Comments Add Comment

एक वर्षमा झण्डै सात लाख डोज पशु वीर्य संकलन, यसरी गराइन्छ कृत्रिम गर्भाधान

२२ साउन, काठमाडौं । सरकारले नश्ल सुधारका लागि गत आर्थिक वर्षमा झण्डै सात लाख डोज पशु वीर्य संकलन गरेको छ । बोका, राँगो र साँढेबाट कृत्रिम गर्भाधानमार्फत यति वीर्य संकलन गरिएको हो ।

धेरै दूध दिने गाई-भैंसी तथा उन्नत जातका खसी-बोका उत्पादन गरेर किसानको आयस्तर बढाउनका लागि पशुसेवा विभागले यसरी वीर्य संकलन गर्ने गर्छ । विभागको तथ्यांकअनुसार आव ०७५/७६ मा ६ लाख २२ हजार ६१९ वटा गर्भाधान गराइएको थियो ।

कृतिम गर्भाधानका लागि मन्त्रालय माताहतको पशुसेवा विभागले २ लाख ६६ हजार ८ लिटर तरल नाइट्रोजन तथा ६ लाख ६५ हजार ८१५ डोज राँगो, साँढे र बोकाको वीर्य संकलन गरिएको विभागका वरिष्ठ पशु अधिकृत डा. चन्द्र ढकालले जानकारी दिए । यस्तै यस वर्षमा एक सय उच्च प्रजनन् क्षमताका गाईको भ्रुण पनि खरिद गरिएको छ ।

विभागका अनुसार आगामी पाँच वर्षमा हालको वीर्य संकलनलाई तीन गुणा बढाएर २० लाख डोज पुर्‍याउने गरी कामहरु अगाडि बढेका छन् ।

गाई, भैंसी वा बाख्रामा दूध दिने गुण तिनीहरुको आमाबाट सर्ने आमधारणा भए त्यो गलत भएको विभागका विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार कस्तो जात र गुणको बोका, राँगा वा साँढे मार्फत गर्भाधान गराइएको छ, त्यसकै आधारमा गाई-भैंसीले दूध दिने र बाख्राले उन्नत जातको पाठापाठी जन्माउने विज्ञानले प्रमाणित गरेको छ ।

‘गाई, भैंसी र बाख्राको दूध दिने गुण तिनीहरुलाई गर्भाधान गराउने साँढे, राँगा वा बोकाबाट क्यारी हुने वैज्ञानिक अध्ययनले देखाएको छ,’ एक विज्ञले भने ।

कसरी संकलन गरिन्छ वीर्य ?

पशुसेवा विभागले लामो समय दूध दिएका गाई-भैंसीको ‘पार्टनर’लाई छनोट गरी विभागको पशु प्रजनन केन्द्र पोखरा र लाहानमा ल्याएर हुर्काइएको छ । त्यस्ता राँगा, साँढे र बोकाको नियमित स्वास्थ्य परीक्षण गरिन्छ । उनीहरुलाई पौष्टिक आहारका साथै नियमित व्यायाम पनि गराइन्छ ।

केन्द्रमा रहेका यस्ता राँगा, साँढे तथा बोकाहरु पूर्णरूपले स्वस्थ छन् भन्ने यकिन भएपछि वैज्ञानिक विधिअनुसार तयार गरिएको कृत्रिम पशु यौनीमा सम्पर्क गराइ वीर्यलाई सुरक्षित रूपले जम्मा गरिन्छ ।

पोखरा र लाहानका केन्द्रमा कृतिम भैंसी, गाई तथा बाख्राहरु बनाइएको छ । यिनै कृत्रिम पशुहरुमा राँगा, साँढे तथा बोकालाई यौनसम्पर्क गराइ वीर्य स्खलन गराइन्छ । यसरी संकलन भएको वीर्यलाई केन्द्रमा रहेको विश्वस्तरीय ल्याबमा सीईएफए (काफा) प्रविधिद्वारा सुरक्षित गरिन्छ ।

यस्तो वीर्यको प्यारामिटर, इकाई निर्धारण तथा विस्तार गर्ने काम गरेर माइनस १९६ डिग्रीको तापक्रममा फ्रिजिङ गरिन्छ । यसरी उत्पादन गरिएको वीर्यलाई कृतिम गर्भाधान गरिने देशभरको केन्द्रहरुमा विधिसम्मत तापक्रममै राखेर पठाइन्छ । यसरी पठाइएको वीर्यलाई गर्भाधान केन्द्रका प्राविधिकमार्फत निश्चित तापक्रमको तातोपानीमा राखेर प्रयोगमा ल्याइन्छ । लहान, पोखरा र नेपालगञ्ज गरी तीन ठाउँमा विभागअन्र्तगतका यस्ता केन्द्रहरु छन् ।

नेपालगञ्जमा ल्याब स्तरोन्नतिको काम हुँदैछ भने लाहानमा वीर्य उत्पदान भइरहेको भए पनि हाल मेसिन बिगि्रएका कारण मर्मत चलिरहेको छ । राँगा, बोका र साँढे गरेर अहिले ४० हाराहारीको संख्यामा पशुहरु पोखरामा पालिएका छन् । खासगरी निश्चित अवधिपछि यिनीहरु बूढो हुने भएकाले ल्याउने तथा भएकालाई निकाल्ने काम भइरहेको छ ।

विदेशमा यस्तो प्रविधिमार्फत २ सय वर्षदेखिको उन्नत जात खोजेर त्यसको वीर्यमार्फत गर्भाधान गराएर उत्पादन भएका पशुहरु राखिएको हुन्छ । त्यस्ता उन्नत जातका साँढे, राँगो तथा बोकालाई नेपाल भित्र्याएर नेपालको पशु तथा दुग्ध उत्पादन बढाउन विभागले मन्त्रालयमार्फत जीटूजी मोडलमा खरिद प्रक्रिया अघि बढाएको छ ।

नेपालमा पनि प्रतिदिन ८ लिटरसम्म दूध दिने गाई भेटिएको छ । यस्ता गाईलाई गर्भाधान गराइएको साँढे तथा गाईबाट जन्मिएको बाछो खोजेर केन्द्रमा वीर्य संकलनका लागि ल्याइएको वरिष्ठ पशु अधिकृत डा. चन्द्र ढकालले बताए । खासगरी पशु गर्भाधानमा आधिआधी गुण आमा र बाबुबाट आउने भए पनि दूध दिने गुणको चरित्र चै आमाभन्दा बाबुको धेरै आउने उनको भनाइ छ । हाल देशको ६६ जिल्लामा कृत्रिम गर्भाधान सेवा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment