Comments Add Comment

सकुम्बासी समस्या दीर्घकालीन ढंगले समाधान हुँदैछ : विष्णु पौडेल

२२ साउन, बुटवल । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले देशमा विद्यमान सकुम्बासी समस्या दीर्घकालीन ढंगले समाधान हुने बताएका छन् । त्यसका लागि सरकारले काम गरिरहेको उनको दाबी छ ।

‘सुकुम्बासी समस्या धेरैतिर छ’, बुटवल उपमहानगरपालिका–२ को नमूना कार्यालय भवन उदघाटन गर्न पुगेका पौडेलले भने, ‘यसलाई दीर्घकालीन ढंगले समाधान गर्नेगरी सरकारले काम गरिरहेको छ ।’

पौडेलले अव्यवस्थित बसोबासको समस्या पनि उत्तिकै पेचिलो भएको उल्लेख गर्दै यसको पनि सरकारले दीर्घकालीन समाधान खोज्ने बताए ।

सुकुम्बासी समस्या समाधानका लागि सरकारले जग्गा वितरणलगायतका अनेक कार्यक्रम यसअघि ल्याएको थियो । यद्यपि, यो समस्या घट्नुको साटो थप बढेर गएको सरकारी तथ्यांकले नै देखाएको छ ।

१ करोड ४० रुपैयाँ लागतमा निर्माण भएको वडा कार्यालय भवन उदघाटन गरेका पौडेलले जनप्रतिनिधि र कर्मचारीलाई सहज र छिटो–छरितो ढंगले सेवा प्रवाह गर्न आग्रह गरे ।

कोदाले र बिटौरी जग्गाको समस्या समाधानका लागि काम भइरहेको उल्लेख गर्दै उनले केही समयमै यसको समाधान निस्किने आश्वासन दिए ।

प्रदेश सांसद तथा पूर्व नगर प्रमुख भोजप्रसाद श्रेष्ठले बुटवल उपमहानगरपालिकाले नमूना काम गरिरहेको भन्दै प्रशंसा गरे ।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बुटवलको विकासका लागि प्राथमिकताका आधारमा योजना छनौट गरिएको बताए ।

यसैबीच, नेकपा महासचिव पौडेलले आजै बुटवल उपमहानगरपालिका–२ कै ज्येष्ठ नागरिक मिलन केन्द्रको समेत शिलान्यास गरेका छन् । केन्द्रले करिब २० लाख लागतमा भवन बनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment