Comments Add Comment

सरकारी कार्यालयको १ करोड कीर्ते गरेर व्यक्तिको खातामा !

कार्यालय प्रमुखलाई गोली ठोकिदिने धम्की

२० साउन, जनकपुरधाम । कम्प्युटर अपरेटरमा करार सेवामा नियुक्त एक व्यक्तिले दुई वटा सरकारी कार्यालयको झण्डै करोड रकम कुम्ल्याएको खुलेको छ ।

तीन बर्षअघि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को जनकपुरस्थित कार्यालयमा नियुक्त भएका महोत्तरीका प्रवीण ठाकुरले सीटीईभीटी र वीपी कोइराला पोलिटेक्निकल इन्सिटच्युटको बैंक खाताबाट झण्डै ९३ लाख ५१ हजार रुपैयाँ कीर्ते गरी निकालेका हुन् ।

सीटीईभीटीको खाताबाट ३० लाख ९५ हजार र विपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्यूटको खाताबाट ६२ लाख ५६ हजार रुपैयाँ आफ्नो खातामा सारेको सम्बन्धित कार्यालयहरुले जनाएका छन् ।

सीटीईभीटीको खाताबाट एउटै चेकमार्फत् ३० लाख ९५ हजार निकालेको र विपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्यूटको खाताबाट पाँच पटकमा रकम निकासा गरेको भेटिएको छ । सीटीईभीटी प्रदेश २ का प्रमुख नागेन्द्र साहले गत वैशाख २२ गते उनले एउटै चेकबाट यति रकम रकम निकालेको फेला परेको जानकारी दिए ।

बीपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्यूटको बैंक खाताबाट ठाकुरले एउटा चेकबाट ३९ लाख रुपैयाँ झिकेको पाइएको इन्स्टिच्यूटका प्रमुख राजकुमार चौधरीले बताए । ‘एक पटक नगद नै झिकेको पाइएको छ’ चौधरीले भने, “बाँकी चार पटक चेक साटेर आफ्नो खातामा जम्मा गरेको फेला परेको छ ।’

तीन बर्षअघि सीटीईभीटीमा करार सेवामा नायव सुब्बा सरहको कम्प्युटर अपरेटर नियुक्त भएका ठाकुर सुरुवाती डेढ बर्ष सिरहाको लहानमा बसेर काम गरे । यहाँबाट सरुवा भएर सपही पुगेका उनले विस्तारै कार्यालय प्रमुखसहितका कर्मचारीमाझ हिमचिम बढाए ।

फलस्वरुप ठाकुरप्रति ती कार्यालयहरुले विश्वास गर्दै गए । ‘यसै कारण हामीले बैंकमा चेक जम्मा गर्नेदेखि रकम निकासासम्मको जिम्मेवारी उनलाई दिन थाल्यौं’ प्रमुख चौधरीले भने, ‘कतिपय प्रशासनिक काममा पनि उनलाई संलग्न गरायौं । तर, अहिले आएर सैतान निस्केका छन् ।’

कार्यालय प्रमुख चौधरीले लेखा शाखाबाट चेक नै चोरी गरेर कार्यालय प्रमुख र लेखापालको नक्कली हस्ताक्षर गरेर ठाकुरले रकम निकासा गरेको बताए ।

सीटीईभीटीका प्रमुख साहले तीन पटकसम्म ठाकुरले आफ्नो हस्ताक्षर गरेको सुनाए । वैशाख २२ गते साटेको चेकमा ठाकुरले गरेको हस्ताक्षर नमिलेपछि त्यसलाई काटेर अर्काे हस्ताक्षर गरेको भेटिएको बताए ।

चेक अर्कैको नामको, रकम ठाकुरको खातामा

ठाकुरको गलत कार्यलाई उनको खाता रहेको बैंकले पनि सहयोग गरेको पाइएको छ । ठाकुरको जनकपुरधामको मुरली चोकस्थित सहयोगी विकास बैंकमा तीन वटा खाता छ । उनले दुबै सरकारी कार्यालयबाट कीर्ते गरी साटेको रकम यही बैंकमा जम्मा भएको पाइएको सीटीईभीटीका प्रमुख साहले बताए ।

सीटीईभीटी र इन्स्टिच्यूट दुबैको खाता राष्ट्रिय बाणिज्य बैंकमा छ । यी दुबै कार्यालयको चेक चोरी गरेर उनले दुबै कार्यालयका प्रमुख र लेखापालको नक्कली हस्ताक्षर गरेर अर्कै व्यक्तिको नाममा चेक बनाएको तर त्यो रकम ठाकुरको खातामा जम्मा भएको साहले बताए । ‘अर्काको नाममा बनाएको चेक उनको खातामा कसरी जम्मा हुन गयो ?’ प्रमुख साहले भने, ‘यसैले बैंकको पनि यसमा संलग्नता देखिन्छ ।’

यसबाहेक ठूलो रकमको चेक साट्दा सम्बन्धित कार्यालयलाई सोध्नुपर्नेमा बैंकले केही नसोधेको साहले बताए ।

यसरी खुल्यो पोल

आर्थिक बर्ष सकिएलगत्तै हिसाब मिलानको काम गर्दा अत्यधिक फरक देखिपछि ठाकुरले गरेको कीर्ते कामको पोल खुलेको हो । लाखौं रकम फरक परेपछि दुबै कार्यालयका प्रमुख र लेखापालसमेत आश्चर्यमा परे । यसपछि बैंक खाता समेत मगाएर विस्तृत रुपमा छानबिन गर्दा यो तथ्य खुलेको सीटीईभीटीका कार्यालय प्रमुख साहले बताए ।

विस्तृत छानबिनपछि साउन १२ गते मात्रै ठाकुरले रकम निकालेको खुलेको भन्दै उनले त्यसपछि प्रहरीमा जाहेरी दिएको बताए । ठाकुरको सहयोगी विकास बैंकमा रहेको तीनवटै खाता रोक्का गरिएको छ । धनुषाका डीएसपी रामेश्वर कार्कीले ठाकुरविरुद्ध उजुरी परेपछि खोजी सुरु गरिएको बताए ।

दुबै कार्यालय प्रमुखलाई धम्की

ठाकुरले आफूहरुलाई गोली ठोकिदिने धम्कीसमेत दिएको दुबै कार्यालयका प्रमुखले बताएका छन् । जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ठाकुरले आफूहरुलाई मार्ने धम्की उनीहरुले अनलाइनखबरलाई बताए ।

इन्स्टिच्यूटका प्रमुख चौधरीले ठाकुर आफू सम्पर्कमा नआई घटना मिलाउन अन्य मान्छे खटाएको बताए । ‘अहिले उनको मिडिएटरले फोन गरिरहेका छन्’ उनले भने, ‘तर पहिला रकम जम्मा गर्न भनेका छौं ।’ सीटीईभीटी प्रमुख साहले भने यो घटनामा काठमाडौंबाट आएको टोलीले अनुसन्धान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment