Comments Add Comment

‘अन्तरदृष्टि’ र ‘मृत्युको आयु’का लेखकसँग भलाकुसारी

१८ साउन, काठमाडौं । गएको साता अनलाइनखबरले पुस्तकको बजार खस्किरहेको रिपोर्ट बनाइरहँदा दुई पुस्तक भने पुस्तक विक्रीको सामान्य मानक पार गरिरहेका थिए । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र समीर र दृष्टविहीन डा. कमल लामिछानेका पुस्तकहरुले घटेको भनिएको बजारमा अहिले पनि लगातार आफ्नो पकड कायम राखेका छन् ।

‘अन्र्तदृष्टि’ जन्मजात दृष्टिविहीन लामिछानेको आत्मकथा हो । जहाँ उनले नेपाली समाज, आफ्ना परिवार र आफैंमाथि निर्ममतापूर्वक कलम चलाएका छन् । समीरले भने वैदेशिक रोजगारका विषयलाई उपन्यासमार्फत नयाँपन दिन खोजेको देखिन्छ ।

चिकित्सा पेशामा व्यस्त डा. समीर र जापानको चुकुवा विश्वविद्यालयमा अध्यापनरत डा. लामिछानेसँग हामीले पुस्तक र उनीहरुका व्यवशायसम्बन्धी कुराकानी गर्‍याैं।

डा रवीन्द्र समीर, मन्दी भनिएको समयमा पनि तपाईंको पुस्तकले बजार लिइरहेको देखियो । तपाईंको पुस्तकलाई पाठकले किन मनपराए होला ?

मेरो विचारमा पाठक घटेका थिएनन्, केवल पाठकले खोजेजस्तो पुस्तक दिन नसकिएको हो भन्ने मेरो मान्यता पहिलेदेखि नै थियो । विशेषतः हरेक लेखकले आफ्नो शैली निर्माण गर्नुपर्छ । जुन विषयमा लेख्ने हो, त्यसमा गहिरो अध्ययन गर्नुपर्छ र त्यसलाई पाच्य शैलीमा प्रस्तुत गर्नुपर्छ । त्यसो हो भने पाठक भोकाएका छन्, उनीहरुले हामीले पस्किएको ज्ञान ग्रहण गर्छन् ।

जहाँसम्म मेरो पुस्तकको कुरा छ, मेरो बिधा लघुकथा भएकाले उपन्यासलेख्दा पनि मैले त्यही विधि अपनाएँ । त्यसपछि मैले जे लेख्न खोजेको थिएँ, त्यसमा गहिरो अध्ययन गरेँ । त्यो कुरा पुस्तक पढ्दा पाठकहरुले महसुस गर्नुभयो । पढेका पाठकहरुले सामाजिक सञ्जाल र व्यक्ति व्यक्तिमा सिफारिस गर्दै जाँदा र पढ्ने पाठकहरुले अपेक्षा अनुसारको ज्ञमा पाउँदा यसको चर्चा र विक्री दुबै बढेको हो ।

पुस्तक लेख्न कति समय लगाउनुभयो, कुन–कुन कुरामा मेहेनत गर्नुभयो ?

पुस्तक मूलतः वैदेशिक रोजगारमा जाने कुनै प्राविधिक ज्ञान नभएको एउटा हरितन्नम गरिबको विषयमा छ । तर यस्तो कथा लेखेँ, जसको मृत्यु मालिकको फ्याक्ट्रीमा काम गरेर घर फर्कने वित्तिकै हुन्छ । मृत्युपछि शव ल्याउन अनेक झण्झट र अप्ठ्यारा खेप्नुपर्छ । कथा त्यहीँबाट सुरु हुन्छ र १३ दिने संस्कार सकिएपछि अन्त्य हुन्छ ।

यसका लागि मैले मृत्युका विषयमा, विभिन्न धर्मका मृत्युसंस्कारका विषयमा अध्ययन गर्नुपर्‍यो । गरुणपुराण, शिवपुराण र मृत्युसंस्कार विधिको अध्ययन गरे । बेला बेलामा आर्यघाट जाने, घन्टौं जलिरहेको लास र उनीहरुको आफन्तका क्रियाकलाप हेर्नेर नचिनेका किरियापुत्रीहरुका आफन्त जस्तो भएर उनीहरुका कुरा सुन्दै बसेँ । दुबई, ओमान र बहराइन जाने मौका जुर्दा त्यहाँका नेपालीहरुको अवस्था, अरवी कानुनर विभिन्न किसिमका कथाहरु सुनेँ। मृत्युपछि शवलाई कसरी महिनौंसम्म नगल्ने बनाइन्छ भन्ने प्राविधिक पाटोहरु म चिकित्सक भएका नाताले मलाई थाहा थियो तर ती औषधिका नाम, भित्री अङ्ग निकाल्ने तरिका र पोस्टमार्टम गर्ने विदेशी शैलीहरुलाई पनि मैले पुनः अध्ययन गर्नुपर्‍यो । समयग्रमा २ सय पृष्ठको यो पुस्तक तयार हुन तीन वर्ष लाग्यो ।

 

पुस्तक लेख्दा कुन कुन कुरामा ध्यान दिनुभएको थियो ?

सिंगो पुस्तक पढिसक्दा उपन्यास र एउटा शिर्षक पढ्दा सिंगो लघुकथा महसुस हुुनपर्छ भन्ने मान्यता थियो । एकातिर लघुकथाको मर्ममा ध्यान दिनु थियो भने त्यो लधुकथाको चेन कतै पनि फुस्कन दिनु हुँदैनथ्यो । यहि कारण पनि मैंले यसलाई दर्जनौं पटक पुर्नलेखन गर्नुपर्‍यो । एकातिर मस्तिष्कमा मृत्यु र अर्कोतिर लेखनशील्पमा नयाँ पन दिनु थियो । यहि सचेतताका कारण सुरुमा दुई सय पचास शीर्षक मध्ये मध्ये एक सय ६६ लाई मात्रै पुस्तकमा राखेँ ।

पुस्तकले यति चर्चा पाउला भन्ने सोच्नुभएको थियो ?

फरक शैली र विषय वस्तुका कारण विद्वानहरुले यसलाई रुचाउनु हुन्छ भन्ने लागेको थियो तर यो स्तरमा पाठकहरुले रुचाउनु होला भन्ने कल्पना गरेको थिईंन । भारतमा छापिएका कारण त्यताबाट आउने पुस्तकमाथि सरकारले कर लगाइदियो । त्यसमाथि पुस्तकको विक्री खस्कदै गएको मलाई थाहा थियो । यी कारणले म बजारका प्रति विश्वस्त हुन सकेको थिईंन । जवकी लेखकको उद्देश्य नै बढि भन्दा बढि पाठकसम्म पुग्ने हुन्छ ।

डा. लामिछाने, तपाईंका पुस्तकले पनि निकै राम्रो बजार लिइरहेको छ । पाठकले तपाईंको पुस्तकलाई किन रुचाए होलान् ?

‘अन्तर्दृष्टि’ कलमले भन्दा पनि आत्माको बोलीद्वारा लेखिएको व्यक्ति, घर, समाज, परिवेश र केहि हदसम्म विश्वको अनुभवको संगालो हो । जहाँ समाजका सबैखालका मानिसले कुनै न कुनै रूपमा आफूलाई भेटेको अनुभव गरेको बताउनु भएको छ । पुस्तकले हाम्रो समाजमा एकजना दृष्टिविहीन व्यक्तिले जन्मेदेखि नै के कस्ता अप्ठ्याराहरूको सामना गर्नुपर्छ, अपांग सदस्यका कारण परिवारले समाजबाट के कस्ता चुनौती भोग्नुपर्छ र ती सबलाई छिचोल्दै संघर्षका उकालोद्वारा एकजना व्यक्ति कसरी प्रगतिको उकालो चढ्न सक्छ भन्ने विषयलाई अन्तर्दृष्टिमा समेटिएको छ ।

पुस्तक बजार खस्किएको भनिएपनि आफ्नो या आफ्नोजस्तै विषय, पात्र, घटना र यथार्थ चित्रण छोड्न कसलाई पो मन लाग्ला र । त्यसैले, अन्तर्दृष्टि धेरैलाई आफ्नो या आफूले चिनेका मानिसका भोगाई जस्तै लागेकाले होला, पुस्तक बजार खस्किनुका बाबजुद यसलाई रूचाउनु भएको र आफ्नो बनाउनु भएको हो जस्तो लाग्छ ।

तपाईंको आत्मकथामा नितान्त निजी पारिवारिक कुराहरु पनि राख्नुभएको छ । नेपाली आत्मकथामा यसअघि यस्तो कुरा पढ्न पाइँदैनथ्यो । यति व्यक्तिगत कुरा किन राख्नुभयो ?

मैले बुझेसम्म आत्मकथा भनेको आत्माको बोली हो जहाँ आफूसँग जोडिएर भए घटेका घटनाहरूलाई जस्ताको तस्तै उतार्ने जमर्को गरिएको हुन्छ या हुनुपर्छ । जब तपाईं आत्माको बोली हो भनेर स्वीकार्नु हुन्छ त्यसपछि आफ्ना कुरा भनूँ कि नभनूँ , निजी कुरा गरूँ कि नगरूँ, परिवारको बारेमा लेखूँ कि नलेखूँ अनि समाजको प्रवृत्तिलाई छोऊँ कि नछोऊँ भन्ने दुविधाबाट मुक्त हुनुहुन्छ या हुनुपर्छ । यदि त्यसबाट मुक्त हुन सकिन्न भने त्यस्ता व्यक्तिले आत्मकथा लेख्नै हुँदैन । आत्मकथा भनेकै आङ कन्याएर छारो ओडाउने काम हो जहाँ सत्यहरूमाथि मुटु थिचेरै भएपनि कठोरतापूर्वक उभिन सक्नुपर्छ । तर त्यसरी लेख्नुको निश्चित उद्देश्यचाहिँ हुनुपर्छ ।

अन्तर्दृष्टि लेख्दै गर्दा मलाई कतिपयले राम्रा कुराहरू मात्रै लेख्नुहोस् है नभनेका होइनन् । भोलि तपाईंले नेपालमा राजनीति गर्नुपर्ला या अरू केहि गर्नुपर्दा पुस्तकमा उल्लेख गरिएका मानिसहरू तपाईंका विरूद्ध उभिन सक्लान् भनेर नसुझाएका पनि होइनन् । तर, त्यस्तै सल्लाह मानेर लेखेको भए अन्तर्दृष्टि महत्वहीन आत्मप्रसंशा हुन जान्थ्यो, जुन काम मेरो लेखनमा हुन सक्दै सक्दैनथ्यो ।

सबै कुरा लेख्ने मानिसले जीवनकै महत्वपूर्ण मानिने यौनसम्बन्धका विषयमा चाहिँ किन लुकाउनुभयो ?

पुस्तक मूलतः अपांगताका बारेमा उनीहरूको मन र मुटुलाई छुन, भावना बुझ्न अनि घर र समाजमा स्विकार्य बनाउन सकियोस् भन्ने हेतुले लेखिएको हो । व्यक्ति दृष्टिविहीन हुँदा उसले के गर्न सक्छ, के गर्न कठिन हुन्छ भन्नेमा अन्तर्दृष्टि स्पष्ट छ । उसले के सोचेको छ र अरूले ऊ माथि के सोचेका छन् भन्नेमा पनि अन्तर्दृष्टि मौन छैन ।

जब पुस्तकको सुरूदेखि अन्त्यसम्म उसले आफूलाई आँखा नदेख्नुका बाबजुद अरू सामान्य भनिने मान्छेसरह उभ्याउन खोजेको छ । त्यस अर्थमा, तपाईंले भन्नु भएझैं यौनका बारेमा कम लेखिएको होला तर लुकाइएकोचाहिँ हुँदै होइन । अन्तर्दृष्टिमा केहि यस्ता उपशीर्षकहरू छन्, जसले अलगै पुस्तक बन्ने सामर्थ्य राख्छन् ।

मानिसको यौन कृयाकलापप्रति अरूले के सोचेका होलान् र बास्तविकता के होभन्ने विषयमा समाजले पालेको भ्रम चिर्न केहि दृष्टान्तसमेत प्रस्तुत गरेको छु । यो उपशिर्षकले अरू धेरै ब्याख्या मागेको छ तर सहअस्तित्व, पहिचान र आत्मसम्मानको आभास गराउन अरू धेरै विषयवस्तु छोटो छोटो रूपमा समेट्नु पर्ने मुल उद्देश्यले मलाई त्यहि विषयमा मात्रै धेरै घोत्लिन नमिलेको हो ।

तपाईंको विद्यावारिधिले नेपालको पहिलो दृष्टिविहीन भन्ने उपाधि बाहेक नेपालीहरुले के पाए ? तपाईंको उपलब्धि आम नेपालीका लागि आत्मरतिबाहेक अरु केही होइन भन्ने पनि गरिन्छ । किन होला ?

सामान्यतया व्यक्ति जसरी १ कक्षा पास भएर २ कक्षामा जान्छ, गर्न चाहानेहरूकालागि ठीक त्यस्तै हो विद्यावारिधि पनि । त्यस अर्थमा विद्यावारिधि गर्नु भनेको उत्पात त्यस्तो ठूलो केही होइन जति ठानिएको छ या हो भन्ने बनाइएको छ ।

नेपालमा अर्को एउटा भ्रम के फिँजिएको छ भने विद्यावारिधि गरेपछि सबैथोक गर्न आफू सक्षम भइन्छ र समाजले पनि ऊ सँग ठूलै अपेक्षा राख्दछ । सामान्य अवस्थामा त यस्तो सोच देखिन्छ भने पछाडि परेका समुदायमा त्यसको प्रभाव कति होला तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ । अरू सामान्य भनिने मानिसलेझैं अपांग व्यक्तिहरूले शिक्षामा अवसर र सहज पहुँचसहितको गूणस्तर पाएका हुन्थे भने दृष्टिविहीन व्यक्तिका रूपमा मेरो विद्यावारिधिको चर्चाको आवश्यकतै पर्दैनथ्यो । तर अवस्था त्यस्तो थिएन र छैन ।

कमल लामिछानेमा खास क्षमता भएर उसले विद्यावारिधि गर्न सकेको होइन । अवसर दिने हो भने आवश्यकता र चाहाना भएमा जो कोही दृष्टिविहीन व्यक्तिले त्यो काम गर्न सक्छ भनेर बुझाउनु नै मैले पाएको उपाधिको एउटा उद्देश्य थियो ।

नेपालमा खास जिम्मेवारी सम्हाल्ने अवसर नपाएको सन्दर्भमा मैले बाहिर बसेर गर्न सक्ने काम नेपालका अपांगता भएका व्यक्तिहरूको बारेमा अनुसन्धान गर्नु र त्यसबाट आएका निष्कर्षहरूलाई धेरै भन्दा धेरै मानिसहरूसम्म पुर्‍याउनुबाहेक अरू हुन नसकेको सत्य नै हो ।

त्यसैगरी विद्यावारिधि गरेका अपांगता नभएका मानिसहरूलाई पनि हेरौं । उनीहरूले पनि आफ्नो विज्ञताको आधारमा खास क्षेत्रमा मैले जस्तै नै उस्तै काम त गरिरहेका छन् नि । त्यस अर्थमा, नेपालमा केहि जिम्मेवारी नदिई ममाथि धेरै अपेक्षा राख्नु कति ठीक हो म केही भन्न सक्दिनँ । बरु प्रश्न तपाईंलाई नै, मेरो विद्यावारिधि फगत आत्मरती नै हो त ? कि यसबाट नेपालले केही पाउने सम्भावना छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment