Comments Add Comment

बुटवलमा खुल्यो जीवराज आश्रित संग्रहालय

१८ साउन, बुटवल । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीसँगै संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० सालमा दासढुंगा दुर्घटनामा ज्यान गयो । त्यसयता पार्टीमा भण्डारी र आश्रितलाई सम्झने र योगदानको चर्चा गर्ने कुरामा धेरै भिन्नता र अन्तर भयो । एकप्रकारले आश्रितओझेलमा नै परे ।

उनै आश्रितका विचार र योगदानलाई सम्झाउन एमालेका पुर्व सांसद देवेन्द्र घिमिरेको अगुवाईमा २०६३ सालमा बुटवलमा आश्रित प्रतिष्ठान स्थापना भयो । प्रतिष्ठानले आश्रितको ७५ औं जन्मजयन्तीको अवसर पारेर संग्रहालय सञ्चालनमा ल्याएको छ ।

आश्रित र उनको जीवनसँग जोडिएका विभिन्न सामग्रीहरु राखेर संग्रहालय स्थापना गरिएको हो । बुटवल उपमहानगरपालिका-७ स्थित आश्रित प्रतिष्ठान भवनमा रहेको संग्रहालयमा आश्रितसंग सम्बन्धित सामग्रीसँगै मानव विकास क्रम, पर्यटकीय स्थल, नेपाली समाजको विविध जातजातिका भेषभुषा, कला संस्कृति र परम्परासंग सम्बन्धित सामग्री,पर्यटकीय स्थल सजावट गरेर राखिएको छ ।

आश्रितले भूमिगतकालमा लेखेका दस्तावेज र चिठीपत्र, उनका विभिन्न समयका तस्वीर, उनले लगाउने लुगाफाटा, रेडियो, झोला, टिनको बाकस, दासढुंगा दुर्घटना हुँदा लगाएको घडी, त्यतिबेला साथमा रहेका नोट आदि संग्रहालयमा राखिएको आश्रित प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र घिमिरेले बताए ।

‘जीवराजलाई चिनाउन र बुझाउन संग्रहालय बनाइएको हो, अन्यत्र देख्न नपाइने सामग्रीहरु यहाँ देख्न पाइन्छ’, घिमिरेले भने, ‘आश्रित र उहाँको जीवनसँग सम्बन्धित मात्र होइन, मानव विक्रास क्रम र नेपाली जनजीवन झल्किने लगभग सबै सामग्रीहरु राख्ने प्रयास गरेका छौं ।’

संग्रहालयमा  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आश्रितलाई भूमिगतकालमा उपहार दिएको १० ब्याण्डको जापानिज रेडियो र आश्रितले बोक्ने झोलामा रहेको सियो र धागो समेत राखिएको छ ।

संग्रहालयमा नेपालका ग्रामीण भेगमा प्रयोग हुने ढिकी, हलो जुवा, टुकी लगायतका दर्जनौं सामग्रीहरु संग्रहालयमा सजाइएको प्रतिष्ठानकी महासचिव कल्पना थापाले बताइन् । ‘संग्रहालयमा संग्रह गर्न योग्य लोपोन्मुख सामग्रीहरु अझै थप्दै जान्छौं’-थापाले भनिन् ।

संग्रहालय अवलोकनमा विद्यार्थी र जेष्ठ नागरिकलाई २५ तथा सर्वसाधारणलाई ५० रुपैयाँ शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment