Comments Add Comment

पार्टी छाड्ने कागज गरेर धमाधम रिहा हुँदै विप्लव कार्यकर्ता

१८ साउन, जाजरकोट । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गरेर हिरासतबाट छुट्ने गरेका छन् ।

पक्राउ परेकामध्ये तीन जना विप्लव समूह छाड्ने लिखित कागज गरेर छुटेको प्रहरीले जनाएको छ ।

सरकारले प्रतिबन्ध लगाउनु अघि समूहमा सक्रिय रहेका विप्लव समूहका कार्यकर्ता प्रतिबन्धपछि पनि विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्दै आएको छ । उनीहरु पक्राउ परेपछि कम्तीमा दुई हप्ता हिरासत बसेर विप्लव समूह छाड्ने कागज गर्दै रिहा हुने गरेका छन् ।

विप्लवका कार्यकर्ता छुटाउने नेपाली काङ्ग्रेसका नेताको ठूलो दौडधुप हुने गरेको छ । विप्लव समूहका डोल्पा इञ्चार्ज भन्दै पक्राउ परेका वीरबहादुर खड्का पार्टी छोड्ने कागज गरेर रिहा भएका थिए । त्यस्तै छेडागाड इञ्चार्ज कैलास पुन, भेरी ब्यूरो सदस्य हरिचन्द्र जैसीलगायतका नेता तथा कार्यकर्ता कागज गर्दै रिहा भएका हुन् ।

विप्लव समूहको गैरकानूनी क्रियाकलापमा संलग्न नहुने र संविधान मान्ने भन्ने उल्लेख गरी उनीहरु छुटेका छन् । त्यस्तै भेरी ब्यूरो सदस्य जैसी सत्तारुढ दल (नेकपा)मा प्रवेश नै गरेका छन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम शाहीलाई काठमाडौँमा पक्राउ परेलगत्तै जाजरकोट पुर्याइएको थियो ।

पक्राउपछि शुक्रबार स्वतन्त्र जीवनयापन गरी बस्ने भनी रिहा हुने मौखिक सहमति भए पनि केही वाक्यांशमा कुरा नमिल्दा उनी रिहा हुन सकेनन् । अन्य अहिले दुई जना विप्लव कार्यकर्तासमेत हिरासतमै रहेका छन् । कागज गरेर छुटेलगत्तै विप्लव समूहका कार्यकर्ता के गरिरहेका छन् भन्ने कुरा सुक्ष्म अनुगमन भइरहेको प्रहरी प्रमुख श्याम खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment