुँरी र वर्षा आउँदा विचल्ली हुने गरेको छ ।

०७५ चैत २१ गते बसेको मन्त्रिपरिषद बैठकले आँधीबाट क्षति भएका घर वर्षायाम अगावै पनर्निर्माण गरिसक्ने गरी नेपाली सेनालाइै निर्माणको जिम्मा दिएको थियो ।

नेपाली सेनाले वैशाख २१ गतेदेखि १२ वटा क्लष्टर बनाएर निर्माण कार्य शुरु गरेको थियो । १२ वटै क्लष्टरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले घर निर्माणको शिलान्यास गरेका थिए ।

८८१ घर मात्रै निर्माण हुने

बारा-पर्सामा गरी नेपाली सेनाले ८८१ घर मात्रै निर्माण गर्न लागेको छ । पूर्ण क्षति भएको तर लाभग्राहीको सूचीमा नपरेको गुनासो आइरहेको समयमा घर निर्माण हुने संख्या घटाएको पाइएको छ ।

शुरुमा बारा पर्सामा आँधीका कारण पूर्ण क्षति भएका घरधुरीको संख्या एक हजार ४५३ भनिएको थियो । सोहीअनुसार नेपाली सेनाले निर्माण कार्य शुरु गरेको थियो । जसअनुसार बारामा एक हजार ३६२ तथा पर्सामा ९१ वटा घर बन्ने भनिएको थियो ।

तर, पूर्ण क्षति नभएका घरको पनि नाम समावेश गरिएको पाइएपछि पुनर्निर्माण, पुनर्स्थापना सहजीकरण तथा समन्वय समितिको सिफारिसमा नेपाली सेनाले बारा पर्सामा ८८१ घर मात्रै निर्माण गर्न लागेको हो ।

यो पनि पढ्नुहोस १२ स्थानमा एकसाथ सुरु भयो आँधी प्रभावितलाई घर निर्माण

लाभग्राहीको पुनःप्रमाणीकरण गर्दा ४८ प्रतिशत घरधुरी संख्या घट्न गएको कार्यदलले जनाएको छ ।

एक हजार ४५३ घरधुरीलाई प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला स्तरीय समितिले पुनः प्रमाणीकरण गर्दा पूर्ण क्षति भएको घरधुरीको संख्या दुवै जिल्लामा गरेर ९०८ पुगेको थियो ।

पूर्णरुपले क्षति नभए पनि विभिन्न कारणले नाम दर्ता गरिएको र वास्तविक पीडितहरुको नाम दर्ता नभएको गुनसो बढेपछि समस्या समाधानका लागि पुनर्स्थापना तथा घर पुनर्निर्माण समन्वय र सहजीकरण समितिको वैशाख २५ गते बसेको बैठकले भेरिफिकेसन टिम गठन गरेको थियो ।

पूर्ण क्षति भएको तर लाभग्राहीमा नाम छुटेका पीडित व्यक्तिहरुको नाम छुटेको भए सिफारिस गर्नका लागि सम्बन्धित वडाका अध्यक्षको संयोजकत्वमा, नेपाली सेनाका क्लष्टर कमाण्डर र स्थानीय प्रहरी चौकीका इन्चार्जसहितको तीन सदस्यीय समिति गठन भएको थियो ।

समितिलाई जेठ १० गते भित्रमा नाम सिफारिस निर्देशन दिइएको थियो । सुरक्षा समितिका पदाधिकारीहरुले तथ्याङकमा पूर्ण क्षति भनिएको तर त्यस्तो नभएको पाइए हटाउन सक्ने र आंशिक क्षति भएको भनिएको तर पूर्ण क्षति भएको हो भनेर सिफारिस गर्न सक्ने अधिकार समितिलाई थियो ।

प्राप्त निवेदनहरु छानबिन गर्दा दर्ता छुट हुन गएका परिवारको संख्या २०२ पुगेको थियो ।

असार २२ गते भेरिफिकेसन टिमबाट आएको प्रमाणीकरण प्रतिवेदनको आधारमा लाभग्राही संख्या विवादित ४३ सहित ८ सय ८४ कायम भएको थियो ।

साउन ७ गते त्यसबाट पनि ३ जनाको नाम हटाइएको छ । लाभग्राहीमा नाम समावेश भएका तीन जनाको अन्यत्र पनि घर भएको पाइएपछि उनीहरुलाई जिल्ला विपद व्यवस्थापन समितिको सिफारिसमा प्रदेश स्तरीय समिति र अब नेपाली सेनाले ८८१ घर मात्रै निर्माण गर्ने भएको छ ।

बारामा तीन सदस्यीय समितिले माइन्यूटसहित पठाएका १७१ जनालाई पनि समावेश गरिएको छ । सुरक्षा समितिका पदाधिकारीले संकलन गरेको र छुटेको विवरणलाई समेत समावेश गरेर बारामा ८२२ जनाको घर निर्माण गर्न लागिएको छ ।

पुनर्निर्माण समन्वय तथा सहजीकरण समितिका सदस्यसमेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले लाभग्राहीको पुनः प्रमाणीकरण गर्दा पूर्ण क्षति नभएकाहरुले पनि नाम समावेश भएको पाइएपछि हटाइएको बताए ।

‘निर्वाचित जनप्रतिनिधिले जस जसको नाम पूर्ण क्षति भयो भनेर सिफारिस गरेर पठाएका छन् । उनीहरुको नाम हामीले समावेश गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘सोही अनुसार अन्तिम चरणमा पुगेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment