+
+
Shares

गत वर्ष कम मुद्दा फर्स्योट गर्नेमा पूर्वप्रधानन्यायाधीश राउत र प्रधानन्यायाधीश शर्मा

पूर्व प्रधानन्यायाधीश राउतले दैनिक ३ दशमलव ५३ मुद्दा फैसला गरे । उनीपछि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सबैभन्दा कम मुद्दा फैसला गर्ने न्यायाधीशमा पर्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा पूर्व प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र वर्तमान प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले अन्य न्यायाधीशको तुलनामा सबैभन्दा कम मुद्दा फर्स्यौट गरेका छन् ।
  • गत वर्ष अवकाश प्राप्त न्यायाधीश डा. कुमार चुडाल दैनिक ९ दशमलव ५ मुद्दा फैसला गर्दै सबैभन्दा बढी मुद्दा फर्स्यौट गर्ने न्यायाधीश बनेका छन् ।
  • सर्वोच्चका २० न्यायाधीशले वर्षभरिमा औसत दैनिक ७ दशमलव ३७ मुद्दा फैसला गरेका छन्, जसमा ९ जना न्यायाधीशले मात्र औसतभन्दा बढी मुद्दा किनारा लगाएका छन् ।

४ साउन, काठमाडौं ।  सर्वोच्च अदालतमा गत आर्थिक वर्षमा पूर्व प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र वर्तमान प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले अन्य न्यायाधीशहरूको तुलनामा सबैभन्दा कम मुद्दा फर्स्योट गरेका छन् ।

सर्वोच्चले तयार गरेको गत वर्षमा न्यायाधीशहरूले गरेको न्याय निरुपणको विवरणमा यस्तो देखिएको हो  । न्यायाधीशहरुले गरेका न्याय निरुपण लगायतका विषयहरूलाई समेटेर वार्षिक प्रतिवेदन पनि तयार गर्छ ।

मुद्दा फैसलाको अनुपात हेर्दा गत आर्थिक वर्षमा सर्वोच्च अदालतमा काम गरेका २० न्यायाधीशमध्ये पूर्व प्रधानन्यायाधीश राउतले दैनिक ३ दशमलब ५३ मुद्दा फैसला गरे ।

उनीपछि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सबैभन्दा कम मुद्दा फैसला गर्ने न्यायाधीशमा पर्छन् । उनले दैनिक ५ दशमलव ७९ मुद्दा फैसला गरे । गतवर्ष सर्वोच्च अदालतका २० न्यायाधीशहरूले मुद्दा, रिट एवं विभिन्न खालका निवेदनहरू गरी करिब साढे २४ हजार मुद्दाको फैसला गरेका थिए ।

न्यायाधीशहरूले वर्षभरि अदालतमा काम गरेको दिन र उनीहरूले गरेको फैसलाको कुल संख्यालाई हिसाब गरेर प्रतिदिन फैसला गरेको मुद्दाको अनुपात निकालिन्छ ।

त्यो आधारमा हेर्दा वर्तमान र निवर्तमान प्रधानन्यायाधीशहरू सबैभन्दा कम अनुपातमा मुद्दा फैसला गर्ने न्यायाधीशमा परेका हुन् । गत वर्ष अवकाशप्राप्त न्यायाधीश डा. कुमार चुडाल भने सर्वोच्च अदालतमा सबैभन्दा बढी मुद्दा फर्स्योट गर्ने न्यायाधीश बनेका छन् ।

न्यायाधीश चुडालले दैनिक ९ दशमलव ५ वटाका दरले मुद्दा फर्स्योट गरे । उनी अनुपातको हिसाबले सबैभन्दा मुद्दा फस्यौट गर्ने न्यायाधीश बनेका छन्, अहिले भने उनी अवकाशमा छन् ।

संवैधानिक परिषद्ले डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्दा सबैभन्दा बढी मुद्दा फैसला गर्ने विवरणलाई पनि आधार मानिएको दाबी गरेको थियो ।

तर सोमबार तयार पारिएको विवरण हेर्दा दैनिक अनुपातमा उनी सबैभन्दा कम मुद्दा फैसला गर्ने दोस्रो न्यायाधीश बनेका छन् ।

सर्वोच्च अदालतले गत आर्थिक वर्षभर कार्यरत न्यायाधीशहरूले निरुपण गरेको मुद्दाहरूको संख्या र उनीहरूले काम गरेको दिनको अनुपातका आधारमा उनीहरूले दैनिक रुपमा छिनेको मुद्दाको अनुपात सार्वजनिक गरेको हो ।

चुडालपछि न्यायाधीश टेकप्रसाद ढुंगानाले दैनिक ९ दशमलव ४४ प्रतिशतका दरले मुद्दा छिनेका छन् । संख्याका आधारमा मात्रै मुद्दा छिनेको हिसाबले उनले सबैभन्दा बढी अर्थात् १९ सय ३६ मुद्दा फैसला गरे ।

न्यायाधीश श्रीकान्त पौडेलले दैनिक ८ दशमलव ४५ वटा मुद्दाहरु फैसला गरेको अभिलेखबाट देखिन्छ, जो संख्याका हिसाबले सबैभन्दा बढी मुद्दा फैसला गर्ने दोस्रो न्यायाधीश हुन् । पौडेलपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठले दैनिक ८ दशमलव ०४ को संख्यामा मुद्दा फैसला गरे ।

दैनिक मुद्दा टुंग्याउने अनुपातका आधारमा हेर्दा श्रेष्ठपछि न्यायाधीश हरि फूयाल, सपना प्रधान मल्ल, कुमार रेग्मी, महेश शर्मा पौडेल, शान्तिसिंह थापा, अब्दुल अजीज मुसलमान लगायतले बढी मुद्दा फैसला गरे ।

२० न्यायाधीशहरूले गरेको काम र मुद्दाको अनुपात हेर्दा हरेक न्यायाधीशहरूले औसतमा दैनिक ७ दशमलव ३७ वटा मुद्दा फैसला गरेको देखिन्छ । जसमध्ये ९ जना न्यायाधीशले मात्रै औसतभन्दा बढी मुद्दा फैसला गरेको देखिन्छ ।

सर्वोच्च अदालतले तल्ला तहबाट पुनरावेदनका क्रममा आएका मुद्दादेखि असाधारण अधिकारक्षेत्र अनुसार परेका रिट निवेदनहरुको सुनुवाई गर्छ । त्यसबाहेक दोहोर्‍याउने वा पुनरावेदनको अनुमति, एकल इजलासले टुंग्याउने निवेदन र अरु फुटकर निवेदनहरूमा समेत न्यायाधीशहरूले न्यायनिरुपण गर्छन् ।

न्यायाधीशहरूले वर्षभरि अदालतमा काम गरेको दिन र उनीहरूले गरेको फैसलाको कुल संख्यालाई हिसाब गरेर प्रतिदिन फैसला गरेको मुद्दाको अनुपात निकालिन्छ । त्यो आधारमा हेर्दा वर्तमान र निवर्तमान प्रधानन्यायाधीशहरु सबैभन्दा कम अनुपातमा मुद्दा फैसला गर्ने न्यायाधीशमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?