Comments Add Comment

लक्ष्मी हत्या प्रकरण : ग्राहकको अभिलेख नराख्ने होटल सञ्चालक पक्राउ

२२ साउन, पोखरा । नियम विपरीत होटल व्यवसाय गर्ने एक जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखरा ८ पृथ्वीचोकमा रहेको होटल कोशी एन्ड ऋतिक रेस्टुरेन्टकी सञ्चालिका ममतादेवी महतोलाई प्रहरीले ग्राहकको विवरण नराखेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कास्कीका प्रवक्ता राजकुमार केसीकाअनुसार महतोलाई होटल व्यवसाय तथा मदिरा विक्री वितरण (नियन्त्रण) ऐन, २०३३ को दफा ५ को उपदफा १(क) विपरीत कसुरमा पक्राउ गरिएको हो । ‘उनलाई थप कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय, पोखरा पठाइएको छ,’ उनले भने ।

१ असारमा पोखरा रामबजार बस्ने लक्ष्मी परियार एकाएक हराएकी थिइन् । उनी हराएको २५ औं दिनमा पोखरा २२ कर्कले जंगलमा सडेको अवस्थामा लाश फेला परेको थियो । प्रहरीले श्रीमान रमेश नेपालीकै मिलेमतोमा लक्ष्मीको हत्या गरिएको आरोपमा उनीसहित ४ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा अनु परियार, चिररञ्जन कुमार शाह र सञ्जय शर्मा छन् ।

साली नाता पर्ने अनु परियारसँगको प्रेम सम्बन्ध र श्रीमतीको बिमा रकम हुत्याउने अभिप्रायले रमेशले लक्ष्मीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यसका लागि १० लाख रुपैयाँ दिने गरी ३ जना भारतीय नागरिलाई लक्ष्मीलाई मार्न ‘सुपारी’ दिइएको थियो ।

ती भारतीय नागरिक महतो सञ्चालन गर्दै आएको होटल कोशी एन्ड ऋतिक रेस्टुरेन्टमा जेठ ३० गते बास बसेका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा हत्याका आरोपी उक्त होटलमा बास बसेको पत्ता लगाएपनि ग्राहकको अभिलेख नराख्दा उम्किन सफल भएका थिए । हालसम्म ३ जना भारतीय नागरिक फरार छन् ।

घटनामा नियमविपरीत भाडामा प्रयोग गरिएको रातो नम्बर प्लेटका २ वटा सवारी साधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment